20201116

हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ !

लमजुङ । हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ पर्न थालेको छ । माथिल्लो क्षेत्रमा सोमबार दिउँसोबाट हिउँ परेको स्थानीयले बताएका छन् । दिउँसोदेखि निरन्तर हिउँ परेपछि मनाङमा चिसो बढेको छ । मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार सोमबार दिउँसोबाट हिउँ परिरहेको छ । मनाङको माथिल्लो क्षेत्रमा बढी र तल्लो क्षेत्रमा केही मात्रामा

हिउँ परेको उहाँले बताउनुभयो । मनाङमा पहिलो पटक ठूलो मात्रामा हिउँ परेको र चिसो बढ्न थालेको बताउनुभयो । ‘गाउँघरमा बस्तीमै हिउँ परेको छ । डाँडाकाँडा हिउँले ढाकिएको छ । चिसो बढ्दैछ’ उहाँले भन्नुभयो, ‘चिसोले जनजीवन प्रभावित हुन थालेको छ ।’
मनाङको माथिल्लो क्षेत्रमा बढी मात्रामा हिउँ परेको स्थानीयले बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका, नार्पाभूमि गाउँपालिकाका गाउँबस्तीमा भने धेरै मात्रामा हिउँ परेको छ । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार सोमबार दिउँसोबाट परेको हिउँले जनजीवन प्रभावित हुन थालेको छ । चिसो बढ्न थालेको छ । मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने हुम्डे, मनाङ, ङावल, घ्यारुलगायतका ठाउँमा हिउँ परेको उहाँले बताउनुभयो । स्थानीयका अनुसार माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीका अनुसार सोमबारबाट मनाङमा हिउँ परिरहेको छ । दुई हजार ८०० मिटरदेखि माथिका क्षेत्रमा हिउँ परिरहेको हो । उहाँका अनुसार माथिल्लो क्षेत्रका केही बस्तीमा करिव दुई फिटसम्म हिउँ जमेको छ । हिउँ पर्न थालेपछि चिसो बढेको र मनाङको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म  छ ।
गिरीका अनुसार यसअघि मनाङमा कात्तिक १७÷१८ गतेतिर तीन हजार मिटरको उचाईसम्म केही मात्रामा हिउँ परेको थियो । अहिले हिउँ तलसम्म पर्न थालेको हो । गतबर्षभन्दा यसबर्ष छिट्टै हिउँ परेको उहाँले बताउनुभयो । गतबर्ष भने मंसिर २७ गतेबाट हिउँ पर्न थालेको थियो । उहाँले भन्नुभयो–‘चामेको नजिकनजिक हिउँ पर्न थालेको छ । हिउँ माथिबाट तलतल पर्दै आएको छ । चिसो बढेको छ । अहिले बादल लागेको छ । बादलको माथि हिउँ छ । रातिको समय के हुन्छ हेर्न बाँकी छ ।’

बेलिना थापा / गोप 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक