20210329

एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन, "सच्चिनका लागि यो अन्तिम मौका"

एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बित गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बित गरेको हो । ७ चैतको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेको लगायतका आरोपमा नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । त्यस अनुसार महासचिव ईश्वर पोखरेलले नेता नेपाल र रावललाई चैत ८ गते स्पष्टीकरण पत्र पठाउनु भएको थियो ।

चैत १२ गते  नेता नेपाल र रावलले विधानको उल्लङ्घन आफूहरूले नभई अध्यक्ष ओलीबाटै भएकाले तपाईँलाई किन कारबाही नगर्ने भनेर प्रतिप्रश्न गदै जवाफ पठाएका थिए । उहाँहरूको जवाफ चित्त नबुझेकाले र जवाफमा गल्ती स्वीकार गर्नुका साटो अंहकार र आत्मकेन्द्रित कुरा मात्र उल्लेख गरेको भन्दै निलम्बनको कारबाही गरेको उल्लेख गरिएको छ । एमालेको नाममा पार्टी विरोधी फाटोवादी र गुटगत क्रियाकलाप गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिन अग्रसर देखिएको भन्दै अध्यक्ष ओलीले पार्टी विधानको धारा ४९(ख) बमोजिम ६ महिनाका लागि निलम्बन गरेको बताउनु भएको छ ।

दुवैलाई पठाएको पत्रमा भनिएको छ, ‘तपाईँलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याई आएमा पार्टीले निलम्बन अवधिको बिचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बिचैमा थप कारबाही गर्न सकिने ब्यहोरासमेत जानकारी गराइन्छ,’ पत्रमा उल्लेख गरिएको छ ।



एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई पार्टी अध्यक्ष केपी ओलीले कारवाही गरेको विषयमा थप प्रतिक्रिया दिँदै आफू मैदान छाडेर नभाग्ने बताएका छन् । ‘स्वघोषित’ महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई आफूहरुमाथि कारवाही गर्ने कुनै अधिकार नभएको उनको भनाइ छ । नेपालले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भनेका छन्, ‘टुक्रा–टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो । यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन ।’ नेकपा (एमाले) को निर्माण आफूहरुले गरेको र नवौं महाधिवेशनमा पनि आफ्नो नीति पास भएको भन्दै नेता नेपालले निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्न अपिल गरेका छन् ।


नेपालको वक्तव्य यस्तो छः ‘सञ्चारमाध्यममा आएअनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधानविपरित एकपक्षीयरूपमा गरिएका फागुण २८ गतेका निर्णय अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु । नीति, विधि, नैतिकता, मुल्य–मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्तालाई कत्ति पनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु । टुक्रा–टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन, नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतः निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ।’





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक