20210219

संवैधानिक इजलासले मङ्गलवार वा त्यसपछि जुनसुकै बेला प्रतिनिधिसभा विघटनविरुद्धको सो मुद्दामा फैसला गर्न सक्ने !

 
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा जारी बहस आज सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा आज एमिकस क्युरीको बहस सकिएसँगै सो मुद्दामाथिको बहस सकिएको हो । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको अन्तिम बहस गर्दै आज एमिकस क्युरीमा चयन वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिनुभएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र समसेर जवरा नेतृत्वको संवैधानिक इजलासले बहसमा सहभागी कानुन व्यवसायीहरूलाई सोमबारसम्म बहस नोट उपलब्ध समय तोकेको छ । इजलासले यो मुद्दालाई मङ्गलवारका लागि हेर्दाहेर्दैमा राखेको छ ।

संवैधानिक इजलासले मङ्गलवार वा त्यसपछि जुनसुकै बेला प्रतिनिधिसभा विघटनविरुद्धको सो मुद्दामा फैसला गर्न सक्नेछ ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा माघ ४ गतेदेखि सुनुवाइ सुरु भएको थियो । सुरुका १३ दिन रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस गर्नुभएको थियो भने त्यसको जवाफमा प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता, सरकारी वकिल र निजी कानुन व्यवसायीहरूले ९ दिनसम्म बहस गर्नुभएको थियो ।

पक्ष र विपक्षका कानुन व्यवसायीको बहसपछि चार दिनसम्म एमिकस क्युरीमा चयन ५ जना वरिष्ठ अधिवक्ताले राय दिनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । सो विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।

रिट निवेदकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको माग गर्नुभएको भने प्रधानमन्त्री पक्षले भने संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विघटनको अधिकार भएकाले रिट निवेदन खारेज हुनुपर्ने बताउँदै आउनु भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक