20210827

नेपालमा यस बर्ष मनसुन सुरु भएयता ८५ जनाको मृत्यु, ४४ जना हराइरहेका, ७० जिल्ला प्रभावित !

 नेपालमा यस बर्ष मनसुन सुरु भएयता (गत जेठ ३१ पछि) मुलुकभर मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु भएको छ । मनसुनजन्य घटनामा परी अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको र हालसम्म पाँच हजार ५ सय भन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिनुभयो । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापनसम्बन्धी बैठकमा विवरण सार्वजनिक गर्नुहुँदै उहाँले अहिलेसम्म विपद्बाट ७० जिल्ला प्रभावित भएको जानकारी दिनुभयो । 

आज मात्रै बाढीबाट ४०० जना प्रभावित भएको र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको र तीनको मृत्यु र तीन जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै १९ घरमा क्षति भएको जनाइएको छ । महाशाखा प्रमुख पाण्डेले बाढी पहिरोका कारण आजै साना ठुला गरेर २९ सडक अवरुद्ध भएको जानकारी दिनुभयो । बाढी पहिराले क्षति पुर्‍याएको ३८ जिल्लामा पुनः निर्माण गर्न रु १ अर्ब ११ करोडभन्दा बढी खर्च लाग्ने अनुमान विपद् व्यवस्थापन शाखाले जनाएको छ । 

देशका विभिन्न स्थानमा लगातारको पहिरो तथा बाढीबाट विभिन्न धनमाल नष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कहाँ कति क्षति ?

ताप्लेजुङ– आठराई त्रिवेणी गाउँपालिका–१ ढाडेस्थित श्री सिंहदेवी आधारभूत विद्यालयमा शुक्रवार बिहान पहिरो जाँदा करिब रु १५ लाख बराबरको विभिन्न धनमाल नष्ट भएको छ ।

कैलाली– चुरे गाउँपालिका–५ काफलगैरा टोलको जमिन भासिँदा २५ घरपरिवार जोखिममा परेका छन् । यस्तै जानकी गाउँपालिका–४का गिर्धरपुर, टावरटोल र वेलपुरका गरी जम्मा ८० घरधुरी र सोही गाउँपालिका–७ का जवलपुर, शङ्करपुर र फरैलाका गरी जम्मा ५८ घरधुरी अविरल वर्षाका कारण आएको बाढीले डुबानमा परेका छन् । डुबान भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट आवश्यक समन्वय एवं उद्धार कार्य भइरहेको छ ।

नवलपरासी (पश्चिम)– तुरिया खोला र झरै खोलामा शुक्रवार आएको बाढीले परासी बजारलगायतका बस्ती तथा सरकारी कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपरासी डुबानमा परेका छन् ।

रुपन्देही– अविरल वर्षाले शुक्रवार आएको बाढीले तिलोत्तमा नगरपालिका–१४ भुडकेपानीमा तीन घर, ओमसतिया गाउँपालिका–१ कोटागाउँमा एक घर, बुटवल उपमहानगरपालिका–१२ सिर्जना टोल बस्ने हरि ढकालको एक घर र कञ्चनगाउँपालिका–३ स्थित १० घरमा क्षति भएको छ ।

यस्तै देवदह नगरपालिका–३ वसन्तपुरस्थित तिलोत्तमा नगरपालिका–८ बस्ने अमृत थापाको यसकेसी बाख्रा फार्म रोहिणी खोलामा आएको बाढीले डुबाउँदा ४३ वटा बाख्रा मरेका छन् ।

कञ्चनपुर–अविरल वर्षाका कारण कृष्णपुर नगरपालिका–५ पवित्रा बस्तीस्थित मोहना नदीमा आएको बाढीले १० घर डुबानमा परेका छन् । यसै गरी सोही नगरपालिका–५ बेलकुण्डी सिविरस्थित मछली नदीमा आएको बाढीले १२ घर डुबान परेका छन् भने सोही नगरपालिका–२ बस्ने यज्ञराज पन्तको महारुद्र भुसा इँटा उद्योगको रु पाँच लाख ४० हजार बराबरको चार कठ्ठा जमिन कटान गरेको छ ।

महोत्तरी– बलवान नगरपालिका–४ तिरधरस्थित रातु खोलामा आएको बाढीले बाँध फुटाई सोही ठाउँस्थित बस्तीमा पस्दा करिब ९०० घरमा क्षति पुगेको छ । पहिरो तथा बाढीबाट प्रभावित क्षेत्रमा नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा उद्धार कार्य गरिरहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक