20210707

अर्बौं खर्चेर शुरु गरिएका बिकास निर्माणका सँरचनाहरु पुरा नहुँदै धमाधम भत्किन थाल्नुलाई कस्तो बिकास मान्ने ??

सात करोडको पुल बन्दा बन्दै यसरी भाँचियो !

 लोकतन्त्र र गणतन्त्र नाराको बिकास त भयो तर अर्बौं खर्चेर शुरु गरिएका बिकास निर्माणका काम, सँरचनाहरु पुरा नहुँदै धमाधम भत्किन थाल्नुलाई कस्तो बिकास मान्ने अब बहस शुरु गर्नै पर्ने भएको छ । यसै बिच तोकिएकै समयमा

निर्माण कार्य सम्पन्न नहुँदा यस वर्ष धादिङको थाक्रे गाउँपालिकास्थित महेश खोलामा निर्माणधीन अवस्थामा रहेको पक्की मोटरेबल पुल भाँचिएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको सो पुल गत दुई वर्ष अघि नै निर्माण सम्पन्न भई सक्नु पर्नेमा निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले गरेको ढिला सुस्ति र सडक विभागको लापरवाहीका कारण यस्तो अवस्थामा पुगेको हो । पुल भाँचिएसँगै थाक्रे गाउँपालिका सिम्लेका स्थानीयहरुको पुलबाट सवारी चढेर महेश खोला तर्ने आशा यस वर्ष पनि अधुरै रह्यो । निर्माण सुरु गरेको धेरै वर्षपछि यस वर्ष बल्ल तल्ल पुलको ढलान भएको थियो तर  पुल नै भाँचिएपछि त्यहाँका स्थानीयहरु चिन्तित बनेका छन । गाउँपालिकाको वडा नम्बर २ र ११ जोड्ने पक्की पुल केही दिन अघिको अविरल वर्षाका कारण आएको बढीले गर्दा बगाएपछि थप समस्या भएको हो ।

ठेकेदार कम्पनीले काममा गरेको ढिलासुस्तिका कारण समयमा नै पुल निर्माणको काम सम्पन्न हुन नसक्दा महेश खोलामा आएको बाढीले यस वर्ष पनि निर्माणधीन अवस्थाको अन्तिम चरणमा पुगेको पुल भाँचिएको हो । गत वर्ष पनि यस पुलमा बाढीले क्षती पुर्‍याएको थियो । ठेकेदार कम्पनीले काममा गरेको लापरवाही र सरोकारवाला निकायहरु र सडक विभाग थप जिम्मेवार नहुँदा जिल्लाका धेरै स्थानहरुमा भएका पुल पुलेसा र सडक जस्ता विकास निर्माणका कामहरुको अवस्था वर्षा लाग्न साथै यस्तै हुने गरेको छ । डिभिजन सडक कार्यालय भरतपुरले गरेको लापरवाहीका कारण सिम्लेस्थित महेश खोलाको पुल पटक पटक बाढीले क्षति पुर्‍याएको हो । यस वर्ष त धेरै स्थानहरुका पुलमा क्षति पुगेको छ । महेश खोलाको निर्माणधीन अवस्थामा रहेको पुल दुई वर्ष अघि नै निर्माण सम्पन्न गर्नु पर्ने थियो । चालिस मिटर लम्वाईको एक स्पानको सो पुलको निर्माण लागत करिव सात करोड रहेको छ ।

यसै सन्दर्भमा अनलाइन खबर लेख्छ: निर्माणाधीन र निर्माण सकिएर सञ्चालनमा रहेका पुलहरु भाँचिने र बगाउने क्रम उच्च दरमा बढेको छ । तर, यसको जिम्मेवारी लिन कोही पनि तयार छैनन्, बरु बाढी र खोलालाई नै दोष दिएर पन्छिने क्रम चलिरहेको छ ।

सवारी चलिरहेका पुलको सुरक्षामा गम्भीर नदेखिएको सरकार पछिल्लो समयमा पुल निर्माणका क्रममा हुने लापरवाही र गुणस्तरहीन काममा पनि मूकदर्शक बनिरहेको छ । पुल भत्किंदा न निर्माण व्यवसायीले आफ्नो कमजोरी स्वीकारेका छन्, न सरकारले दोषी ठहर गरेर कारबाही गर्न कुनै कदम चालेको छ ।

गत चैत २३ गते राति तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुल भत्कियो, भत्किएको भाग व्यवस्थापन गर्ने क्रममा गत वैशाख १३ गते सोही पुलमा थप क्षति भयो र दुई श्रमिक त्रिशूलीमा बेपत्ता भए ।

पुल भत्किएको घटना छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनलाई सडक विभागले दराजमा थन्क्यायो । जुन, प्रतिवेदनमा ठेकेदार कम्पनीको लापरवाहीपूर्ण तवरको कामको कारण दोहोर्‍याएर घटना भएको ठहर गरिएको विभाग स्रोत बताउँछ ।

पुल निर्माणमा भइरहेको यस्तो लापरबाही र बनेका पुलको असुरक्षाका पक्षलाई बेलैमा सम्बोधन नगर्दा वैशाखयता मात्रै १८ वटा पुलहरु क्षतिग्रस्त भएका छन् । सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालकाअनुसार १८ मध्ये १४ वटा सडक विभागसम्बद्ध पुल छन् भने ४ वटा प्रदेश, स्थानीय तह र अन्य विभागले बनाएका पुल हुन् । यी पुल भत्किंदा करीब १ अर्ब २५ करोड नोक्सान भएको छ ।

यो पनि पढ्नुहोसबाढी पहिरोबाट पुलमा पुगेको क्षति अध्ययन गर्न कार्यदल गठन

चितवनको ठिमुरामा २२० मिटर लामो ढलान भइसकेको पुलको ८० मिटर भाग भत्किंदा भएको बदमासीबारे सडक विभाग अहिलेसम्म मौन छ । न छानबिन प्रतिवेदन सार्वजनिक गरिएको छ, न विभागले दोषीमाथि कारबाही गरेको जानकारी गराएको छ ।

पुल भत्किने क्रम बढेपछि फेरि सरकारले कर्मकाण्ड पूरा गर्न विभागको पुल महाशाखा प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।

दोषीलाई दण्डित गर्न चुकिरहेको सरकार पटक-पटक यस्ता घटना दोहोरिरहँदा पनि पुल भाँचिने, बग्ने र क्षति पुग्ने घटनाप्रति गम्भीर देखिएको छैन ।

बन्दाबन्दै पुलहरु खोलाले बगाउने क्रम पछिल्ला दुई वर्षमा अत्याधिक दरले बढेको छ । तर, सडक विभाग, स्थानीय पूर्वाधार विभाग, प्रदेश सरकार र स्थानीय तहरु यस्ता समस्या समाधानमा गम्भीर भएर लागेका छैनन् ।

धनुषा र सिरहा जोड्ने कमला नदीमाथि बनिरहेको करीब २५ करोड लागतको पुल निर्माण सुरु भएको १० वर्षपछि बल्ल-बल्ल बनेको थियो । अन्तिम चरणको काम गर्दानगर्दै गत आसर १७ गतेको सामान्य बाढीमा नै नै पुलको पिल्लर भासियो ।

त्यसको एक दिनपछि उदयपुरको चौदण्डीगढी नगरपालिका- ५ सिवाइस्थित त्रियुगा नदीको पक्की पुल भत्कियो । निर्माणको अन्तिम चरणमा पुगेको पुलको दुई स्पानमा क्षति पुग्यो ।

वर्षामा संवेदनशील काम

असार लागेयता नै यस्ता दर्जनभन्दा बढी घटना भएका छन् । अझै वर्षायामको लामो अवधि बाँकी नै रहेकाले कति निर्माणाधीन र बनिसकेका पुल बग्छन् भन्ने पत्तो छैन । निर्माणाधीन र भर्खरै बनेका पुलहरु भाँचिने, बग्ने घटना बर्सेनि बढ्दै गएका छन् । विज्ञहरु यस्ता घटनालाई पाठका रुपमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिन्छन् ।

पूर्वसिनियिर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय भएका घटनाबाट पाठ सिकेर काम गर्ने परिपाटी नबस्दा समस्या झांगिंदै गएको देख्छन् । उपाध्याय पुलहरु भत्किनुमा एकैखालका कारण नहुने बताउँछन् । पछिल्ला दिनमा बालुवा र माटो थुपारेर त्यसमाथि टेको राख्दै पुलको स्पान ढलान गरिएका कारण बढी जोखिम हुन थालेको उनको अनुभव छ ।

‘पुल ढलान गर्दा फर्माको लागि तलबाट माटो थुपारेर स्काफोल्डिङ गर्ने चलन छ’ उनी भन्छन्, ‘माटो र बालुवा जतिबेला पनि भासिन सक्छ, बाढी आएर जतिबेला पनि बनिरहेको पुल बगाउन सक्छ । अहिले बढी घटना यस्तै अवस्था हुँदैछ ।’ गत हप्ता मकवानपुरको समारी खोलामा बनिरहेको पुल पनि यस्तै अवस्थामा बगेको थियो ।

पुल बनिरहेका समयमा पर्याप्त अनुगमन नगर्ने र भत्किएपछि सबै दोष परामर्शदाता र ठेकेदारलाई लगाएर उम्कने प्रवृत्ति सरकारी निकायमा छ । ठेकेदारले दक्ष जनशक्ति नलगाउँदा पनि यस्तो समस्या दोहोरिने गरेको विज्ञहरु बताउँछन् ।

यो पनि पढ्नुहोसनिर्माण सकिनै लागेको पक्की पुल त्रियुगाको बाढीले बगायो

पुलका लागि अपर्याप्त बजेट र कमजोर डिजाइनमै काम गराउन सरोकारवाला निकायहरु तम्सिंदा पनि दुर्घटना निम्तिने गरेको छ । बजेट नै कम राखेर लागत तयार गरिएको टेन्डरमा ४० प्रतिशतसम्म घटेर ठेक्का लिने प्रचलन थपिरहेको छ ।

पुलमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तरमा पनि समस्या भएको हुनसक्ने पूर्व सिनियर डिभिजनल इन्जिनियर उपाध्याय बताउँछन् । उनका अनुसार नेपालमा निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्ने भरपर्दो प्रयोगशाला नै छैनन् ।

‘समग्र निर्माण सामग्रीको प्रतिनिधित्व गर्ने गरी परीक्षण हुँदैन’, उनी भन्छन् । पुल निर्माणमा ठेकेदार, इन्जिनियर, कामदार र आयोजना समेतले हेलचेक्र्याइँ गर्दा भत्किने घटना बढेको उपाध्यायको भनाइ छ ।

अध्ययन, डिजाइन, निर्माण र सुपरीवेक्षणमा प्रश्न

विज्ञहरु अध्ययन, डिजाइन र निर्माण र सुपरीवेक्षणको बाटोलाई बलियो नबएसम्म कमजोर पुलहरु बन्ने क्रम नरोकिने बताउँछन् । भूगर्भप्रविधि इन्जिनियर भेषराज थापा १०० वर्षमा हुने पानीको बहावको मात्रै हिसाव गरेर पुल डिजाइन गर्दा पनि समस्या देखिएको बताउँछन् । ‘नदीमा सधैं कञ्चन पानी मात्रै बग्दैन, त्यसमा ढुंगो, गिट्टी बालुवा र अरु विभिन्न सामग्री मिसिएर ठूला ठूला बढी पनि आउँछन्’ उनी भन्छन्,’तर, यसलाई ध्यानमा राखेर अध्ययन नहुँदा पनि यस्तो समस्या बढेको हुनसक्छ ।’

उनका अनुसार पहाडी क्षेत्रमा विकासका कामहरु बढेका छन्, मनलाग्दी तवरले ग्रामीण सडकहरु खनिंदैछन् । त्यसबाट निस्किएको माटो र ढुंगा नदीमै आइपुग्ने गर्छ । यस्ता कारणले नदीमा बढेको चापलाई अहिले पुलहरु थेग्न नसकेको हुन सक्ने उनी बताउँछन् ।

अध्ययन गर्दा नदीको पानीको बहाबको यकिन खालका पुरानो तथ्यांक पनि नहुने गर्दा पनि समस्या भएको उनले बताए । पछिल्लो सयममा जलवायु परिवर्तनका कारण मुसलधारे वर्षा हुने क्रम बढेको र त्यसले भूक्षयसहितका विनाश निम्त्याउने गरेकाले त्यसको असर पुलहरुमा परेको थापा बताउँछन् ।

अब सरकारले अध्ययनको सीमालाई बढाएर २०० वर्षमा आउनसक्ने बाढीका आधारमा पुलहरुको निर्माण गर्नुपर्ने उनको मत छ । पानीको बहाव अध्ययनको आधारमा जसरी सिफारिश गरिएको छ, त्यसैगरी पूर्वाधारको डिजाइन र निर्माण नभएमा पनि समस्या आउनसक्ने थापा बताउँछन् ।

नयाँ प्रविधि प्रयोग नगर्ने, गरे पनि विज्ञलाई संलग्न नगराउने प्रवृत्ति ठेकेदारहरुमा छ । भूगर्भको परीक्षण वैज्ञानिक तथ्यमा आधारित भएर नगरिंदा पनि पुलहरु भासिने गरेको विज्ञहरु बताउँछन् ।

सही डिजाइनका पुल निर्माणमा पनि ठेकेदारको लापरवाही भेटिन्छन् । निर्माणको क्रममा हुने ढिलाइ र कमजोर गुणस्तरका सामग्रीको प्रयोगले पनि पुलहरु भत्किने क्रम बढेर गएको छ । निर्माणको समयमा सुपरीवेक्षण नगर्ने, ठेकेदार र परामर्शदातासँगको मिलेमतोमा सही तरिकाले काम नहुँदा पनि माैन बस्ने सरकारी प्रवृत्ति पनि दोषी रहेको उनीहरुको मत छ ।

सरकार र ठेकेदारका आ-आफ्नै तर्क

निर्माण व्यवसायीहरु भने महामारीपछि सिर्जित अप्ठेरो अवस्थाका कारण समयमै काम गर्न नसक्दा बाढीले बनिरहेको पुल बगाउने क्रम बढेको दावी गर्छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह श्रमिकको अभाव, सामानको आपूर्ति र विभिन्न समयमा आएका आँधी र महामारीको कारण वर्षा अगावै गर्नुपर्ने काम नसकिंदा पुहलरु बग्न पुगेको बताउँछन् ।

‘प्रि-स्ट्रेस प्रविधिमा पुल बनाउने क्रम बढेको छ, यस्तो पुल बनाउँदा तलबाट २८ दिनसम्म टेकोले स्ल्याब अड्याएर मात्रै दुवै साइडबाट तार तान्नुपर्छ’ उनी भन्छन्, ‘तर, तार तन्काउन नपाउँदै बाढी आएर यस वर्ष र गत वर्ष धेरै पुल बगायो ।’

उनले भारतबाट आउने सामग्री समयमे आउन नसकेको र देशिभित्र पनि निषेधाज्ञाका कारण आपूर्ति व्यवस्था सहज नभएकाले धेरै घटना हुन पुगेको तर्क गरे ।

उनले कतिपय पुल भने गलत डिजाइनको शिकार भएको हुनसक्ने बताए । कमला र उदयपुरमा बगेको पुलहरुको डिजाइन गर्दा नै नदीको वास्तविक अवस्था नहेरिएको उनको विश्लेषण छ ।

‘कमलामा पूर्वपश्चिम राजमार्गमा ७०० मिटरको पुल छ, तर हुलाकी राजमार्गमा ४७० मिटरमै खुम्च्याएर बनाइएको छ, त्यसले गर्दा पनि पुलले बाढी धानेन कि ?’ उनी भन्छन्,’ मनाङ जाने सडकका पुलहरु बग्नुमा भने अप्रत्यासित खालको वर्षा र नदीको सतह कारण हो, डिजाइन र निर्माण गर्दा खोलामा त्यत्रो बाढी आउला भनेर कल्पनै गरेको छैन ।’

यो पनि पढ्नुहोसबल्ल बल्ल १० वर्षपछि बनेको पुल सामान्य बाढीले भत्कायो

यो वर्ष विगतमा २७/२८ वर्षकै बढी वर्षा भएकाले पनि पुलहरुमा बढी क्षति भएको सिंह बताउँछन् । ‘नदीको बहाव प्रवृत्तिको अध्ययन नगरी हचुवाका भरमा पुल डिजाइन गर्ने कामले पनि समस्या थपेको छ’, उनी भन्छन् ।

सडक विभागका अधिकारीहरु भने नेपालमा नयाँ प्रविधिका पुलहरु बन्न थालेकाले आवश्यक ज्ञान र सावधानी नपुग्दा बीचैमा बग्ने, भाँचिने, भासिने घटना बढेको बताउँछन् ।

‘पहिलेको आरसीसी पुलमा पिल्लरहरुबीचको दूरी २५ मिटर मात्रै हुन्थ्यो, अहिले प्रि स्ट्रेस प्रविधिमा ५५ मिटरसम्मको दूरी राखेर पुल बनाइन्छ’ सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपाल भन्छन्, ‘ठेकेदारले डिजाइन र प्रविधिअनुसार सावधानीपूर्ण र वैज्ञानिक तवरले काम नगर्दा भत्कने समस्या बढेको हो । कतिपय अवस्थामा अनुगमनको पाटो पनि कमजोर भएको हुनसक्छ ।’

विभागले तनहुँको बनिरहेका पुल भाँचिएको घटनाबाट पाठ सिकेर काम गर्ने उनले बताए । उनले भने, ‘नयाँ प्रविधिको पुलको विषयमा विभागकै इन्जिनियर र निर्माण व्यवसायीहरुलाई तालिम पनि आवश्यक देखिएको छ ।’

हुलाकी सडक आयोजना निर्देशनालयका निर्देशक रोहित बिसुराल १०० वर्षका लागि बनाइएका पुलहरु पनि बनिनसक्दै भत्किनुले गुणस्तरमाथि प्रश्न उठिरहेको बताउँछन् । घटनाहरु छानबिन गरेर दोषीलाई कारबाही गर्न विभाग तयार रहेको उनी बताउँछन् ।

‘वर्षौं लगाएर पुल बन्दा स्थानीयहरु कति खुसी भएका हुन्छन्, तर यस्ता घटनाले उनीहरुलाई आघात पुग्छ’, उनी भन्छन् ।

यो पनि पढ्नुस्-

गोरखाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल बाढीले भत्कायो  

मर्स्याङ्दीको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो  

तनहुँको छाब्दी दोभानको पक्की पुल बाढीले बगायो  

निर्माण नसकिंदै भासिएको कमला नदीको पुलको छत पनि झर्‍यो  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक