20210827

काबुल विमानस्थल बाहिर आत्मघाती बम विष्फोट गराइँदा १३ अमेरिकी सहित ९० जनाको मृत्यु, १ सय ५० जनाभन्दा बढी घाइते


 अफगानिस्तान / राजधानी काबुल विमानस्थल बाहिर आत्मघाती बम विष्फोट गराइँदा १३ अमेरिकी सहित ९० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ जना तालिवान सदस्य भएको बताइएको छ । घटनामा १ सय ५० जनाभन्दा बढी घाइते भएको समाचार छ । आक्रमण इस्लामिक स्टेटसँग सम्वद्ध समूहले गराएको बताइएको छ । जिहादिस्टहरुको आक्रमणका बाबजुद पनि अमेरिकी उद्दार कार्य नरोकिने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनु भएको छ ।

जस्तोसुकै कठिन परिस्थिति भएपनि मिसन पूरा पर्ने अवस्था रहेको राष्ट्रपति बाइडनको भनाई छ । गत १५ अगस्टमा तालिवानहरुले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि अमेरिकाले थालेको उद्दार मिसन मार्फत् हालसम्म १ लाख भन्दा बढी मानिसको उद्दार गरिसकिएको छ । तालिवानहरुको त्रासले कयौं अफगानीहरु विमानस्थलमा ओइरिएका छन् । आगामी ३१ अगस्टसम्म अमेरिकाले उद्दार मिसन जारी राख्ने जनाएको छ । बेलायती र अमेरिकी उद्दार मिसनलाई लक्षित गरी दुई वटा बम विष्फोट गराइएको हो । विष्फोटमा बेलायती अधिकारीहरु हताहती भएको पाइएको छैन ।

यसै बिच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले अफगानिस्तानमा जारी अमेरिका नियन्त्रित हवाई उद्दार आगामी अगस्ट ३१ मा सकिएपछि पनि तालिवानले विदेशी तथा अफगानी नागरिकलाई अफगानिस्तान छोड्न दिने प्रतिवद्धता जनाएको बताउनु भएको छ । विदेशमन्त्री ब्लिङ्केनले वासिङ्टन र सहयोगीसँग तालिवानहरु आफैंले गरेको प्रतिवद्धतामा कत्तिको जिम्मेवार छ हेर्नुपर्ने बताउनु भएको छ ।

अफगानिस्तानमा जारी हवाई उद्दार तोकिएकै मितिमा पूरा गर्न अमेरिका प्रयासरत रहेको विदेशमन्त्री ब्लिङ्केनले बताउनु भयो । अझै पनि काबुल विमानस्थल भित्र र बाहिर हजारौं नागरिकहरु उडानको पर्खाइमा रहेका छन् । तालिवानले सत्ता कब्जा गरेको १० दिनको अवधिमा अफगानिस्तानबाट ८२ हजारभन्दा बढीलाई उद्दार गरिसकिएको छ ।

अमेरिकाले पछिल्लो २४ घन्टामा मात्रै १९ हजारभन्दा बढीलाई उद्दार गरेको छ । वेलायत र अन्य देशहरु पनि अफगानिस्तानमा रहेका आफ्ना नागरिकका साथै आफूसँग काम गर्ने अफगानी कर्मचारीको उद्दार गरिरहेका छन् । बेलायतले हिजो मात्रै १२ सय जनाको काबुलबाट उद्दार गरेको छ ।

अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिवान समूहले सोमबार एएफपीसँग बताएको छ । तालिबान एक नेताले भने, “अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनकोे घोषणा नगर्ने निर्णय भएको छ ।” यो भनाइलाई पुष्टि गर्न सोधिएको प्रश्नमा अर्का एक नेताले पनि सोही कुरा बताए ।

काबुल विमानस्थल अस्तव्यस्त रहँदा संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले आगामी हप्ताभन्दा बढी अफगानिस्तानमा आफ्नो उपस्थिति विस्तार गरेमा यसबाट आउने ‘परिणाम’को जिम्मेवार उनीहले लिनुपर्ने तालिबान समूहले बताएको छ । अगस्त ३१ को समय सीमाभन्दा दुई हप्ताअघि सबै फौज देशबाट पूर्णतया हट्न लागेको समय गत साता कट्टर इस्लामवादीहरूले अस्वभाविक गतिमा अफगान भूगोलमाथि विजयको घोषणा गरेपछि पश्चिमी राष्ट्रहरूलाई यसले स्तब्ध पारेको छ ।

विदेशी र अफगानीहरूको हवाई यात्राको व्यवस्थापन भद्रगोल अवस्थामा रहेको र धेरै पश्चिमी राष्ट्रहरूमाथि तालिवानले प्रतिशोध लिने भय अमेरिका तथा यूरोपेली मुलुकहरूले लिएका छन् । त्यसैले बहिर्गमन प्रक्रियाको अन्तिम समयमा हजारौं सिपाहीहरू अफगानिस्तानमा फर्किएका छन् । यसले अफगानिस्तानको सैन्य गठबन्धनमा नेतृत्व गरेको अमेरिकालाई बहिर्गमन प्रक्रियालाई लम्ब्याउन दबाव परिरहेको छ । अहिलेसम्म तालिबानले भने अमेरिकी सेनाको बहिर्गमन प्रक्रियामा सम्झौता गर्न कुनै इच्छा देखाएका छैनन् ।

तालिबान प्रवक्ता सुहेल शहिनले सोमबार स्काई न्युजसँग भने, “यदि अमेरिका वा बेलायतले उद्धार कार्य जारी राख्न थप समय खोज्ने हो यसमा तालिवान सहमत हुने छैन । अर्थात् यसको ‘परिणाम’ को जिम्मेवार उनीहरू नै हुनुपर्नेछ ।”

उता जर्मनी बाट प्राप्त समाचार अनुसार सयेम सादात अफगानिस्तानका पूर्व सञ्चारमन्त्री हुन् । दुई वर्षसम्म मन्त्री पदमा रहेका सादातले सन् २०१८ मा आफ्नो पदबाट राजीनामा दिए र, जर्मनीतर्फ लागे । भविष्यको खोजीमा जर्मनीको पूर्वी सहर लेइपजिगमा पुगेका उनी ‘डेलिभरी ब्वाइ’ को काम गरिरहेका छन् ।



अफगानिस्तानको मन्त्री भइसकेको व्यक्ति ‘डेलिभरी ब्वाइ’ भनेको भन्दै उनले निकै आलोचना पनि सहनु पर्‍यो । तर उनी सबै रोजगारी समान हुने बताउँछन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा ४९ वर्षीय सादातले भने, ‘मलाई यो काम गर्दा कुनै नराम्रो लागेको छैन ।’ ‘मलाई आशा छ, अन्य राजनीतिज्ञले पनि यही बाटो समात्नेछन् । लुकेर बस्नुभन्दा आम नागरिकसँग काम गर्नु बेस् ।’

अहिले अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै त्यहाँको अवस्था पनि अस्तव्यस्त बनेको छ । धेरै मानिस मुलुक छाड्न चाहन्छन् । सादातको परिवार र साथीहरु अफगानिस्तान छाड्न चाहन्छन् । अहिले सञ्चालन भइरहेको उद्धार उडानमा सामेल हुन चाहन्छन् । अमेरिकाले आफगानिस्तानबाट आफ्नो सेना फिर्ता लैजान थालेसँगै यसवर्ष जर्मनीमा पनि आश्रय खोज्ने अफगानिस्तानका शरणार्थी बढेका छन् । जर्मनीको आप्रवासी तथा शरणार्थी कार्यालयको तथ्यांकअनुसार यो संख्या यस वर्ष १३० प्रतिशतले बढेको छ । तर जर्मनीमा आश्रय पाइहाले पनि जिविका चलाउन सहज छैन । त्यसको प्रमाण सादात आफैं हुन् ।

सूचना प्रविधि र दूरसञ्चारमा मास्टर्स डिग्री हासिल गरेका सादातले जर्मनीमा आफूले अध्ययन गरेको विषयमा काम पाउने अपेक्षा गरेका थिए । तर जर्मन भाषा नजानेको कारण काम पाउन कठिन भयो । बेलायती नागरिकता बोकेका उनी अहिले दैनिक चार घण्टाको जर्मन भाषाको कक्षा लिन्छन् । त्यसपछि ६ घण्टा खाना डेलिभरी गर्ने काम गर्छन् ।

त्यसो त उनलाई सुरुवाति दिनमा जर्मनीमा साइकल चलाउन पनि सहज भएन । ‘सुरुआती दिनहरु उत्साहप्रदका साथै निकै कठिन थिए’, सादात भन्छन्, ‘तपाईँ जति धेरै बाहिर जानुहुन्छ, जति धेरै मानिससँग भेट्नुहुन्छ, सिक्ने अवसर पनि त्यति नै धेरै हुन्छ ।’ 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक