20210516

नेपाल : कोरोनाको पछिल्लो अवस्था अपडेट

  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यक अक्सिजनको व्यवस्था अस्पताल आफैँले मिलाउन सबै अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयको आजको मिडिया व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिरामीका आफन्तलाई अक्सिजनको व्यवस्था गर्न नलगाउन अस्पतालहरूलाई आग्रह गर्नुभयो ।

प्रवक्ता प्रा डा गौतमले बिरामीका लागि आवश्यक अक्सिजनको व्यवस्था मिलाउने जिम्मेवारी सम्बन्धित अस्पतालको भएको बताउनुभयो ।

यसैबिच आज नेपालमा थप ७ हजार ३ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज पिसिआर परीक्षणबाट ७ हजार ३ सय १६ जना तथा एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न प्रयोगशालामा गरी जम्मा १९ हजार ५ सय ३९ नमुनाको पिसिआर तथा ३ सय ४४ नमुनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनुभयो ।

प्रवक्ता प्रा. डा. गौतमले मन्त्रालयको आजको मिडिया विफ्रिङ्मा दिनुभएको जानकारी अनुसार आज काठमाडौँमा १ हजार ८ सय ८१ जना ललितपुरमा ४ सय ३६ जना र भक्तपुरमा २ सय ९२ जना गरी काठमाडौँ उपत्यकामा जम्मा २ हजार ६ सय ९ जना संक्रमित थपिएका छन् ।

यसैगरी आज थप १ सय ४५ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कूल सङ्ख्या ५ हजार १ पुगेको छ ।

यस्तै आज थप ६ हजार ६ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मुक्त हुने दर ७४ दशमलव ६ प्रतिशत रहेको र देशभरमा गरी जम्मा १ लाख १० हजार २ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये १ लाख २ हजार ४ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी ७ हजार ८ सय ८ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।


यसै बिच कोभिड–१९  सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानुनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आतिथ्यमा बसेको विशेष बैठकले सङ्क्रामक रोग ऐन २०२० का प्रावधानले मात्र अहिलेको महामारी रोक्न नसक्ने भएकाले आवश्यक तयारी गर्न मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन दिएको हो ।

बैठकले अत्यावश्यकीय सामग्री खास गरी अक्सिजन प्लान्ट र खोपलगायत स्वास्थ्य सामग्रीको तत्काल आपूर्तिका लागि सम्बन्धित निकायलाई अझ तदारुकताका साथ काम गर्न निर्देशन गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

खोप र अक्सिजनको तत्काल व्यवस्थापन गर्न विद्यमान कानुनी अड्चन र बाधा हटाउँदै अघि बढ्ने  पनि निर्णय गरिएको छ ।

अक्सिजन नपाएर मानिसको ज्यानै जाने अवस्था अन्त्यका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताउँदै बैठकपछि मन्त्री ज्ञवालीले भन्नुभयो, “तयारीका आधारमा रोगको प्रकृति र आक्रामकता दुवै उच्च भएकाले गएका दुई हप्ता हाम्रा लागि निकै कठिन रह्यो, अब त्यो कठिनाइ बिस्तारै कम हुँदै जान्छ भन्ने विश्वास गरिएको छ ।”

बैठकले वर्तमान महामारी धान्न अक्सिजन उत्पादन कमी भएकाले देशभित्रका उद्योगलाई पूर्ण क्षमतामा चलाउन उद्योगीलाई प्रोत्साहन गर्ने तथा भारतबाट थप लिक्विड अक्सिजन प्राप्त गर्न निरन्तर कूटनीतिक प्रयास र आग्रह गरिने निर्णय गरेको छ ।

चीन  र ओमानबाट केही अक्सिजनका सिलिण्डर ल्याइएको तथा अझै पनि आउने क्रम जारी रहेको बताउँदै सरकारले  अब केही दिनपछि अक्सिजनको समस्या हट्ने  विश्वास लिएको छ ।

जनस्वास्थ्य विद्का अनुसार अघिल्लो हप्ता बढेर ५६ हजार सङ्क्रमित सङ्ख्या पुगेकामा यो साता पनि उस्तै रह्यो । गत तीन दिनको आँकडाले अहिले हामी उच्च विन्दुमा पुगेका हौँ कि भन्ने सरकारले बैठकमा विश्लेषण पनि गरेको जानकारी दिइएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले  प्रक्रियामा अल्झिएर वा आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जान नदिने ढङ्गले कार्यसम्पादन गर्न निर्देशन दिनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रक्रिया झण्झटिला छन् भने तिनलाई छोट्याएर हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवन रक्षाका लागि जेजे गर्नुपर्छ त्यो गर्नुस्,  आवश्यक कानुन र प्रक्रिया मिलाएर हर हालतमा नागरिकको जीवन रक्षा होस् ।”

बैठकमा स्वास्थ्य सङ्कटकालका विषयमा पनि छलफल भएको थियो । मन्त्री ज्ञवालीका अनुसार अहिले सङ्क्रामक रोग ऐनले थाम्न नसकेको वा गर्न नसकेको केके काम स्वास्थ्य सङ्कट लगाएर हुन सक्छ भन्ने तुलनात्मक अध्ययन भइरहेको छ । “सङ्कटकाल घोषणाले परिणाम आउँछ भने घोषणा गर्दा उपयुक्त हुन्छ, नभए घोषणा गरेर मात्र नतिजा आउने होइन”, मन्त्री ज्ञवालीले भन्नुभयो ।

देशको समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत ढङ्गबाट महामारीविरुद्ध लगाउन जरुरी  आवश्यक रहेको बताउँदै उहाँले अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका अस्पताल, विभिन्न प्रतिष्ठान, प्रादेशिक र स्थानीय तहले सञ्चालन गर्ने आधारभूत अस्पतालका सेवालाई एकीकृत ढङ्गबाट सञ्चालन गर्न आवश्यक देखिएको बताउनुभयो ।

बैठकले झन्झटिलो प्रक्रिया हटाउनका लागि कानुनी प्रबन्ध तथा  खोपलगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न र  ऐनमा थप सुधार गर्न आवश्यक देखिएको निष्कर्ष निकालेको बताइएको छ ।


उता अर्थ मन्त्रालयले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ निकासाको सहमति दिएको छ ।


अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको निकासाको लागि सहमति दिएको हो ।

यस्तै केन्द्रीय र प्रादेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माग अनुरूप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।

यता रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ९४ जना नयाँ कोरोना सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा ७८ जना महिला, ८८ जना पुरुष सङ्क्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा १५ जना महिला र २६ जना पुरुष नयाँ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।

हाल सम्म रुपन्देही जिल्लामा १५ हजार १ सय ५४ जना निको भएका छन् भने कुल मृत्यु हुनेको सङ्ख्या ३ सय ५१ जना र सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९ सय १४ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा रहेको छ ।

 गुल्मीमा कोरोना सङ्क्रमणका कारण (आइतबार) एकै दिन नौ जनाको मृत्यु भएको छ । जिल्लाको रेसुंगा नगरपालिका २ की ७५ वर्षकी महिलाको तम्घास अस्पताल, रेसुंगा एककी ६६ बर्षकी महिलाको चितवन मेडिकल कलेज चितवन, रेसुंगा नगरपालिका १२ का २७ बर्षका पुरुषको उपचारका क्रममा पाल्पा लैजाँदै गर्दा एम्बुलेन्समै मृत्यु भएको र रेसुंगा ७ का ६४ वर्षका पुरुषको चितवनमै उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर ५ फोक्सिङका ५१ वर्षका शिक्षकको स्याङजाको कालीगण्डकी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । उनी कालीगण्डकी गाउँपालिका वडा नम्वर चारमा रहेको जिवनोद्धार माध्यमिक विद्यालयका शिक्षक हुन ।
सत्यवती गाउँपालिका वडा नम्वर ७ का ८० वर्षका पुरुषको होम आइसोलेशन र इश्मा गाउँपालिका वडा नम्वर तीन का ८१ बर्षका पुरुषको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै धुर्कोट गाउँपालिका वडा नम्वर २ का ३२ बर्षका पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पापामा उपचारको क्रममा मृत्यु भएको र मालिका गाउँपालिका ५ का ५१ वर्षका पुरुषको छाउनी अस्पताल काठमाडौँमा मृत्यु भएको कार्यालयले जनाएको छ ।
गुल्मीमा सङ्क्रमणका कारण ४६ जनाको मृत्यु भएको र अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९३४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीका गोपाल कार्कीले जानकारी दिनुभयो ।
गुल्मीमा हालसम्म २०६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक