20210128

यहाँ भन्दा हामी कति हुने हो र स्खलन ????

 श्रीमान् श्रीमतीको तु तु, मे मे भयो, 

दुवै आउंछन फेसबुकमा !

श्रीमती गर्भवती भए पेट मुसार्दै, घुँडा टेक्दै, 

श्रीमान् आउंछन फेसबुकमा !

यसो घाम लाग्यो, पानी पर्‍यो, फेसबुकमा ! 

बादल देखिए मौसमले च्यालेन्ज गर्‍यो भन्दै, 

बोतल र गिलास सहित आउंछन, फेसबुकमा !

रिस उठे फेसबुकमा, खुसी भए फेसबुकमा 

जन्मदिन, एनिभर्सरी, बेबी सावर सबै फेसबुकमा 

विवाह, बर्तबन्ध, मृत्यु, नियुक्ति, सरुवा, बढुवा,

दल र नेताले कुनै पद झुन्ड्याइदिन्छन्, फेसबुकमा !

सिन्की पाके फेसबुकमा, मासु पाके फेसबुकमा

सेल रोटी मात्र होइन जे पाके पनि फेसबुकमा !

फर्सी, घिरौँला, केही बतिलो लाग्नै हुन्न, फेसबुकमा 

देखाउने नदेखाउने सबै सबै फेसबुकमा !    

अब देखाउन बाँकी के होला र खोइ फेसबुकमा !

फेसबुकमा सबै थियो थियो, आयो टिकटक पनि 

रमिता र नौटङ्की देखाइने रहेछ यहाँ  !

मुख छोडाछोड र भेटे गोँदा गोँद हुने रहेछ यहाँ ! 

युट्युब, ट्विटर, इन्स्टाग्राम के के हुन के के !

आजकल हामी बेरोजगार होइन रोजगार प्राप्त छौँ 

रात दिन, खाँदा, बस्दा, सुत्दा, उठ्दा, 

दिशा गर्न जाँदा, पिसाब फेर्न जाँदा,

खाना खाँदा, हिड्दै कतै जाँदा  !

रोजगारै रोजगार, कोही छैन बेरोजगार !

विदेशमा रगत पोख्छन्, पसिना बगाउँछन,  

मरेर काम गर्छन्, आधा पेट खान्छन् आफन्तहरु 

तर पठाउँछन रेमिट्यान्स सधैं !    

घर बस्ने, र फोन हेर्न व्यस्त रोजगारीहरू, 

त्यही खान्छन् मज्जाले पचाउँछन् !

बसेर फोन, उठेर फोन, सुतेर फोन,

सोफामा ढल्केर फोन, 

उप्परखुट्टी लगाएर फोन

खुट्टा पसारेर फोन

भित्तोमा ढाड धसारेर फोन !   

फोन मात्र हो र चाहिन्छ आइफोन ! 

किन कि स्टाइल झार्नु छ

यो त क्याकन रहेछ भन्ने पार्नु छ

दारी देखाउनु छ नयाँ 

सारी देखाउनुछ नयाँ  

देखाउने छ होड, भोलि के हुन्छ छोड !  

श्रीमान् एउटा कुनामा फोन, 

श्रीमती अर्का कुनामा फोन 

छोराछोरी सबै घोप्टी, फोनका फोन !      

हरायो परिवारको महत्त्व 

हरायो आफन्त, साथीभाइको महत्त्व 

वर्षौँ पछि भेट हुँदा छैन कसैलाई कसैको महत्त्व  !

यस्तै छ हजुर यहाँको चलन !

एकै छिन फोन हेर्न नपाए हुन्छ मनमा जलन !

यहाँ भन्दा हामी कति हुने हो र स्खलन ???? 

- रामप्रसाद खनाल, माघ १६, २०७७


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक