20210821

नेपालमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु !

* लकडाउनका विरुद्धमा अस्ट्रेलियाका बिभिन्न शहरमा प्रदर्शन

* अफगानिस्तानका नागरिकलाई आकस्मिक मानवीय सहायताको आवश्यकता औँल्याउदै राष्ट्रसंघ 

* चीनमा तीन सन्तान जन्माउन पाउने व्यवस्था

  नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७ सय ३ जनाको पीसीआर परीक्षणमा १ हजार ४ सय २४

जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ५ हजार ३ सय ७२ जनाको एन्टिजेन परीक्षणमा ६ सय ५१ जनामा संक्रमण देखिएको छ । सोही अवधिमा २ हजार ३ सय ८२ जना संक्रमणमुक्त भएका छन् । होम आइसोलेशनमा ३६ हजार १५ र संस्थागत आइसोलेशनमा ३ हजार ३ सय ६ गरी मूलुकभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय २१ जना रहेको मन्त्रालयले जनाएको छ । विभिन्न अस्पतालका आइसीयुमा ७ सय १८ र भेन्टिलेटरमा १ सय ६६ जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ४ सय ८५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसै बिच कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका विरुद्धमा अस्ट्रेलियाका बिभिन्न शहरमा प्रदर्शन गरिएको छ । सिड्नी मेलबर्न लगायतका शहरमा सरकारद्धारा घोषणा गरिएको लकडाउनको उल्लंघन गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा केही स्थानमा झडप समेत भएको स्थानीय समाचारमाध्यमले जनाएका छन् । न्यु साउथ वेल्स राज्यमा डेल्टा भेरिएन्टका कारण फैलिएको संक्रमणका कारण अवस्था चिन्ताजनक रहेको छ । सो राज्यमा पछिल्लो २४ घण्टामा ८ सय २५ जनामा नयाँ संक्रमण देखिएको छ भने तीनजनाले ज्यान गुमाएका छन् । भाइरस संक्रमण बढेपछि न्यु साउथ वेल्स राज्यमा विगत केही सातादेखि लगाइएको लकडाउनलाई निरन्तरता दिइएको छ भने भिक्टोरियामा लगाईएको लकडाउनलाई बढाइएको छ ।

 न्यु साउथ वेल्सले बढिरहेको संक्रमण रोक्नका लागि यही सोमबारदेखि पश्चिम सिड्नीका केही क्षेत्रमा रात्री समयमा कर्फयु लगाउने निर्णय गरेको छ । समाचारमाध्यमका अनुसार अस्ट्रेलियाका करिब आधा जनसंख्या अहिले लकडाउनमा रहेका छन् । लकडाउनका विरुद्धमा भएको प्रदर्शन असफल बनाउनका लागि न्यु साउथ वेल्समा करिब १५ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । केही साताअघिसम्म अत्यन्तै न्युन संख्यामा रहेको अस्ट्रेलियाको कोरोना भाइरस संक्रमण पछिल्लो समय दैनिक बढिरहेको छ । अहिले सिड्नी, मेलबर्न र राजधानी क्यानबेरामा लकडाउन गरिएको छ भने अन्तरराज्य सीमाना समेत बन्द गरिएको छ । यसका साथै करिब ८० प्रतिशत जनतालाई भाइरसबिरुद्धको खोप समेत यसबर्षको अन्त्यसम्ममा लगाइसक्ने योजना बनाइएको छ । अस्ट्रेलियाले भाइरस बिरुद्धको खोप अनिवार्य नगरेपनि सरकारी अधिकारीले खोप लगाउनका लागि पटक पटक आग्रह गर्दै आएका छन् । 

उता तालिवानले सत्तामा नियन्त्रण लिएपछि अफगानिस्तानका नागरिकलाई आकस्मिक मानवीय सहायताको आवश्यकता औँल्याउदै राष्ट्रसंघले सीमा जोडिएका सबै मुलुकलाई सीमा खुला राख्न आग्रह गरेको छ । सुरक्षित बर्हिगमनको बाटो नहुँदा बहुसंख्यक नागरिक जोखिममा परेकाले सीमा खुला गर्न आग्रह गरिएको राष्ट्रसंघले जनाएको छ । 

पछिल्लो तथ्याङ्क अनुसार राष्ट्रसंघको नेतृत्वमा मात्रै अफगानिस्तानबाट ३ हजार बढी मानिसको उद्धार भइसकेको छ । बेलायत, क्यानडा लगायतका मुलुकले पनि आफ्ना नागरिकको उद्धारलाई तीव्रता दिएका छन् । विद्रोही तालिवानले घर–घरमा गएर सर्च अभियान थालेपछि त्यहाँका सर्वसाधारण आक्रान्त बनेका छन् ।

यता चीनले विद्यमान कानून परिवर्तन गर्दै आफ्ना नागरिकले तीन सन्तान जन्माउन पाउने व्यवस्था गरेको छ । चीनको द नेशनल पिपुल्स कांग्रेसले जन्मदर बढाउने लक्ष्यसहित सन्तानसम्वन्धी नयाँ कानून पारित गरेको बीबीसीले जनाएको छ । 

तोकिएको भन्दा बढी सन्तान जन्माउँदा लाग्ने जरिवाना शुल्क पनि हटाइएको छ । सन् २०१६ मा चीनले एक सन्तान नीतिलाई परिमार्जन गरी दुई सन्तानको नीति ल्याएको थियो । यद्यपी जन्मदरमा उल्लेख्य प्रगति नदेखिएपछि चीनले पुन: अर्को संशोधन गरेको हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक