20201111

कविता : बिचरा चम्चा !

 चम्चा,

उ प्रयोग हुन्छ 

मिठा मिठा परिकारहरू  

चाख्न, 

खान 

मन नपरे

किनारा लगाउन 

फाल्न

चम्चा धेरै प्रयोग हुन्छ 

घरका भान्छामा

रेस्टुरेन्टमा 

पिकनिकमा 

अझ भनौँ 

खाने ठाउँ 

जहाँ पनि    

जहिले पनि 

तर, 

उसलाई के थाहा ?

कुन खाने कुराको स्वाद, 

कस्तो हुन्छ भनेर !

उ त सधैँ अर्काका लागि, 

खानाका लागि प्रयोग हुन्छ 

खानेले प्रयोग गर्छ

प्रयोग पनि कति कति, 

अनि जुठेल्नुमा फ्याँकिन्छ उ 

फेरी प्रयोग गर्न, 

माझिन्छ उ 

कयौँ पटक !

केबल प्रयोग गर्नका लागि मात्रै 

बिचरा चम्चा, 

उसलाई के थाहा स्वादको ?

के स्वाद परिकारको ?

प्रयोग गर्नकै लागि 

धोइन्छ उ 

पखालिन्छ उ 

सधैँ सधैँ 

नभाँचिँदा सम्म 

काममा आउँदा सम्म 

तर काममा आउन छोडेकै दिन 

उ फालिन्छ फोहोर फाल्ने डुङ्गुर तिर 

सधैँ सधैँका लागि 

बिचरा चम्चा ! 

उ बनेकै अर्कालाई ख्वाउन 

अर्कालाई चखाउन

अर्कालाई अघाउन 

तर उसलाई के थाहा ?

स्वादको, 

परिकारको 

बिचरा चम्चा ! 

उसलाई देखेर मलाई दया लाग्छ

नलागोस् पनि कसरी ! 

सबै कुरा खान प्रयोग हुने उ

सबैले प्रयोग गर्ने उ  

आफू भने कहिल्यै न खान जानेको छ 

न स्वाद थाहा पाउन !

तै पनि चम्चालाई लाग्दो हो 

म बिना के चल्छ र ?

म बिना कसलाई चल्छ र ?

भ्रम पालेर बाँच्छ उ 

भान्छाहरुमा सधैं नाच्छ उ

काम आउन्जेल 

खाना खाउन्जेल   

बिचरा चम्चा !!

- रामप्रसाद खनाल, कार्तिक २६, २०७७


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक