20210610

ओली प्रिय गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वाशको मत नपाएर भर्खरै पदमुक्त

 ओली प्रिय गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वाशको मत नपाएर भर्खरै पदमुक्त भएका छन । दशा लागे दश थोक हुन्छ भन्छन अहिले त्यस्तै हुन थालेको छ ओली र उनका निकटहरुलाई पनि ।  

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न विफल भएका छन्। प्रदेशसभामा बिहीवार पेस भएको विश्वासको मतको प्रस्ताव बहुमत सदस्यले अस्वीकृत गरेपछि उनले विश्वास गुमाएका हुन्। ६० सदस्यीय

प्रदेशसभामा ५८ जना उपस्थित भएका थिए भने ५७ जनाले मात्र मतदान गरेका थिए। त्यसमध्ये गुरूङको प्रस्तावको पक्षमा २७ जनाले मात्र मतदान गरेका छन् भने विपक्षमा ३० जनाले मतदान गरेको प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले सभालाई जानकारी गराए। जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा तटस्थ रहेका थिए भने दीपक मनाङ्गे भनेर चिनिने प्रदेशसभा सदस्य राजीव गुरुङ मतदानमा अनुपस्थित रहेका जनाइएको छ।

पृथ्वी सुब्बा गुरुङ विसं २०७४ फागुनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री निर्वाचित भएका थिए। गुरुङलाई एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट मानिन्छ।

माओवादी सरकारबाट अलग भएपछि तथा राष्ट्रिय जनमोर्चाले उनलाई दिएको समर्थन फिर्ता लिएपछि गुरुङले वैशाख अन्तिम सातामा पदबाट राजीनामा दिएका थिए। तर लगत्तै उनी प्रदेशसभामा भएको ठूलो दलको नेताको हैसियमा पुनः मुख्यमन्त्री नियुक्त भएका थिए।

नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार बिहीवार उनले विश्वासको मत लिन खोजेका थिए।

सरकारबाट गत चैत २५ गते माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकारको स्थायित्वमाथि प्रश्न उठ्न सुरु भएको थियो।

त्यसपछि गुरुङविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त रूपमा अविश्वासको प्रस्ताव ल्याएका थिए। विपक्षी दलहरूले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई भावी मुख्यमन्त्रीमा प्रस्तावित गरेका थिए।

तर अविश्वासको प्रस्तावबारे निर्णय गर्न तय भएको प्रदेशसभा बैठक एक सांसद सम्पर्कविहीन भएको निवेदन परेपछि स्थगित भएको थियो।

जनमोर्चाले समर्थन फिर्ता लिएपछि उत्पन्न परिस्थितिबारे टिप्पणी गर्दै आफूले विश्वासको मत लिन चाहेको बताएको BBC ले उल्लेख गरेको छ । 

"...अस्थिरताका बीच मैले दलहरूका बीच पुन: संवाद होस्, विकल्प पनि तयार होस् भनेर मिति २०७८।०१।२६ गते राजीनामा गरेको थिएँ। तर दलहरूका बीच सङ्ख्यात्मक जोड नपुग्दा अहिले ठूलो दलको रूपमा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार सञ्चालन गरेर धारा १६८ को उपधारा (४) अन्तर्गत विश्वासको मतका लागि उपस्थित भएको छु," उनले भने।

"विश्वास प्राप्त हुँदा नीति तथा कार्यक्रम पेस गरी गण्डकी प्रदेशसभामा बजेट प्रस्तुत हुने नै छ। अन्यथा संविधानको व्यवस्थाअनुसार अघि बढनुपर्ने व्यहोरा अनुरोध गर्न चाहन्छु," उनले भने।

अधुरा विकासका काम छोडेर "राजनीतिक दाउपेचमा अल्झिनु र राजनीतिक अस्थिरता पैदा गर्नु न्यासङ्गत" नहुने तर्क गर्दै उनले भने, "मैले नेतृत्व गरेको नेकपा एमालेबाहेक अन्य दलहरूको प्रदेशसभामा बहुमत पुग्ने र वैकल्पिक सरकार गठन हुने सम्भावना पनि छैन।"

"यो तथ्य एक महिना अगाडि परीक्षण भएकै हो। हामीले राज्यको पुनर्संरचना गरेपछि गठित प्रदेशसभा संविधानको कार्यान्वयन र सङ्घीयताको सुदृढीकरणका लागि अगुवा साबित हुने विश्वास लिएको छु," उनले भने।

गण्डकी प्रदेशसभा ६० सदस्यीय छ। विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक हुन्थ्यो।

एमालेसँग स्वतन्त्रसहित २८ सांसद छन। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा मुख्यमन्त्री गुरुङविरुद्ध उभिएका थिए।

चारवटै दलले विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदानका लागि ह्विप जारी गरेका थिए। कांग्रेसको १५, माओवादी केन्द्रको ११ राष्ट्रिय जनमोर्चाको ३ र जसपाको २ सांसद छन्।


GO TO HOME PAGE

Go to Home Page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक