20210116

प्रचण्ड र माधव मिलेर आफु माथि शब्दबाणहरु बर्षाइरहेका बेला प्रधानमन्त्री ओलीको अर्को सम्बोधन, कांग्रेसले पनि गर्‍यो देशभरका ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन

  प्रचण्ड र माधव मिलेर आफु माथि शब्दबाणहरु बर्षाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट गर्नुभयो ।

आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उहाँले आफूहरुले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मैले हँसाएँ भनेर किन पीर ? नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर ? रुवाउन खोजेका थियौँ । सक्दैनौँ । दिइने छैन ।”

प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाउँदै उहाँले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताउनुभयो ।

उहाँले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको ? भनी प्रश्न गर्नुभयो ।

अध्यक्ष ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले शुक्रबार मात्रै सार्वजनिक गरेको ‘नागरिक एप्स’ले आधुनिक नेपाललाई अगाडि बढाउने र सुशासन वृद्धितर्फ यसले काम गर्ने जनाउनुभयो ।

कार्यक्रममा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले ओली नेतृत्वको नेकपाले नै आधिकारिकता र सूर्य चिन्ह पाउने भएकाले ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

यसै बिच नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभरका ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटन र भ्रष्टाचारविरुद्ध देशव्यापी प्रदर्शन सम्पन्न भएको नेपाली कांग्रेसले जनाएको छ ।

आज नेपाली कांग्रेस भरतपुर महानगर समितिले चितवनमा आयोजना गरेको विरोधसभा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्रै निर्वाचनमा जानु पर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा विघटन सम्बन्धी विचाराधिन मुद्दामा आफूहरुले अदालतलाई दवाव नदिएको बताउनुहुँदै अदालतलाई संविधान हेरिदिनुस् भनेर अपिल मात्र गरेको बताउनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा आयोजित विरोधसभामा ७० वर्षको संघर्षपछि बनेको संविधानको रक्षा गर्न कांग्रेस दृढ भएर उभिनुपर्ने बताउनुभयो ।

यसैगरी, काठमाडौंको बसन्तपुरमा आयोजित विरोधसभामा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिलाई सही मार्गमा हिडाउन सकिए मात्र स्थिरता र विकास सम्भव हुने भन्दै राजनीतिलाई स्थिरताको बाटोमा हिडाउन नेपाली कांग्रेस निरन्तर लागि रहने बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्नुहुँदै आजको विरोध प्रदर्शन उत्साहपूर्ण सहभागिता रहेकोमा सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक