20210508

भयानक डरलाग्दो अवस्थामा छ नेपालमा कोरोना, अस्पतालहरु खचाखच, हेर्नुस ताजा अपडेट

                                                   File Photo :  Navesh Chitrakar/Reuters

काठमाडौं / आज नेपालमा कोरोनाभाइरसका आठ हजार ३८७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ३१५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २८७ मा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ८५

हजार ८९० पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ९८९ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १३१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा तीन हजार ३७० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई लाख ९८ हजार ७६५ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हाल निको हुने दर ७७.४ प्रतिशत छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५३ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा तीन हजार ६३२ जनाले ज्यान गुमाएका छन् । हाल ८३ हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ । ३९८ जना हाल क्वारेन्टिनमा छन् । हालसम्म १६ लाख १५ हजार ७२० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । यता काठमाडौं उपत्यकामा कोरोनाभाइरसका तीन हजार ११३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा तीन हजार ११३ सङ्क्रमित थपिएका हुन् ।देशभरि पछिल्लो चौबीस घण्टामा आठ हजार २८७ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा दुई हजार २७० सङ्क्रमित थपिएका छन् । ललितपुरमा ४६२ र भक्तपुरमा ३८१ सङ्क्रमित थपिएका हुन् । उपत्यकामा चौबीस घण्टामा थपिएका सङ्क्रमित शुक्रबार चौबीस घण्टाको अपेक्षा करिब एक हजारले कम हो ।

उपत्यकाको तीन जिल्लामा हाल ३५ हजार ६७८ जना सक्रिय सङ्क्रमित छन् । काठमाडौंमा २६ हजार ४२६, ललितपुरमा पाँच हजार ७१२ र भक्तपुरमा तीन हजार ५४० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । काठमाडौंमा हालसम्म एक लाख ४१ ह्जार ८२६, ललितपुरमा २३ हजार ७५८ र भक्तपुरमा १३ हजार ६२६ जना सङ्क्रमित भएका छन् । काठमाडौंमा एक लाख १४ हजार ५८०, ललितपुरमा १७ हजार ८१३ र भक्तपुरमा नौ हजार ९१४ जना निको भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रधानमन्त्री ओलीसहित सचिवालयका व्यक्तिमा परीक्षण गर्दा उहाँको  रिपोर्ट नेगेटिभ आएको हो ।

यसै गरि पीसीआर परीक्षण गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूलाई कोरोना संक्रमण भएको आधिकारीक फेसबुक सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।

थापा र भण्डारीलाई पहिलो चरणमा पनि कोरोना संक्रमण देखिएको थियो । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसै गरी  सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको थियो । 

 पिसिआर परीक्षणमा २०५ सांसद सहभागी भएकामा राष्ट्रियसभाका एकसहित १९ जनालाई कोरोना पोजिटिभ देखिएको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । यसअघि नौ सदस्यलाई कोरोना पोजिटिभ देखिएको थियो ।

उहाँहरुसमेत हाल उपचारका क्रममा हुनुहुन्छ । पछिल्लो नतिजासँगै कोरोनाबाट सङ्क्रमित हुने सांसद २८ पुगेका छन् । सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला समाजसँग आबद्ध पत्रकार र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीसमेत एक हजार ३० को परीक्षण गरिएकामा १४१ जनालाई कोभिड–१९ पोजिटिभ नतिजा प्राप्त भएको जनाइएको छ ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।    

 सचिवालयले सङ्क्रमणलाई हेक्का गर्दै प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सिट व्यवस्थापन गरेको छ । सभामुख र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिले छलफलपछि तय गर्ने कार्यसूचीका आधारमा अधिवेशन कसरी अघि बढाउने भन्ने निर्क्याेल गरिनेछ । 

 कोरोना पोजिटिभ भएका सांसदलाई विश्वासको मतका सम्बन्धमा बैठकमा कसरी सहभागी गराउने भन्ने विषय अहिले चुनौतीका रुपमा छ । पिपिई लगाएका स्वास्थ्यकर्मीका सहयोगमा कोरोना देखिएका सांसदलाई बेग्लै कक्षमा राखेर मतदानमा सहभागी गराउन सकिने तर्कसमेत गरिएको छ ।    

 कोरोना सङ्क्रमणले दैनिक नयाँ अभिलेख कायम गरिरहेको तथा प्रमुख राजनीतिक दलभित्रै पनि आन्तरिक विवादले उत्कर्ष रुप लिइरहेका बेला हुन लागेको प्रतिनिधिसभाको यो अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ ।  

यसै बिच नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान थालनी गरेको छ ।    

     विपत्तिमा मुलुक पर्दा मुलुकवासीको सहयोगार्थ महासङ्घले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी उक्त अभियान सञ्चालन गरिएको महासङ्घले जनाएको छ ।      एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आजदेखि हेल्लो डाक्टरको शुभारम्भ गरिएको छ । एफएनसिसिआई अपरेशन कोभिड रिलिफ अभियानअन्तर्गत थप अन्य कार्यक्रमसमेत ल्याउने तयारीमा महासङ्घ छ ।    

     हेल्लो डाक्टर कार्यक्रम महासङ्घद्वारा सञ्चालन गरिएको हो, जसमा भाइवरको सहकार्य रहेको छ भने डाक्टर अन कलका चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्नेछन् ।   हेल्लो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिने काम आइतबारदेखि शुरु हुनेछ । कोभिड सङ्क्रमित भई घर वा आइसोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाले हेल्लो डाक्टरमार्फत सहयोग लिन सक्नेछन् ।    

     हेल्लो डाक्टर, भाइवरमार्फत कोभिड सङ्क्रमित बिरामी र चिकित्सकबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिनेछ । प्रारम्भमा पाँचजना डाक्टरबाट परामर्श गर्नेछन् । रोग सङ्क्रमितहरूलाई प्रविधिको प्रयोगमार्फत डाक्टरसँग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपत्कालीन अवस्थाबाहेक अस्पतालसम्म जान नपर्ने वातावरण तय गर्न लागिएको महासङ्घको भनाइ छ । यसबाट कोभिड सङ्क्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासङ्घको छ ।   हेल्लो डाक्टरमार्फत सिधै डाक्टरसँग परामर्श गर्न पाइने हँुदा कोभिड सङ्क्रमित बिरामीमा देखिने चिन्तालाई कमी गर्न र बिरामीको आत्मबल बढाउन सहयोग पुग्ने महासङ्घका अध्यक्ष शेखर गोल्छाले जानकारी दिनुभयो ।   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक