20210629

आज असार पन्ध्र, मानो रोपेर मुरी फलाउने दिन । सबैलाई शुभकामना ।

 काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५

मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

असार पन्ध्रका सन्दर्भमा हाम्रो पात्रो लेख्छ : यस वर्ष अर्थात बिसं २०७८ मा वर्खायामको शुरुवात अलिक अगाडि नै भएको छ । भिजेका खेतहरु अनि बादलले ढाकेका आकाशहरुले राम्रो र नराम्रो दुबै कुराहरु निम्त्याएका छन् । सिन्धुपाल्चोकको बाढि, नेपालका अन्य थुप्रै स्थानहरुमा आएको बाढि पहिरो, नदिहरुका बढेका सतह लगायत थुप्रै अतिवृष्टिका परिणामहरु यस वर्षले भोगेको छ । अर्कोतर्फ कोरोना त्रास, भर्खरै खुल्न थालेको केहि महिनाको लकडाउन अनि बजारमा अभाव भएको कृषीमल । चुनौति थुप्रै छन् यद्धपि वर्ष २०७८ अहिले आएर असारको १५ मा आइपुगेको छ । हरियाली मौसमको मायालु शुभकामना ।

यसपाला नेपालमा बेलैदेखि बर्खा शुरु त भएको छ तर खेतहरुमा रोपाँईकालागि पानी कत्तिको जम्मा छ त ? डल्लाहरु फुटाइए त ? माटो सम्याईयो ? यसपाला के ले जोत्दै हुनुहुन्छ ? हल गोरु नै छन् या ट्याक्टरले ?

खेतालाहरु पाइन्छ त ? अनि धानको बिऊ चाँही कत्तिको फस्टाएको छ ?

अरु धेरै प्रश्नहरु छन् है कृषीप्रधान देशका कृषीप्रमी नेपालीहरुलाई सोध्नपर्ने । कुन धान रोप्दै हुनुहुन्छ ? कान्छी मन्सुली, बास्मती, घैया, करियाकामत, बगडी या अरुनै कुनै । असारको १५ को रौनकमा स्वागत छ , यसबर्ष पनि अरु बर्षहरु जस्तै काला बादलका मेघमलाहार , हिलो अनि हरियोका साथ असार आइपुगेको छ ।असार अर्थात बिक्रम संवतको तेश्रो महीना, शाब्दिक अर्थ केलाउने हो भने असार ईरान भन्ने देशको लोरेस्टान जिल्लाको एउटा कृषीप्रधान गाँउ हो । स्मरण रहोस् नेपाली शब्दकोषमा ईरानी शब्दहरु आयामेली शब्दका रुपमा हामीले धेरै प्रयोग गर्दछौ, यसअर्थमा ईरान र देवनागिरी लिपीसँग पुरानो समबन्ध रहेको पुष्टि हुन्छ, असार शब्दको पृष्ठभुमीले पनि एउटा प्रमाण ईरानतर्फ देखाएको छ । अर्कोतर्फ ईस्लाम धर्ममा दिनन्हु गरिने ५ प्रार्थनामध्य एउटालाई अस्र भनिन्छ । ईजिप्ट भन्ने देशमा चाँही मृत्यूका देवतालाई ओसरिस असार भनिने रहेछ।

जे होस् असारलाई बुझ्न हामीले शब्दको शल्यक्रिया गरिरहन जरुरी छैन्, धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महीना कृषीकार्यकालागि बिशिष्ट छ । असारको १५ लागेपछि बादलहरु पूर्णरुपले परिपक्क भएर पानीका धाराहरु बर्षाउदछन्, माटोहरु पानीमा रुझेर हिलोको स्वरुमा कमलो हुदँछन अनि तिनै कमलो माटोमा हामीले छुपुछुपु धानका बिरुवाहरु रोप्दछौ । यसैकारणले पनि होला असारको १५ लाई राष्ट्रिय धान दिवसकारुपमा मानिन्छ है । सकेसम्म आज एकफेर धानको बिरुवा अनि हिलोसँग पौँठेजोरी खेलेर हेरौ, नेपाली परिवेशको जीवनशैली प्रकृती र माटोसँग अत्यन्त निकट छ है ।

हिलोसँग खेल्दै, पानीसँग पौँठेजोरी खोज्दै खेतका आलीमा चप्पल खोलेर खेत भित्र छुपु छुपु धान रोप्न छिरेका खेतालाहरुको खाजा पनि खेतमै ल्याइदिइने चलन छ । तराईतिर यसरी खेतमा खेतालालाई लगिदिएको खाजालाई जलखाई भनिन्छ, समामन्यतया जलखाईमा गहुँको पिठोको मोटो रोटी र नुन तेल खोर्सानी अचार आदी लगिदिने चलन छ । तराईतिर खेतका मालिक आँफैँ धान रोपाँईमा खेत आईपुगे भने सबैजना खेतालाले जग्गाधनीलाई हिलो छ्यापेर भगाउने चलन छ ।

आषाढ महिनाको सामाजिक र आर्थिक मात्र नभईकन साहित्यिक महत्व पनि उत्तिकै रहेको छ । आषाढे महिनामा पानी पर्यो रुझाउने, आषाढे मासमा धान रोपेझैँ खेतमा लगायतका बिभिन्न रोमाञ्चक र जनमानसमा प्रचलीत गीतहरु पुस्तौँदेखी आषाढको सेरोफेरोमा लेखिएका र गाइएका छन् तथापी पहिले पहिले जस्तो रोपाँईका गीतहरु खेतमा लाम लागेर धान रोप्दै सामूहिक रुपमा गीत गाँउदै गरिने धेरै कम मात्र पाईन्छ । यस्ता गीतहरु धान रोप्दै गाइने भएकाले सरल र सुस्तरी गाइन्छ, जस्ले गर्दा काम गर्ने खेतालाहरुले थकान बिर्सेर धेरै बेरसम्म रमाइलो गर्दै काम गर्न सक्दछन् ।

यस्ता रोपाईंहरुको मध्यमा पर्ने आषाढे पन्ध्र एउटा व्स्तताबिच थकाई मारिने चाड हो, दहि च्यूरा, आँप लगायतका परिकारहरुले यस दिनलाई अझ बिशेष बनाउने भएकालेनै होला आषाढे पन्ध्रलाई दहिच्यूरा खाने दिन पनि भनिन्छ । घरमा दुहुनो गाई या भैंसीको दुध आँफैले जोरन हाली जमाएर बनाएको दहि अनि ढिकी या ओखलमा कुटेको धानको चिउरा लाई सरोवरी बोता या दुनाटपरीमा राखी दहिको तरल पदार्थ टपरीवाट नझरोस भन्दै सन्तुलन मिलाएर खाएको दहि चिउराले संसार बिर्साउदछ ।

आषाढेको झरिले धानको रोपार्इं राम्रो होस, त्यो झरिको पानीले हाम्रो दुःख कष्ट पनि बगाओस अनि धानको बिउँ सँगै एकअर्कासँग माया प्रेम र सदभावको पनि बिजारोपण गर्न सकौं, माया बढिरहोस । घरका छानाहरु पानीका थोपाले बजिरहँदा आशाको सन्देश अनि मायाको प्रवाह होस्, चुहिने छानाहरु टालिदै जाउन् अनि तुहीने सपनाहरु जागृत हुदै जाउन् ।

आषाढे पन्ध्रको शुभकामना, दहिच्यूरा खाने हैन त ?

राष्ट्रिय धान दिवस

बर्खाको उत्कर्षको समय हो तर झरिका थोपाहरु कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँकहाँ पर्याप्त पानी पर्यो र कता कता पानी नपरेर धानको विऊ नै सुक्यो भन्ने कुराको फेरिहिस्त हरेक वर्ष फरक फरक हुनेगर्दछ । हरेक वर्षको असारे १५लाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने चलन छ ।

कृषीप्रधान देश नेपाल अहिले आएर वैदेशिक रोजगारदाताहरुको सर्वप्रीय थलो भएको छ र यसको कारण हो कोदालो लिनुपर्ने हातमा पर्न आएको पासपोर्टको मोह । हरेक वर्ष धान दिवसमा दुईवटा कुरालाई मुख्य केन्द्र बनाइन्छ, एउटा कृषीमा आधुनिकिकरण अनि अर्को खाधान्न आयातमा न्यूनीकरण । बाँझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आदि हामी आयात गर्ने गर्दछौं जुन नेपाली स्वाभिमान अनि कृषीकर्मको आदर्श बिरुद्ध हो भन्दा फरक पर्दैन् । हाम्रा माटो अनि खोलाका पानीको घनत्वको गहिराईसम्म उत्पादकत्व अनि पौरख लुकेको छ ।

हुन त नेपालको कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध रहेको तथ्याकंले बताउदछ तर आकाशे पानी अनि रसिलो माटोका कारणले अन्य भूमि पनि धानखेतको प्रतिकुल नै भने छैनन् । अब राष्ट्रिय धान दिवसमा नेपाली हरुमा कृषीकर्मप्रतिको एउटा अठोटको खाँचो छ।

छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला

बनाई कुलो लगाई पानी आएर गोडौंला

यो गोड्ने, पानी लगाउने अनि उब्जा गर्ने साहस हामीसबै नेपालीहरुमा हुन जरुरी छ । जसरी असारे १५ मा स्वदेश बिदेश जता भएका नेपालीजनले पनि दहि च्यूरा खाने गर्दछन त्यस्तै दहि च्यूरासंगै कृषीकर्ममा आत्मनिर्भरता र माटो खोस्रने साहस आजको दिनले मागेको छ । अब जीवन धान्ने कृषी हैन व्यवसाहीक कृषी गर्ने दिन आएको छ, चामल आयात हैन निर्यातमा उच्चकोटीको देश भनेर नेपाल चिनिने समय आएको छ । इतिहास पल्टाएर हेर्दा १९७० को दशक अघि नेपाल विश्वका थोरै मात्र चामलका निर्यातकर्ता देशहरुमा गनिने पाइन्छ भने गएका केही दशकमा हामी सर्वाधिक आयातकर्ता भएका छौं । हामी आयात धेरै र निर्यात कम भएकले व्यापार घाटा सहन गरिरहेका छौं र बेलैमा कृषीकर्ममा ध्यान नदिने हो भने यसको परिणाम भविष्यका पुस्ताले भोग्नेछन् । दुई छाक खान र केही मानो बाँढ्न सबै नेपालीलाई पुगोस् । माटोको जय होस्




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक