20210607

जेठ तेस्रो सातादेखि धमाधम रोपाई, मार्सी धानको चटारो


दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाकै बिच जुम्लामा मार्सी धान रोपाइँको चटारो चलेको छ । जेठ दोस्रो सातासम्म जुम्लामा जौ काट्ने र फाटफुट रुपमा धान रोप्ने गरिए पनि जेठ तेस्रो सातादेखि धमाधम रोपाई भइरहेको छ । जुम्ली किसानलाई रोग भन्दा भोकको चिन्ता छ । किसान बेलु चनारा भन्नहुन्छ,“वर्षात धेरै भएकोले यस वर्ष जौ उत्पादन दोब्बर घटेको छ । कोरोनाले महँगी बढाएकै छ । त्यसैले पनि कोरोनाको प्रवाह नगरी मार्सी रोप्ने चटारो चलेको छ ।”

जुम्लाका आठै स्थानीय तहका सबै मार्सी फाँटहरूमा आजभोलि (हली, बाउसे र रोप्नेरी मात्रै हुन्छन् । देश विदेशमा माग बढ्दै गएपछि जुम्ली किसानको मार्सी धान खेतीमा आकर्षण बढेको छ ।

जुम्ला जिल्लाभर रोपाइँ सुरु हुँदा किसानहरू आजभोलि मार्सी रोप्न मात्रै व्यस्त देखिन्छन् ।  जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गर्ज्याङ्कोट  लगायतका सबै ठाउँमा स्थानीय काली मार्सी र राती मार्सीको रोपाइँ भइरहेको हो ।

स्थानीय किसान रतन दमाई भन्छन्,“जुम्लाको पहिचान सँगै खाद्य सङ्कटलाई समाधान गर्न पनि मार्सी रोप्न आवश्यक छ । रोगको चिन्ता गरी खेती नगरे भोकले मर्ने चिन्ता छ । त्यसैले पनि कोरोना त्रास सँगै मार्सी धान रोपिरहेका छौ ।” स्थानीय तहले मार्सी प्रवर्द्धन कार्यक्रम ल्याउन आवश्यक उनको भनाई छ ।

जुम्लामा रहेका करिब १९ हजार घरधुरीमा सबैले थोरै धेरै मार्सी धानको खेती गर्छन् । आफ्नै उत्पादनले बिमा ६ महिना चले पनि रैथाने खेतीमा जुम्ली किसान पछि नहटेको कोरोना कहरका बिच स्वास्थ्य सावधानी अपनाएर मार्सी धान रोपाई चलिरहेको समेत उहाँको भनाई छ ।

विश्वकै उच्च स्थानमा धान फल्ने छुमचौर ज्यूलो र जुम्लामै पहिलो मार्सी धान रोपिएको तातोपानीको लाछु ज्युलोमा पनि रोपाई शुरु हुने क्रममै छ । विगतमा छुमचौर र लाछुको गुरुफोक्टोमा महोत्सव हुन्थ्यो । तर यस वर्ष कोरोना कहरले जुम्लामा कतै रोपाइ महोत्सव भएका छैनन् ।

जिल्ला कृषि विकास कार्यालयका जुम्लाका अनुसार जुम्लामा २८ सय हेक्टरमा धान खेती हुने गरेको छ । यहाँको रैथाने काली मार्सी धान ४० प्रतिशत रोप्ने गरिन्छ भने ६० प्रतिशत उन्नत जातको धान रोप्ने गरेको तथ्याङ्क रहेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाकाले बताउनुभयो । - सागर परियार / रेडियो नेपाल  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक