20210903

कोरोना भाइरस सङ्क्रमणबाट २४ घण्टामा २३ जनाको निधन, पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी



 काठमाडौं / देशभर आज एक हजार ७५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २४ घण्टामा १४ हजार ३३४ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार छ पुगेको छ । आज दुई हजार २७४ जना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म सात लाख २३ हजार ४५६ जना सङ्क्रमण मुक्त भएका छन् । बिहीबारको तुलनामा निको हुने दर आज पनि बढेको छ । लगातार दुई दिनदेखि सङ्क्रमण मुक्त हुने दर बढेको छ । बुधबार ९४.१ प्रतिशत र बिहीबार ९४.२ प्रतिशत सङ्क्रमण मुक्त हुने दर रहेकामा आज ९४.३ प्रतिशत पुगेको छ ।

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २३ जनाको ज्यान गएको छ । हालसम्म १० हजार ८०९ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६४.३ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ ।

त्यस्तै ५४० सघन उपचारकक्ष (आइसीयू), १५६ भेन्टिलेटर, ३० हजार ६६२ होमआइसोलेशन, दुई हजार ३४४ संस्थागत आइसोलेशन र २७४ जना क्वारेन्टिनमा छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ वटा छन् । आज एक लाख ६४ हजार ३०२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

यसै बिच प्राप्त समाचार अनुसार पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ ।

मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो ।

कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका (तीज)को अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो । कोषको आज बस्ने आन्तरिक बैठकले तीजअघि वा पछि मन्दिर खोल्ने निर्णय गर्ने पनि उहाँले बताउनुभयो ।

पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि बन्द छन् । पशुपतिसँगै यी मन्दिर पनि खुला गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । यसपटक पाँच महिनापछि पशुपतिनाथलगायत यस क्षेत्रका मन्दिर भक्तजनका लागि खुला गर्न लागिएको हो ।

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति क्षेत्र खुला गर्न लागिएको उहाँले सुनाउनुभयो । मन्दिर खुला गरिएपछि पशुपति क्षेत्र प्रवेश गर्ने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ । भक्तजनलाई स्यानिटाइजरको पनि व्यवस्था गरिनेछ । दूरी कायम गरी भक्तजनलाई मूल मन्दिरभित्र प्रवेश गराउने तयारी गरिएको छ ।

विसं २०७६ चैतमा कोरोना महामारी नेपालमा पनि देखिन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । दश महिनापछि २०७७ साल पुस १ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको थियो । सुरुमा दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गरिएको थियो । बिहान ६ देखि अपराह्न २ बजेसम्ममात्र मन्दिर भक्तजनका लागि खुला गरिएको थियो ।

भक्तजनका लागि मन्दिर खुला गरिए पनि विदेशी पर्यटकका लागि भने पशुपति क्षेत्र विसं २०७६ चैतदेखि नै बन्द गरिएको छ । पशुपति क्षेत्रका सबै टिकट काउन्टर पनि त्यसै बेलादेखि बन्द छन् । पर्यटकको टिकटबाट कोषलाई प्राप्त हुने करोडौँ रुपैयाँ उठ्न छाडेको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक