20210313

हिन्दुदेखि बौद्ध, क्रिस्चियन धर्मावलम्बी युवावर्ग बेलुका पशुपतिमा, गंगा आरतिमा युवापुस्ता मनमग्न !

 पशुपति प्राङ्गणमा हरेक साँझ हुने गंगा आरतिमा युवापुस्ता मनमग्न हुने देखि ध्यान (मेडिटेसन) गर्नेहरुको भिड लाग्ने गरेका छन् । पीडा, समस्या भुल्न तथा मनमा आनन्दको लागि धेरै हिन्दुदेखि बौद्ध, क्रिस्चियन धर्मावलम्बी युवावर्ग बेलुका पशुपति वागमती किनारामा पुग्ने गरेका छन् । दुःखी सुख र सुखी अझ सुख खोज्न आउने ठाउँ हो पशुपति नाथको मन्दिर २२ वर्षीय अनुप नेपालीले भन्नुभयो, हप्ताको एक पटक भए पनि मनमा शान्तिको लािग सन्ध्या आरतिमा आउँछु । यहाँ आउँदा सानो ठुलो जातको कुरा हुदैन् जति पनि मनमा पिडा लुगेको छ आरतीको सुमधुर धुन सँगै गरिने मेडिटेसनले सबै हराउँछ ।

अझ शिव ताण्डव स्तोत्र सुन्दा फरक मान्छे हुने धारणा ब्यक्त गर्दे नेपालीले महादेव स्वयं आई अन्तरआत्मामा बास गरेजस्तो हुन्छ, नाचौँ–नाचौँ, उफ्रौँ उफ्रौँ हुने बताउनुभयो । यस्तै, शिव तान्डवमा नाचेर मग्न हुनुभएको तेस्रोलिङ्गी अनिता गुरुङले भन्नुभयो, पशुपति मन्दिरमा हुने बागमती गंगा सन्ध्या आरतिमा आउन पाउँदा ‘एकछिन भए पनि म ‘म’ हुन पाउँछु । भित्री आत्माबाट नै छुट्टै ऊर्जा निस्केको महसुस हुन्छ,’ उहाँले थप्नुभयो, आरतिमा गएर भजन सुनेपछि समग्रमा अन्तरआत्मा र अन्तर्मनमा शान्तिको अनुभव हुन्छ । मनलाई शान्ति आनन्द गर्न यहाँ आउने गर्छ गुरुङले जीवनले कहिलेकाहीँ वाक्क लगाउँदा यता आउँछु । २८ बर्षिय उहाँ बैचेनी र छटपटाहटले घेरिरहेका बेला मनमा शान्ति र सन्तोषजनक जिउने केही प्रेरणा मिलोस् भनेर आउने र नाँच्ने गरेको जानकारी दिनुयभो ।

सन्ध्या आरतीको आयोजना गदै आउनुभएको समाजसेवी सुर्वण बैद्यले मनमा शान्तिको लागि अहिले युवावर्गमा आरतीको मोह बढेको जानकारी दिनुभयो । भगवान् पशुपति नाथले लोकको कल्याण तथा सबैको खुसीको लािग आरती गरिरहेको उहाँले बताउनुभयो । अहिले धेरै मानिसहरु अशान्तिको रेखामुनी छन्, देशको राजनीति देखि रोजगारी, घरायसी समस्याको कारण केहि छिन् शान्तिको लागि भए पनि आउने गरेको बैद्यको अनुभव छ । यता चिकित्सक डा.अरुणा श्रेष्ठ भन्नुहुन्छ, ‘पशुपतिको आरतीले मलाई योग विज्ञानको पनि अनुभूति दिलाउँछ, जुन बुझ्नुभन्दा बढी महसुस र अनुभव गर्ने कुरा हो,’ । महिनामा दुई पटक भएपनि आरतीमा सहभागी हुने जानकारी दिदै हिन्दू धर्मशास्त्रमा शिवलाई शक्तिशाली भगवान्का रुपमा चित्रित गरिएको र पशुपतिले जन्म–मृत्यु र त्यसभन्दा परको जीवनलाई पनि देखाएको डा.श्रेष्ठले बताउनुभयो ।

धर्मप्रति खासै रुचि नभएका साथीहरूको लहलहैमा पशुपति पुग्नुभएको उहाँले यहाँ आएपछि मनलाई शान्ति पाउनुको साथै काम गर्ने जोस जागर बढेको अनुभव ब्यक्त गर्नुभयो ।

आफुलाई कोरानो सङ्क्रमण भएर आइसोलेसनमा बस्दा पनि शिवको भजन र ताण्डवले उर्जा प्राप्त भएको धारण डा.श्रेष्ठको छ । भजनका शब्द र संगीतमा यसरी डुब्दै गए कि आफ्ना समस्या, पीडाहरू कहाँ–कहाँ विलीन भएजस्तो लाग्यो उहाँले भन्नुभयो, मूर्तिबाट भन्दा पनि संगीतको माध्यमबाट भगवान् नजिक चाँडै पुग्न सकिँदो रहेछ भन्ने बुझ्न धेरै समय लागेन ।

करिब एक घन्टा पशुपतिनाथ मन्दिर पछाडि विशेष चहलपहल हुन्छ । पशुपति आसपासका मात्र नभई उपत्यकाका अन्य विभिन्न ठाउँका मानिस पनि साँझमा पशुपति पुगेर भजन र आरतिमा मुग्ध हुन्छन् । वागमती नदीको पूर्वतर्फ दैनिक हुने यो भक्ति सत्संगमा दिनमै सयौँ भक्तजन सामेल हुन्छन् । योगगुरु सागरमान श्रेष्ठ भन्नुहुन्छ, योग सँगै सङ्गीत पनि आवश्यक पर्छ सङ्गीतले मस्तिष्कमा केन्द्रीत हुन मदत गर्छ भने योगले ज्ञानन्द्रेयीलाई चलाएमान बनाउँछ । धार्मिक विश्वास अनुसार भगवान शिवद्वारा अनुसरण गरिएको पद्धति योग शब्दको सामान्य अर्थ सम्बन्ध वा जोड हो उहाँले थप्नुभयो, विविध आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो । त्यसैले शिवको भजनमा ध्यान गर्न सजिलो हुनुको साथै मनमा शान्ति पनि आउँछ । -यलु जाेशी, गोप ।  

   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक