20210528

यस्तो महामारीका बेला जनताको उपचार र खोपमा केन्द्रित हुनु पर्नेमा प्रधानमन्त्री ओलीको पुरानै रटाई, अर्थमन्त्रीको बकवास पनि उस्तै !

 


काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक प्रतिकूलताकाबीच पनि सरकारले आर्थिक रुपले उल्लेख्य प्रगति गरेको बताउनुभएको छ । राष्ट्रको नाममा शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । नेपाल अल्पविकसितबाट विकाशसील देशमा सिफारिस भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले समग्रमा सकारात्मक आर्थिक बाटोमा सरकार रहेको चर्चा गर्नुभयो । “श्रमशक्ति बाहिरिने आँकडा घटेको छ, विद्युत उत्पादन बढेको छ, बाह्य व्यापार शुरुभएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालीको प्रतिव्यक्ति आय २५ प्रतिशतले बृद्धि भएको छ, रणनीतिक पूर्वाधारको क्षेत्रमा इतिहासमै धेरै उपलब्धी भएको छ ।”

विगतका अपूरा आयोजनालाई सम्पन्न गर्न सरकारले प्राथमिकता दिएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालमा उत्पादित सामानको व्यापार पहुँच बढाउने कामको शुरुवात गरिएको बताउनुभयो । आवश्यक दक्ष जनशक्ति तयार गर्न आवश्यक तालिम र प्रशिक्षणको व्यवस्थाको पहल सरकारले गरिरहेको चर्चा गर्नुभयो । हजारौंको संख्यामा प्राविधिक तयार गर्ने काम सरकारले गरिरहेको बताउनुभयो । प्रतिनिधिसभालाई पूर्णकालीन र कामकाजी बनाउन आफू चाहेको भएपनि त्यस्तो परिस्थिति बन्न नदिइएको उहाँले बताउनुभयो । आफ्नो प्रस्तावलाई विपक्षी दलले असफल बताएको उहाँले चर्चा गर्नुभयो । “न सरकारलाई विश्वासको मत प्रदान गर्ने न विकल्प दिनसक्ने अवस्था सिर्जना गरियो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “राजनीतिक अन्यौल कायम गर्नु ठीक नहुने देखेर मैले संविधान बमोजिम कदम चालें ।”

बहुदलीय व्यवस्थाको धज्जी उडाउँदै प्रमुख प्रतिपक्षीदलसहित दलका नेताहरुले गतिविधि गरेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ उपधारा ५ अनुसार दावी नपुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति तोक्नुभएको उहाँले बताउनुभयो । बहुदलीय व्यवस्थाप्रति नै नैराश्यता ल्याउने खालको गतिविधि प्रतिपक्षीदलले गरेको चर्चा गर्नुहुँदै उहाँले उग्रबामपन्थी र उग्र दक्षिणपन्थी हमला गरिएको टिप्पणी गर्नुभयो । बहुदलीय प्रणालीमा निर्दलीय चरित्रलाई ख्याल ठट्टा मान्न नसकिने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा लागि सत्ता साधन मात्र हो, साध्य होइन ।” अवसरमा जनताको पहुँच, सामाजिक समानताको अनुभूति दिलाउने काममा सरकार लागिरहेको उहाँले चर्चा गर्नुभयो ।

आवधिक निर्वाचन मार्फत जनताको तर्फबाट जनादेश आउनु लोकतान्त्रिक प्रक्रिया हो भन्नुहुँदै प्रधानमन्त्री ओलीले निर्वाचनलाई अलोकतान्त्रिक कदम मान्न नसकिने बताउनुभयो । निर्वाचन निश्पक्ष र स्वतन्त्ररुपले सम्पन्न गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । राजनीतिक स्थायित्वको केन्द्रविन्दु जनताको हितको संरक्षण भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले त्यसकैलागि सरकारले काम गरिरहेको प्रष्ट पार्नुभयो । तीन वर्षको अवधिमा १३ हजार बढी जनताको आवास निर्माण गरी हस्तान्तरण गरिएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्या समाधानका लागि उच्चरीय भूमिसुधार आयोग गठन गरी काम भइरहेको उहाँले बताउनुभयो । दुईसय बढी हेक्टर सरकारी जमिन यसअवधिमा फिर्ता गरिएको पनि उहाँले जानकारी गराउनुभयो । यस आ।व।मा ६ वटा औद्योगिक क्षेत्रको निर्माण शुरु गरिएको जानकारी गराउनुहुँदै प्रधानमन्त्री ओलीले सबै स्थानीय तहमा अस्पतालको व्यवस्था गर्ने काम शुरु गरिएको बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत २ लाख नागरिकले प्रत्यक्ष रोजगारीको अवसर प्राप्त गरिएको जानकारी दिनुहुँदै प्रधानमन्त्री ओलीले सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह गर्ने कामकाजलाई चुस्त बनाउन नागरिक एप सञ्चालन गरिएको बताउनुभयो । नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेख्य प्रगति भएको उहाँले बताउनुभयो । हालसम्म १७० मुलुकसँग कुटनीतिक सम्बन्ध कायम गरिएको उहाँले बताउनुभयो । सरकारका सबै काम समृद्ध नेपाल सुखी नेपाली बनाउनेमा केन्द्रित रहेको उहााले प्रष्ट पार्नुभयो । राजनीतिक स्थायित्वका लागि आम निर्वाचन अपरिहार्य रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनतामा अहिले देखिएको क्षणिक निराशालाई सरकारले अन्त्य गर्ने प्रधानमन्त्री ओलीले विश्वास दिलाउनुभयो । डिजिटल नेपाल निर्माणका लागि काम शुभारम्भ गरिएको उहाँले बताउनुभयो ।

सातवटै प्रदेशमा विपत उद्धार केन्द्रको व्यवस्था गरी प्राकृतिक जोखिम न्यूनिकरणका लागि आवश्यक योजना बनाइएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले जोखिमयुक्त बस्तीको स्थानान्तरण गरिने बताउनुभयो । नेपालका हिमशृङ्खलामा परेको प्रतिकुल असरबारे अन्तर्राष्ट्रिय क्षेत्रलाई जानकारी गराई आवश्यक स्रोतको पहल गरिने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकमा रहेको अथाह ज्ञान, सीप र दक्षता पुस्तान्तरणका लागि स्थानीय तहमा ज्येष्ठ नागरिक मिलन केन्द्रको व्यवस्थाको काम भइरहेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । अनाथ, असहाय बालबालिकाको स्याहार तथा अभिभावकत्व दिने काम सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

स्वार्थकेन्द्रित गठबन्धन नबनेको भए अहिलेसम्म पार्टीको एकता महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आइसकेको हुन्थ्यो नेकपा ९एमाले० का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “कतिपय नेताहरुमा विभाजनको गतिविधिप्रति कत्तिपनि लज्जा नभएको देखियो, पार्टीको निर्देशन विपरित फ्लोर क्रस गराउने, आफ्नै दलको प्रधानमन्त्रीलाई हटाउने हस्ताक्षर अभियान चलाउने काम गरिए ।” सरकार जनताको जीउज्यान जोगाउमा सचेत्ताकासाथ लागेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले केही समयमा कोभिड नियन्त्रणतर्फ उन्मुख हुने विश्वास व्यक्त गर्नुभयो । कोभिड संक्रमणबाट ज्यान गुमाउनुहुने सबैप्रति प्रधानमन्त्री ओलीले श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । कोभिड संक्रमण भई उपचाररत सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभयो ।

यसै बिच  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गतिशील बन्दै गएको नेपालको अर्थतन्त्रमा कोरोनाको दोस्रो लहरले थप चुनौती र जोखिम बढाइदिएको बताउनु भएको छ  । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको वार्षिक प्रतिवेदन शुकबार अर्थ मन्त्रालयमा सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने अनुमान गरिएकोमा अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण रहेको बताउनुभयो ।

अर्थ मन्त्री पौडेलले कोरोनाको कारण आर्थिक बर्ष २०७६/०७७ मा कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेकका सबै प्रदेशहरूको आर्थिक वृद्धि ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षमा सबै प्रदेशहरूको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा उच्च रहने अनुमान गरिएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षमा कुल लगानी ३०.४ प्रतिशतले सङ्कुचन भएकोमा चालु आर्थिक वर्षमा १८.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने अनुमान गरिएको बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल ग्रहर््स्थ्य उत्पादन ५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १ हजार १ सय पुगेको अनुमान गरिएको पनि उल्लेख गर्नुभयो ।

सरकारले प्रत्येक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो दिन चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने प्रचलन रहेको छ ।

आर्थिक सर्वेक्षण सार्वजनिक  (पूर्णपाठ) 

आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रम-२०७८(भिडियो ):

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक