20210802

नेपाल भन्दा सानो, अबिकसित भनिने देश भुटानले नेपाल लाई दियो गतिलो शिक्षा

 नेपाल भन्दा सानो, अबिकसित भनिने देश भुटानले नेपाल लाई गतिलो शिक्षा दिएको छ । सँघियता सहितको लोकतन्त्र, गणतन्त्र बहाल भनिएको देश नेपाल लाई राजा द्वारा शासित भुटानले नेपाललाई कोरोनाभाइरस विरूद्धको खोप दिन लागेको कुराको अहिले चर्चा छ। भुटानबाट तीन लाख डोज अष्ट्राजेनेका खोप ल्याउन भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले प्रक्रिया अघि बढाइरहेको छ। दूतावासका अनुसार भुटानको राजदूतावासमार्फत् खोप ल्याउने कुराकानी भइरहेको छ। यद्यपि खोप ठ्याक्कै कहिले आइपुग्छ भन्ने यकिन भइसकेको छैन। क्षेत्रफलका हिसाबले नेपालभन्दा सानो र झन्डै साढे सात लाखमात्र जनसंख्या भएको हिमाली मुलुक भुटानले नेपाललाई कसरी खोप दिन लाग्यो भनेर धेरैलाई अचम्म लागेको छ। जुन स्वभाविक पनि हो किनकि भुटान न त आफैं खोप उत्पादन गर्ने मुलुक हो न त विभिन्न कम्पनीबाट खोप किनेर थुपार्न सक्ने धनी र प्रभावशाली देश।

पश्चिम युरोप र उत्तर अमेरिकाका देशहरूलाई विभिन्न कारणले खोप लगाउन हम्मेहम्मे परिरहेका बेला भुटानले आफ्ना खोप लगाउन मिल्ने झन्डै ९५ प्रतिशत मानिसलाई खोप दिइसकेको छ। भुटानले यो खोप आफैं किनेको होइन, मित्र राष्ट्र र विश्व स्वास्थ्य संगठनको कोभ्याक्समार्फत् अनुदानमा पाएको हो। द वासिङ्टन पोस्टका अनुसार भुटानले बुद्ध भिक्षुहरूलाई देखाएर खोप कार्यक्रमको सुरूआत गर्ने दिन छानेको थियो।

भारतले गत जनवरीमा नै भुटानलाई १ लाख ५० हजार डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो। खोप आउनासाथ भुटानले लगाउन सुरू गरेन।  मार्च २६ सम्म कुर्‍यो। उक्त दिन बाँदर वर्षमा जन्मिएकी महिलालाई सोही वर्ष जन्मिएकी नर्सले खोप लगाइदिइन्। कोरोनाविरूद्धको पहिलो खोप लगाउँदा बुद्ध भिक्षुहरूले मन्त्रोच्चारण गरेका थिए। भुटानको स्वास्थ्य मन्त्रालयका अनुसार खोप अभियान सुरू भएको दुई साता नबित्दै १८ देखि १०४ वर्षसम्मका ४ लाख ७२ हजार मानिसलाई खोप लगाइयो।

यो बीचमा भुटानले भारत, अमेरिका र डेनमार्कजस्ता मुलुकबाट अनुदानमा खोप पायो। जुलाई अन्तिम साता भुटानले दोस्रो डोज लगाउन थाल्यो। एक सातामै सबै मानिसहरूलाई खोप लगाएर सकियो। अब भुटानले १२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप लगाइरहेको छ। कोभ्याक्समार्फत् अमेरिकाले भुटानलाई बालबालिकालाई लगाउन मिल्ने ५ लाख डोज मोडेर्ना खोप दिएको छ। भुटानकी स्वास्थ्य मन्त्री देचेन वाङमोले सीएनएनसँगको अन्तर्वार्ताका क्रममा आफ्नो मुलुक खोप अभियानमा सफल हुनुका पछाडि तीन वटा कारण रहेको बताएकी छन्।

थोरै जनसंख्या, नागरिकमा खोपप्रतिको विश्वास र अन्तर्राष्ट्रिय सहयोगले भुटानले सफलता पाएको उनको भनाइ छ। हिमाली मुलुक भएकाले विकट गाउँहरूमा खोप पुर्‍याउनु चुनौतीपूर्ण थियो। खोप अभियानका लागि  २ हजारभन्दा बढी स्वंयसेवीहरू खटाइएको थियो। देसुङ (शान्तिका रक्षक) भनिने उनीहरूले देशका विभिन्न स्थानमा १२ सय वटा खोप केन्द्र व्यवस्थापन गरेका थिए। खोप केन्द्रमा आउन नसक्ने वृद्ध-वृद्धा र अपांगता भएका नागरिकहरूलाई घरघरमै पुगेर खोप लगाउने चाँजोपाँजो मिलाइएको थियो। खोप बोकेर उनीहरू पैदल हिँडेर विकट गाउँसम्म पुगेका थिए।    

अहिले अमेरिकालगायत संसारका कतिपय मुलुकका केही मानिसहरू खोप लगाउन तयार छैनन्। अमेरिकी सरकारले त खोप लगाउनेलाई एक सय डलर दिने योजना नै ल्याएको छ। भारतमा पनि धेरै मानिसले खोप लगाउन आनाकानी गरिरहेका छन्। भुटानले भने यो समस्या भोग्नु परेन। समाचार संस्था एपीका अनुसार खोपप्रति सकारात्मक सन्देश दिन भुटानका राजा नै अरू उच्च अधिकारीहरूसँगै देशव्यापी भ्रमणमा निस्किएका थिए। राजा, प्रधानमन्त्री, डाक्टर र मिडियाले एकैसाथ खोप लगाउनुपर्छ भनेपछि सबै भुटानीहरू खोप लगाउन तयार भएका हुन्। खोप कार्यक्रम सफल हुनुमा अन्तर्राष्ट्रिय समुदायको सहयोगले पनि महत्वपूर्ण भूमिका खेलेको थियो।

युनिसेफले अमेरिकादेखि खोप ल्याउनेदेखि भुटानभित्र त्यसको भण्डारणका लागि पूर्वाधार बनाउन सहयोग गरेको थियो। भुटानले खोप कार्यक्रममा मात्रै होइन कोरोना नियन्त्रणमा पनि उदाहरणीय काम गरेको छ। भुटानमा अहिलेसम्म  २ हजार ५ सय जनालाई मात्र कोरोना संक्रमण भएको छ भने तीमध्ये २ जनाले मात्रै ज्यान गुमाएका छन। सेतोपाटीका अनुसार कोरोनाको संक्रमण रोक्न भुटानले दुई पटक निषेधाज्ञा लगाएको थियो। भारतसँगको सीमा अहिलेसम्म बन्द राखिएको छ भने बाहिरबाट भुटान आउनेले अनिवार्य २१ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम जारी छ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक