20210422

गुट उपगुट चलाउने अनुशासनहीन र अराजकतासँग समूहगतरुपमा कुनै संवाद र सम्झौता नगर्ने : ओली

 
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले पार्टीविरुद्ध गतिविधि गरिरहेका नेताहरूलाई सङ्केत गर्दै अहिलेसम्मको गल्ती महसुस गरेर पार्टीमा फर्किए काम गर्ने अवसर दिइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज बिहान  बल्खुस्थित मदननगरमा नेकपा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्नुहुँदै  प्रधानमन्त्री ओलीले  आफूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै हिँड्नेहरूलाई आफूहरूले कुनै कारबाही नगरेको र  पार्टीभित्र समानान्तर गतिविधि गर्नेहरूलाई  सम्झाइ बुझाइ गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको बताउनुभयो । सिङ्गो कम्यनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन व्यक्तिगत रुपमा नेताहरूसँग छलफल भइरहेको जानकारी दिनुहुँदै उहाँले पार्टीविरुद्ध गुट उपगुट चलाउने अनुशासनहीन र अराजकतासँग समूहगतरुपमा कुनै संवाद र सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री ओलीले  पार्टी कब्जा गर्ने र कम्युनिष्ट आन्दोलन  कमजोर बनाउँदै माटोमा मिलाउन खोज्नेहरू असफल भइसकेको  भन्नुहुँदै उहाँले देशको सामाजिक प्रबन्ध गर्दै मुलुकको नेतृत्व गर्न सक्ने पार्टी नेकपा एमाले नै रहेको बताउनुभयो । आफूले देश निर्माणको अभिभारा छोडेर मुलुकलाई अलपत्र नपार्ने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकलाई अगाडि बढाउन अब पनि नेकपा एमालेकै कुशल नेतृत्व रहने बताउनुभयो । प्रधानमन्त्री ओलीले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएका  माधव नेपाल –झलनाथ खनाल  समूहका नेताहरूसँग  छलफल गर्दै आउनुभएको छ । केही व्यक्तिको चरम महत्वाकाङ्क्षा, अरुले हासिल गरेको सफलताबारे सुन्न नचाहने सङ्कीर्ण आत्मकेन्द्रित स्वार्थका कारण हाम्रो पार्टीमाथि सङ्गठित र निकृष्टरुपमा हमला गरियो । मलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको घोषणा गरे”, अध्यक्ष ओलीले भन्नुभयो, “पार्टीलाई अनुचित हिसाबले कब्जा गर्ने क्रियाकलाप र ‘फ्लोर क्रस’जस्ता अराजक दृष्य यसअघि कहिल्यै देखिएको थिएन । पार्टीमा अब यस्तो चल्दैन । हामी सुदृढ र गतिशील सङ्गठन निर्माणको प्रक्रियामा अघि बढेका छौँ ।”

अध्यक्ष ओलीले कुनै गुटगत तवरमा पार्टीभित्र अनुशासनहीन र अराजक पक्षसँग पार्टीले सम्झौता नगर्ने स्पष्ट गर्दै गल्ती महसुस गरी अनुशासित भएर काम गर्न सबैलाई अवसर भएकाले सम्झाउने र सच्याउने कोशिशलाई कमजोरी नठान्न आग्रह गर्नुभयो । उहाँले न्याय, समता र समृद्धिको परिकल्पनासहित कम्युनिष्ट आन्दोलनका अगुवाले असाधारण दूरदर्शितासहित पार्टी स्थापना गरेकाले उक्त लक्ष्य आफूहरुले पूरा गर्नुपर्ने बताउनुभयो ।

विसं २०७२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त एमालेको केन्द्रीय कार्यालय पुनः निर्माण हुन लागेको हो । सो स्थानमा एमालेका १३ रोपनी जग्गा छ । पुनः निर्माणको लागत र अवधि सार्वजनिक गरिएको छैन । भूकम्पपछि एमालेको केन्द्रीय कार्यालय धूम्रबाराहीमा रहेकामा आजदेखि थापाथलीमा शुभारम्भ भएको छ । कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रवक्ता प्रदीपकुमार ज्ञवालीलगायत नेता सहभागी हुनुभएको थियो । - यशोदा अधिकारी/ रेडियो नेपाल 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक