20210306

सवाल खडे सरको नैतिकताको चाहिँ हो

 - सन्तोष चिमरिया 

त्यो बेला नैतिक शिक्षा भन्ने एउटा पातलो  पातलो किताब प्राथमिक कक्षाहरूमा पढाई हुन्थ्यो । हाम्रो नैतिक शिक्षा पढाउने गुरुको नाम चाहिँ खडे सर थियो । पूरा नाम - खडानन्द खनाल  भएपनि, नैतिक शिक्षाका, नैतिक गुरु खडे सर का नामले प्रसिद्ध थिए । तर, खडे सरका नामले प्रसिद्ध भएपनि, नैतिक शिक्षाका गुरु ,कहिल्यै पनि राम्रोसँग खडा हुन भने सक्दैनथे । एकाबिहानै चियाको ठाउँमा, स्वाट्टसँग सिया हानेर हल्लिन सुरु गरिहाल्थे । अनि एघार बजेतिर, राता राता आँखा , ठुस्स गनाएको मुख र  खडा हुन संघर्ष गरिरहेका दुई खुट्टा लिएर, नैतिक शिक्षा पढाउन , खडे सर कक्षामा आउँथे। अनि काँपीरहेका हातले दस मिनेट लगाएर कालोपाटीमा " नैतिक शिक्षा"  लेख्थे ।

यति लेखिसकेर मडुवा खैनी निकाल्दै र चुना मिसाउँदै लर्बरिएको स्वरमा आदेश जारी गर्थे  । 

" सन्ते ! आजको पाठको शीर्षक ठूलो स्वरमा सबैले सुन्ने गरी वाचन गर ।" 

म जुरुक्क उठ्थे र ठूलो स्वरमा शीर्षक पढ्थे  - " धूम्रपान/ मद्दपान र सुर्ती सेवनका असरहरु " 

बिहानै जाँडले टिल्ल परेका खडे सर , शिर्षक सुनेर  एउटा झुसिलो डकार डाकार्थे  र  खैनीको घान हालेर पिचिक्क भुँइमा थुक्थे । अनि पढाउन सुरु गर्थे । 

     "  जाँडरक्सी र खैनी चुरोट सेवन गर्नु हुँदैन । यस्ता चिजको सेवनले मानिसको स्वास्थ्य र सामाजिक प्रतिष्ठा दुबैको क्षय हुन्छ । " 

 यती एक लाईन पढाइ सकेर ,खडे सर , फेरि एकपटक डकार्थे ।  अनि उनले सेवन गरेको जाँड, कक्षाकोठाको वातावरणमा एक पटक ठुस्ससंग गनाउथ्यो । तर खडे सर , आफ्नो उहि लर्बरिएको स्वरमा,  नैतिक शिक्षा जारी राख्थे । 

" समाजले जाँड खाने मान्छेलाई राम्रो भन्दैन । खैनी चुरोट खानेलाई असल मान्छे गन्दैन । जाँडरक्सी र खैनी चुरोटले अनावश्यक धनको व्यय हुन्छ र  स्वास्थ्यलाई पनि राम्रो गर्दैन । त्यसैले यस्ता अम्मलीहरुलाई अनेकौं रोग लाग्ने धेरै सम्भावनाहरु हुन्छन । 

      " कुरा बुझेउ ? "

        " बुझिम सर ।"

      "  तैंले बुझिस सन्ते ? " 

      "   बुझे सर । "

      "   के बुझिस ? "

  "  जाड रक्सी र चुरोट खैनी खान हुँदैन भन्ने बुझे सर ।" 

खडे सर जवाफ सुनेर फेरि एकपटक ढ्याउ गर्थे । एक घान थुकेर खैनीको अर्को घान हाल्थे । अनि पिचिक्क थुकेर भन्थे ,

         "  स्याबास ।" 

     खडे सरले यसरी नै एकदुई वर्ष अरु पढाए होलान् । 

 हामीले यसरी नै नाक थुनेर अरु एक दुई वर्ष पढेको सम्झना छ । त्यसपछि भने खडे सर, खडा हुन सकेनन् । एक साँझ स्कूल सकेर हिंडेका खडे सर,  नालीमा खडा नभएको अवस्थामा फेला परे । अनि उनको कथा सकियो । 

उनी बिस्तारै स्मृतिबाट हराएर गएछन । अनि मैले पनि उनलाई बिर्सी सकेको रहेछु । 

    तर हिजोआज नेपाली राजनीतिमा छ्यापछ्याप्ती खडे सरहरु खडा भएर, नैतिक शिक्षा पढाएको देख्दा, उनै नैतिक शिक्षा पढाउने खडे सर फेरि स्मृतिमा एकपटक ताजा भएर उदाए । म फेरि,उबेलाका खडे सरलाई मात ख्वाउने , गज्जब गज्जबका खडे सरबाट नैतिक शिक्षा लिन बिबश भए । 

रामकुमारी खडे सर । 

माकुने खडे सर । 

पुष्पकमल खडे सर ।

विना मगर खडे सर । र अरु तमाम खडे सरहरु चिच्याई चिच्याई मलाई नैतिक शिक्षा दिई रहेका छन । म उसैगरि चुपचाप उनिहरुबाट नैतिक शिक्षा लिइरहेको छु । अनि तिनका मुखबाट निस्केको दुर्गन्धले, वातावरण उस्तै गरि ठुस्स गनाएको छ । 

     तर आज मलाई बोल्न मन लागेको छ । चिच्याउन मन लागेको छ । 

खडे सर............ ! 

सवाल नैतिकताको होइन गुरु । समस्या नैतिकतासँग पनि हैन । सवाल खडे सरको नैतिकताको चाहिँ  हो । 

खडे सरले नैतिकता माथी दिने प्रवचनको हो । 

कुरो तपाईंको हो, खडे सर । समस्या , नैतिकतासंग होईन । 

समस्या तपाईंको गनाउने मुखले अपबित्र तुल्याएको नैतिकताको हो सर ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक