20210714

आजका पाँच कविताहरु !

 कविता नम्बर - १ 

उनी,

कुरौटेका पनि महा कुरौटे 

काम भन्दा कुरा धेरै गर्थे 

उखान, टुक्का हाल्थे  

हुने, नहुने सबै कुरा गर्थे 

हामी दङ्ग पर्थ्यौं, ताली मार्थ्यौं 

उनका कुरा बुझेर हाँस्थ्यौँ

यिनी,

न बोल्न जानेका छन् 

न त बोलेको बुझिन्छ 

न काम गर्न जानेका छन् 

न त भन्देखीलाई गर्छन् 

तर ज्योतिषेकोमा जान्छन् 

पाँच पटक प्रधानमन्त्री खान्छन् 

सात पटकको सपना देख्छन् 

जे होस बोल्छन् 

हँसाउँछन् 

हामी कुरा बुझेर होइन नबुझेर हाँस्छौँ 

नाम फरक 

अनुहार फरक 

पार्टी फरक 

तर भित्री कुरा सबै उस्तै उस्ता  

हामी जनता सस्तै सस्ता  

जो आए पनि मस्तै मस्त  

हाँस्न पाइएकै छ

कसैको बुझेर, कसैको नबुझेर !

गाँजा खाएका गँजडी जस्ता 

हामी कति सस्ता ??

मान्छे पनि हामी कस्ता कस्ता !!

********************

कविता नम्बर - २   

उ बेलाका केपी 

एउटा छाता र सुराही बोके

बालुवाटार पसे 

राम्रै गरे, बसे 

जुन दिन निस्किए 

त्यही छाता र सुराही बोके 

लुरु लुरु निस्किए !

यो बेलाका केपी 

छलाङे छविलाल बोके 

पूजा आजा र होम गर्दै 

बालुवाटार भित्रिए 

अहो यिनी दुई पाइलट 

यिनको माया जाल 

देखी सक्नु थिएन 

हेरि सक्नु थिएन

के भयो छर्लङ्गै देखियो 

भोग्नु भोगियो 

देख्नु भयो निस्किँदा ??

हजारौँ गाडी र मोटर साइकल 

आरती सहितका भक्तहरू 

तामझाम सहित निस्किए 

लागे बालकोट दरबार तिर 

यस्तै छ यहाँको चलन !   

यी केपीको देख्दा अरुलाई कति हुँदो हो जलन !!

*************

कविता नम्बर - ३

ए हजुर, तपाईं पनि,

वहाँको भरपुर गुणगान गाऊनुस है 

तपाईं त वास्तविक "शेर" नै हो भन्दै 

बधाई र शुभकामना दिन, 

फेसबुक र सञ्जालमा आउनुस् है !

अब जे हुन्छ त्यतैबाट हुन्छ 

साँझ बिहान बुढानीलकण्ठ धाउनुस् है 

अलि राम्रो फोटो पोस्टाएर 

आरती गाऊनुस है 

ढिला गर्नै हुन्न 

पछि पर्नै हुन्न 

बरु एक दुई सय किलाका भिराए माला 

सुध्रिन्थ्यो कि तपाईंको पनि चाला !!   

*****************

कविता नम्बर - ४ 

बधाई छ छलाङे कमरेड 

ढाडमा टेकेर टाउकोमा हानेकै हो 

हान्न पनि जानेकै हो 

लाज, शरम पचाउन मानेकै हो 

भस्म अभियानको रथ तानेकै हो 

हारेर पनि सधैँ जितिरहने तपाईंको कला        

यता उताका पिछलग्गुले मने मानेकै हो 

राम्रो कुरा पो कहिल्यै जान्नु भएन र,

तर तपाईंले जान्न त जानेकै हो

फेरी पनि ढाडमा टेकेरै गोल हानेकै हो 

*****************************

    कविता नम्बर - ५ 

पिँध नभएको लोटा जस्ता 

तपाईं मान्छे कति सस्ता 

खोज्नुहुन्छ अझै हाताहाती 

चल्दैन उधारोले भन्नुहुन्छ

२३ जनाको टाउको गन्नुहुन्छ 

ए कमरेड, 

अब तपाईं आफूलाई के भन्नुहुन्छ ?

कता को बन्नुहुन्छ ?

तपाईंका निर्देशक छलाङेले के गर भन्नुहुन्छ ?? 

- रामप्रसाद खनाल, जुलाई १४, २०२१

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक