20210425

नेपालमा कोरोना सङ्क्रमणका कारण आज एकै दिन २८ जनाको मृत्यु, भारतमा २० सहित विदेशमा रहेका २३ जना नेपालीको मृत्यु, सोमबारबाट सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसी को सिफारिस

 Breaking News 

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणका कारण आज एकै दिन २८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालकै दरमा संक्रमण वृद्धि भइरहेको हरेक दिन १ सय बढीको मृत्यु हुनसक्ने प्रक्षेपण गरिएको

जनाएको छ । मन्त्रालयको आजको प्रेस ब्रिफिङमा डा. बिराज कर्माचार्यले नेपालमा कोरोना सङ्क्रमणको दर हालकै अवस्थामा वृद्धि भइरहे ३ महिनापछि प्रतिदिन १ सय ४९ जना सङ्क्रमितको मृत्यु हुनसक्ने बताउनुभयो ।

डा. कर्माचार्यले संक्रमण दर न्यूनीकरण नभए भवायह अवस्था आउन सक्ने हुँदा नागरिक आफै स्वघोषित लकडाउनमा बस्न, सामाजिक दुरी कायम गर्न, शङ्का लागेमा समयमै जाँच गर्न सुझाव दिनुभयो । यस्तै, आज देशभर ३ हजार १ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज देशभर ९ हजार २ सय ९२ पिसीआर परिक्षण गर्दा ३ हजार ३२ र ७ सय ८६ एन्टीजेन परीक्षणबाट ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज काठमाडौँमा १ हजार १ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ गरी काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा हाल कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ३ लाख १ सय १९ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट आज ४ सय ५० जना निको भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट निको हुने दर ९२ दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच, स्वास्थ्य मन्त्रालयले विदेशी नागरिकको कोरोना सङ्क्रमणको परिक्षण नगर्न सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज पीसीआर परीक्षण सम्बन्धमा सूचना जारी गदै नेपाल ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्र गर्ने गरी आएका कुनै पनि विदेशी नागरिकको संक्रमण परीक्षण नगर्न निर्देशन गरेको हो । सूचना विपरीत कुनै पनि प्रयोगशाला वा व्यक्तिले परीक्षण गर्ने गराउने गरेको पाइए नियम अनुसार कारबाही गरिने समेत जारी सूचनामा उल्लेख छ ।


 हामीलाई प्राप्त एक अर्को समाचार अनुसार यो साताभित्र भारतमा २० सहित विदेशमा रहेका २३ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार भारतलगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा २ जना र कतारमा १ जना नेपालीको कोरोनाका कारण निधन भएको हो।

भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य समेत रहेका अल इन्डिया इन्टिच्यूट अफ मेडिकल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको मृत्यु भएको हो। मृत्यु हुनेमा अधिकांश ५० वर्ष भन्दा मुनिका रहेका छन्। योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३ सय ७२ जना नेपालीको मृत्यु भएको छ। हालसम्म मृत्यु भएकामध्ये दुई सय ४५ जना पश्चिम एसियाका रहेका छन्।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५ सय ६ जना पुगेको छ। कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात ६४ हजार ७ सय ४४ जना संक्रमणमुक्त भएका छन्। यो साता भारत, कुवेत, कतार, युएई, रोमनीया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्याण्ड रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ। गत सोमबार  वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाले महामारीका दौरान दुई सय पचास जना डाक्टर र नर्सहरु परिचालन गरिएको जानकारी दिए। उनका अनुसार, नेपाल बाहिर करिब पाँच हजार डाक्टर र १५ हजारको हाराहारीमा नर्सहरु रहेका छन्। ती सबै स्वास्थ्यकर्मीहरुलाई एनआरएनमा जोड्न प्रयास भइरहेको उनले बताए।

यसै बिच कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सम्पन्न भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले भोलि ( सोमबार ) बाट सबै परीक्षा स्थगित गर्न  सिफारिस गरेको जानकारी दिनुभयो । सिंहदरबारमा बसेको बैठकले पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढी रहेको बेला बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको थियो ।


मन्त्रिपरिषद्को सोमबारको बैठकले कोरोना सङ्क्रमणका कारण आगामी वैशाखभर मुख्य सहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो । विद्यालयले भौतिक कक्षा बन्द गरेपछि अब अहिले वैकल्पिक विधिबाट पठनपाठन भइरहेको छ । सरकारले अनलाइन माध्यम, अफलाइन माध्यम, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइ निरन्तरता दिनुलाई वैकल्पिक विधिको पठनपाठनका रूपमा परिभाषित गरिएको छ । विद्यालयले आफ्नो विद्यार्थी सङ्ख्या, विद्यार्थी तथा शिक्षकको प्रविधिमा पहुँचलगायतका आधारमा वैकल्पिक विधिको चयन गर्न सक्ने छन् । 

विद्यालयले जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि वैकल्पिक विधिबाट पठनपाठन गराउनुपर्ने जनाइएको छ । अनलाइनलाई मात्र वैकल्पिक विधि मान्न नहुने र अन्य विधिबाट पनि पठनपाठन गराउन सकिने मन्त्रालयको भनाई छ ।

भारतका यी ताजा तस्बिर हरू हेरौँ र पाठ सिकौँ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक