20210106

प्रचण्ड र बाबुरामका जल्लादहरुले मेरो पिताजीलाई मारेर यसरी लुटे हाम्रो खुशी !

 - बिजय राज बिष्ट  भरतपुर

              पुस २२ अर्थात् म लगायत हाम्रो परिवारको खुसी लुटिएको दिन। म यो दिन न सम्झन सक्छु, न बिर्सन नै । माओको खोल भिरेर हत्या हिंसालाई राजनीति भन्नेहरुको जत्थाको निसानामा परि २०५८ साल आजकै दिन पुजनीय बुबा भैरवराज विस्टको देहवसान भएको थियो ।

भिन्न राजनीतिक आस्था राखेको आधारमा व्यक्ति हत्या गर्नेहरुलाई राजनीति भन्ने जमात भेट्छु अनि लाग्छ देशमा अनेक वादीहरु भए मानवतावादी कोही भएनन् र भेटिएनन् पनि। यहाँ हत्या हिंसालाई आफू अनुकूल मात्र व्याख्या गरेको देखियो। आफू अनुकुल परे तालमेल या एकीकरण गर्ने, अनुकूल नपरे हत्यारा देख्ने प्रवृत्तिले तत्कालीन माओवादीको खोल भिरेर घटाइएका हजारौं अपराधमा मुछिएकाहरुले खेल्ने अवसर प्राप्त गरिरहेका छ्न्। जबसम्म ती तमाम अपराधीहरुको राज चल्छ तबसम्म देश स्थिरतातर्फ जाला भन्ने मलाई लाग्दैन। किनकि देश स्थिरतातिर गयो भने, नियम कानुनले चल्यो भने आफ्नो पूर्वअपराधबाट छुटकारा मिल्दैन भन्ने उनीहरुलाई प्रष्ट थाहा छ। सोही कारण नै उनीहरु कहिले तालमेलको नाममा त कहिले एकीकरणको नाममा पार्टीहरुलाई अस्थिर बनाउने, कमजोर बनाउने खेल खेल्ने गर्छन्।

विशेषतः मेरो बुबा नेपाली कांग्रेसमा लागेर राजनीति गर्ने र प्रजातान्त्रिक विचारधाराको आस्था छोड्न नमान्दा नै मारिनु भएको भन्ने मलाई लाग्छ। तर उक्त दलको पनि नेतृत्व आफ्ना नेता-कार्यकर्तालाई न्याय प्रदान गर्न कहिल्यै लागेन। लाग्यो त मात्र कुर्सी र आफ्नो भाग माग्न, स्वार्थको राजनीति गर्न। पछिल्लो दुई दशकमा कांग्रेस समग्र पीडितको अभिभावक बन्न सक्नुपर्थ्यो तर त्यस्तो कहिल्यै देखिएन। सिर्फ निर्वाचनको बेला भाषणबाजी गर्ने, दोसल्ला ओढ्ने, ओढाउने र सम्मान लिनेभन्दा न्याय दिलाउन कुनै प्रयत्न नै गरिएन। त्यसैले कांग्रेसप्रति म जस्ता हजारौं पीडितहरुकाे गुनासो सधैं रहि नै रह्यो।

लोकतान्त्रिक दलले विचार र निष्ठा मिल्ने दलसँग सहकार्य गर्ने हो। ठीक विपरीतसँग कुम जोड्न पुगेपछि कसरी मजबुत हुन्छ पार्टी, कसरी जनताको मनमा सधैं टिकिरहिन्छ ? हार नै होस् तर निष्ठाको हार प्यारो ठान्नु पर्ने थियो तर नेतृत्वले यो आवश्यक नै ठानेन ?

सर्वहार र भूइँ मान्छेको अधिकारका लागि लडेको भनिए पनि यसबीचमा तत्कालीन माओवादीदेखि नेकपासम्म आइपुग्दा ति सबै वर्ग र जनता जहाँको तहीं रहे। आफूलाई अनुकूल पर्दा सर्वोच्च अदालतदेखि नियम कानुनका कुरा गर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल आफू अनुकूल नहुँदा के अदालत र अन्तर्राष्ट्रिय नियम कानुनअनुसार अघि बढ्न तयार हुन्छन् त ? भिन्न राजनीतिक आस्था राखेको आधारमा व्यक्ति हत्या गर्न पाइन्छ भनेर नेपालको कुन संविधानको धारा, उपधारा या अन्तर्राष्ट्रिय नियम कानुनमा उल्लेख गरिएको छ त कमरेड ? होइन भने पीडा सबैको एकै होइन र?

कालगतिले बितेका आफ्ना छोराछोरीको तपाईंलाई जति याद आउँछ, तपाईंका नातिले जसरी बुबा खोज्छ्न्, छोराको अस्वभाविक मृत्युुले तपाईंकी श्रीमतीमा कस्तो प्रभाव परिरहेको छ? तपाईं आफैं पनि कतिपटक कुना च्याप्दै आँशु बगाइरहनु हुन्छ होला। के तपाईं र हामीजस्ता पीडितको पीडा एकै होइन र?

यसो भनिरहँदा लामो समयदेखि अस्वस्थ र पार्किन्सन्सको बिरामी रहनुभएकी तपाईंकी श्रीमती  सीता दाहाल जो अहिले उपचारका क्रममा हुनुहुन्छ, उहाँको स्वास्थ्य लाभको कामना गर्दछु। के तपाईंले यसैगरी हजारौं पीडितलाई कहिल्यै सान्त्वनाको शब्द खर्चिनु भएको छ? कति बेसहारा, अनाथ, विधवा र अपाङ्ग बने कहिल्यै हेक्का राख्नु भएको छ ? आफूलाई परे पीडा अन्यलाई परे युद्धमा यस्तै हुन्छ भन्न मिल्छ र ? तपाईंका छोराछोरीको मृत्युमा बगेको आँसुजस्तै अन्य परिवारले बगाउँदै गर्दा तपाईंलाई युद्धको नाममा विजय उत्सव मनाउनआत्मग्लानी हुँदैन कमरेड ? तपाईंले सशस्त्र संघर्ष गर्दा भिरेको खोल कहाँ पुग्यो, आज किन ‘सहयोद्धा कमरेड’ हरु छिन्न-भिन्न भए ?

तपाईंका परिवार र आसेपासेको जीवनस्तर त उकासियो, अनि अरुको ? राजनीतिक लाभ र परिवर्तन भयो भनेर पीडितलाई कहिलेसम्म नजरअन्दाज गरिरहनु हुन्छ ? अन्तिममा यत्ति भन्छु, पीडा भोग्ने/नभोग्ने जोकोहीले पनि अरुको स्थानमा रहेर सोच्नुपर्छ कमरेड !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक