20211019

बेमौसमी बर्षाले नेपालमा धनजनको ठुलो क्षति, धानबाली पनि ठुलो असर, कहाँ कहाँ के के भयो हेर्नुस विवरण !



 बेमौसमी बर्षाले नेपालमा धनजनको ठुलो क्षति भएको मात्रै छैन स्याहार्न लागेको धानबालीलाई पनि ठुलो असर परेको छ । धानबालीमा परेको असर ले किसानहरुको हरिबिजोक हुने सम्भावना पनि देखिएको छ ।  मनसुनी बर्षा सकिएपछि पनि केही दिनयता आएको निरन्तर वर्षका कारण बाढी, डुबान तथा प्राकृतिक विपद्बाट क्षति भोग्नुपरेको अवस्था छ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र र पश्चिमबाट आएको पश्चिमी वायुुको प्रणालीको संयुक्त प्रभाव नेपालमा परेका कारण अहिले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  यसमा पनि पश्चिमी वायुको प्रभाव बढी भएका कारण देशको सुदूरपश्चिममा २४ घण्टामा दुई सय एम.एल. भन्दा बढी अर्थात् अतिवादी वर्षा भएको विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । यो वर्षा एकैचोटी कम नहुने तर भोलि बुधबार अलि कम वर्षा हुने र पर्सि बिहीबार मात्रै मौसममा राम्रोसँग सुधार आउने उहाँले बताउनुभएको छ ।


‘यो वर्ष मनसुन सकिएपछि पनि पानी प¥यो । सबैको हात–हातमा स्मार्ट फोन छ । मौसमको सम्बन्धमा इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिकामा पनि जानकारीहरु आइरहेका हुन्छन् । फेसबुक र टुवीटरमा पनि मौसक विभागले मौसम सम्बन्धि जानकारीहरु अपडेट गरिरहेको हुन्छ ।’, श्रेष्ठ बताउनुहुन्छ । यी विषयमा जानकार हुनसके क्षति न्यूनीकरणमा सघाउ पुग्ने उहाँको भनाई छ ।

 सोमबार विहानैदेखि अस्वभाविक रुपमा देशैभर मनसुन सक्रिय हुँदा परेको पानीका कारण धानबालीमा ठूलो क्षति पुर्याएको छ । एक साता अघिनै मौसम पूर्वनुमान महाशाखाले सूचना जारी गरेपनि किसानले सूचना प्रति चनाखो नहुँदा क्षति वेहुर्नु परेको जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक ऋषिराम शर्माले बताउनुभयो ।

यस वर्ष अस्वभाविक रुपमा पानी पर्दै आएको र अझै पनि केही दिन पानी पर्न सक्ने भन्दै महाशाखाले एक साता अघि सूचना जारी गरेको थियो । जल तथा मौसम विज्ञान विभाग र कृषि तथा पशुपंछी विकास मन्त्रालयले किसानलाई राहत हुने गरी मनसुनको पूर्वसूचना दिँदै आए पनि सूचना प्रति किसानले चासो नदेखाएको शर्माले बताउनुभयो । यसले गर्दा पाकेको धानबालीमा क्षति पुग्यो, यस्तै हो भने भोकमरीको सामाना गर्नु पर्ने पर्ने हुन्छ ।

एक साता अघिको सूचनालाई चासो दिएर काटिएको धान कुन्यौ बनाएर थन्क्याएको भए र काट्न रोकेर एक साता पछि काटेको भए यो क्षति नहुने विज्ञहरुको भनाई छ । प्राकृतिक विपत्ति र मौसममा भएको परिर्वतनका कारण पोष्ट मनसुनको समयमा बाढीनै आउने गरी पानी पर्नु अस्वभाविक हो तर यसबाट वालिनाली बचाउन सकिन्थ्यो, कृषि विभागका सूचना अधिकारी डा.महादेवप्रसाद पौडेलले बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेर कृषि सूचना तथा सञ्चार केन्द्रले किसानका लागि बाली उठाउने र बाली रोप्ने, रोग कीरा लाग्ने , विषादी, औषधि राख्ने जस्ता जानकारी गराउँदै आएको पौडेलले जानकारी दिनुभयो । तर मौसमसँग जोडेर तत्काल किसानलाई सतर्क गराउने काम भने विभागले जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गर्दै आएको उहाँले बताउनुभयो ।

मनसुनी अवधिमा ११५.५ प्रतिशत पानी परेर १० दिन ढिलाइ गरी यस वर्ष असोज २६ गतेदेखि नेपालबाट मनसुन वाहिरिएको थियो । तर मनसुन बाहिरिए पनि बाढीनै आउने गरी वर्षा हुनु मौसम परिर्वतनकै असर भएको मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।

केही वर्ष अघिदेखि वेमौसमी वर्षा हुने अवस्थालाई हेर्दा किसानले मर्का खेप्नु परेको छ । जल तथा मौसम विज्ञान विभागले देशैभरबाट स्टेशन राखेर तीन दिनसम्मको मौसमको पूर्वनुमान र २४ घण्टाको बाढीको पूर्वनुमान गर्दै आएको छ । मनसुन सकेको पनि सोमबारदेखि मात्र २४ घण्टामा कर्णाली, सेती, महाकाली नदीमा १५० मिलिमिटर बर्षा भएको छ । यो वर्षालाई स्वभाविक मान्न नसकिने पौडेलको भनाई छ ।


नेपालमा यस वर्ष अरवियन सागर हुँदै पश्चिमी वायू नेपाल भित्रिएको र पश्चिम बंगाल हुँदै पुर्वीयवायू नेपाल भित्रिएकाले सरदर भन्दा धेरै र भारी बर्षा भएको पौडेलले बताउनुभयो । अझै पनि न्युनचापिय रेखा तिव्वत आसपासमा रहेकाले नेपाल हल्का देखि मध्यम सम्मको पानी पर्ने क्रम रही रहने मौसमविद्हरुले जनाएका छन् । घाम लाग्न थालेपछि किसानले मौसम बारे कुनै ख्याल नराख्ने गरेको भन्दै किसानहरुलाई मनसुनबारे चासो राख्न समेत मनसुनविद्हरुले सुझाव दिएका छन् । दुई दिनदेखि परेको पानीले खेतीपातीसँगै पदयात्रा र पर्वतारोहणमा गएका पर्यटकलाई समेत असर पुर्याएको छ ।


यसै बिच सोमबार रातिबाट महाकालीको बीचमा फसेकाहरुको आज मंगलबार सकुशल उद्धार गरिएको छ । महाकाली बिचमा बाढीमा फसेकालाई हेलिकोप्टरबाट उद्धार गरिने भनिएपनि खराब मौसमका कारण सुर्खेतबाट हेलिकप्टर आउन नसक्दा उद्धारमा ढिलाई भईरहेको थियो । मौसममा सुधार आएसँ गै नेपाली सेनाको हेलिकोप्टरले सकुशल उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिका–९ मसेट्टीका ३५ वर्षीय पुष्कर नायक, ४५ वर्षीय दीर्घमती खड्का, ३२ वर्षीय शान्ती नायक, ९ वर्षीय असोक नायक र ५ वर्षीय अजय नायक सोमवार रातीबाट बाढीमा फसेका थिए । बाढीमा फसेकाहरु रुखमा बसेका थिए । उहाँहरुको उद्धारको लागि सुरक्षाकर्मीको टोली दिउँसो नै मसेट्टी पुगे पनि महाकालीमा पानीको बहाब बढी भएका कारण उद्धार गर्न सकेको थिएन । त्यस पछि हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएको थियो तर मौसम खराबीका कारण सुर्खेतबाट हेलिकप्टर उड्न सकेको थिएन ।


कर्णालीको नदीमा पानीको वहाव खतराको अवस्थामा पुगेपछि कर्णाली नदीको आसपासमा रहेको जानकी गाउँपालिका र टीकापुर नगरपालिका जोखिममा परेको छ । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले कर्णाली नदीको पानी ओभरफ्लो भएर खैरीफाँटा, कटाँसे लगायतका क्षेत्रमा पसेको बताउनुभयो ।

त्यसैगरी कर्णाली नदीमा पानीको सतह खतरामा पुगेपछि रानी जमरा कुलरिया सिँचाई आयोजनाको बाँध फुटाएर नहरमा समेत नदीको पानी पसेको छ । रानी जमरा कुलरिया सिंचाइ आयोजनामा कर्णालीको पानी पसेपछि जानकी गाउँपालिकाका सबै क्षेत्रमा असर पर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।

उहाँले गाउँपालिकाले यस अघिनै तटीय क्षेत्र तथा डुवान क्षेत्रमा रहेका जनतालाई सजगता अप्नाउन तथा सुरक्षित स्थानमा बसोबासका लागि सूचित गरिएको जनाउनुभयो ।

उहाँले भन्नुभयो अहिले पनि पानी ओभरफ्लो भएकै क्षेत्रमा छु, स्थानीय स्रोतसाधनलाई अर्लटमै राखेका छौ , सुरक्षाकर्मीसंग समन्वय गरेका छौ । कर्णाली नदीमा पानीको बहाव खतरामा पुगेपछि जोखिम बढेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जानकी गाउँपालिका, टीकापुर नगरपालिकालाई ‘हाइ अलर्ट’ गरिएको जनाएको छ। ‘ रानीजमरा सिँचाई नहर र शाहिपुरको बाँध फुटेको जानकारी प्राप्त भएको छ , टिकापुर नगरपालिका र जानकी गाउँपालिकालाई कर्णालीको पानी पसेको बारे जानकारी गराइएको छ’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भन्नुभयो ‘ जानकी र टीकापुरमा हाई अलर्टमा राख्दै आवश्यक संयन्त्रलाई समेत तयारी अवस्थामा रहन जानकारी गराइएको छ ।

अहिले कर्णाली नदीमा पानीको सतह निकै खतराजनक अवस्थामा पुगेको समेत उहाँले बताउनुभयो ।

कर्णालीमा अहिले पानीको सतह १२.४५ मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह हो । खतराको तहभन्दा पनि माथि पुगेको हुँदा ठूलो क्षति हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन स्थानीय तहसंग समन्वय भैरहेको समेत सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।

रेडक्रसकर्मि रंगप्रसाद तिमिल्सेना अहिले कर्णाली चिसापनीमै हुनुहुन्छ । उहाँका अनुसार पानीको बहाव बढ्दै गएको छ। गेज रिडर पार्वती गुरुड्डलाई उदृत गर्दै तिमिल्सेनाले ३ बजे सम्म पानीको सतह १२. ६० मिटर पुगेको समेत जानकारी दिनुभयो ।


कर्णाली नदीमा आएको बाढीले टीकापुर नगरपालिका वडा नं ५ शाहीपुरस्थित निर्माणाधीन तटबन्ध भत्किएर नदी गाउँ पसेको छ । मङ्गलबार दिउँसो साढे १२ बजेतिर पसेको बाढीले क्षति पु-याउन सक्ने दक्षिणका गाउँका मानिसलाई माइकिङ गरेर घर छोड्न लगाइएको टीकापुर नगरपालिका वटा नं ५ का वडा सदस्य बलबीर चौधरीले जानकारी दिनुभयो । शाहीपुरका स्थानीय नारायण चौधरीले बोक्न सकिने कागजात र सामान लिएर घर छोडिरहेको र राष्ट्रिय माबि बसन्तामा बस्न लागेको जानकारी दिनुभयो ।

नदी फुटेका कारण दक्षिणका तल्लो शाहीपुर, सिम्रनी, सत्ती, बनगाँऊ, बटनपुर लगायतका बस्ती प्रभावित भैरहेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएर बस्तीबाट मानिसहरु उँचो स्थानतिर सार्न लागेको बताउनुभयो । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले वडा नं २ मूलपानी, वडा नं ५ को मसानघाट लगायतका क्षेत्रमा नदी फुट्न लागेकाले दक्षिणी क्षेत्रका बासिन्दालाई घर छाड्न लगाइएको बताउनुभयो । शाहीपुरमा अघिल्लो महिना पनि नदी गाउँ पस्न थालेपछि बोरामा बालुवा भरेर रोकथाम गरिएको थियो । त्यतिबेला नदीको सतह करिब ९ मिटर मात्रै थियो ।

कर्णाली नदीमा बाढी बढ्दो क्रममा छ । दिउसो २ः३० बजेको मापन अनुसार कर्णाली नदीको जल सतह १२ मिटर ४५ सेन्टिमिटर पुगेको छ भने नदी बढ्दो क्रममा रहेको चिसापानी कर्णालीका गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । कर्णालीमा खतराको तह ११ मिटर मानिन्छ ।

रानी जमरा कुलरिया सिँचाइमा पनि क्षति

अविरल वर्षका कारण चुरेबाट निस्कने खोलामा आएको बाढी र कर्णाली नदीमा आएको बाढीले रानी जमरा कुलरिया आयोजनाका संरचनामा क्षति पु¥याइरहेको छ । चुरेबाट बगेको पानी मूल नहरमा पसेको छ भने कर्णाली नदी पनि केही ठाउँमा नदीमा पसेको स्थानीय शिक्ष मार्कण्डेय उपाध्यायले जानकारी दिनुभयो । जानकी गाउँपालिका वडा नं ९ का वडासचिव प्रेम बुढाले वडाका कटाँसे, पूर्व खैरिफाँट कालिकामन्दिर नजिक र राष्ट्रिय मावि पाताभार नजिक नदी फुटेर नहरमा पसेको जानकारी दिनुभयो । जल प्रवाह बढ्दै गएमा त्यसले जानकी गाउँपालिका वडा नं ९, ६,३ र टीकापुर नगरपालिकाका केही भागमा असर गर्न सक्नेछ ।

चुरेबाट आएका खोलाको पानी रानी जमरा कुलरिया सिँचाइ प्रणालीमा पसेको छ भने अब झरीले खेतमा डुबेको धानमा बाढी पस्ने खतरा छ ।

उता केहि दिनदेखि जारी अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिँदा दूई बालबालिकाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा  धरान उपमहानगरपालिका वडा नम्बर १३ नागेश्वर मार्ग बस्ने निसान राईको ८ वर्षीया छोरी निसु राई र ४ वर्षीया छोरा निहान राईको मृत्यु भएको हो । आज (मंगलबार) दिउँसो १:४५ बजे राईको घरमाथिबाट पहिरो खसेको थियो । राईको टिनको छाना भएको एक तल्ले घर पुरिदा घरभित्र रहेका उहाँका एक छोरा र एक छोरीको मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटि गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे दुईजना बच्चालाई मृत अबस्थामा फेला पारेको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको धरान प्रहरीले जानकारी दिएको छ ।

जुम्लामा भित्र्याउनै लागेको मार्सी धानको खेतमा बाढी आएपछि किसानलाई रुनु र हास्नु भएको छ । जुम्लाको तिला र हिमा नदी छेउ छाउमा पाकेर भित्र्याउनै लागेका मार्सीधााका खेतहरुमा बाढी पसेपछि ठूलो मात्रामा धान क्षति भएको किसानहरुले जनाएका छन् ।

जुम्लाको तातोपानीदेखि पानसय क्षेत्र र कुडारी हँुदै नुवाकोट क्षेत्रमा भारी बर्षा र बाढीले मार्सीधानका कतै खेत त कतै धान डुबाएको स्थानीयले जनाएका छन् । मार्सीधानको उद्गम स्थल मानिने लाछु ज्यूलाको आधा भागमा बाढी आएको र ठूला ठूला काठमा पुलहरु समेत बगाएर ल्याएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार लाक्षु ज्यूलाको बिचैमा बाढी आएर भित्र्याउन लागेको धानमा ठूलो क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार तिला नदि बढेर तातोपानी धारामा समेत आउन थालेको छ ।


तातोपानी गाउँपालिका ४ हाँकु क्षेत्रको ठाँटा ज्यूलोमा ठूलो क्षेति भएको स्थानीय देवीप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नो चारभारी सहित किसानको ५०, ६० भारीको धानको फाँटमा नदी बगिरहेको बताउनुभयो । उहाँका अनुसार हाँकुको नेत्रज्योति माविको प्रांगणमा पानी पसिसकेको छ ।

यता चन्द्यननाथ नगरपालिकाको तलिउम क्षेत्रमा पनि ठूलो बाढी आईरहेको किसान धनरासी भण्डारीले जानकारी दिनुभयो ।

तिला गाउँपालिका ४ का स्थानीय प्रेमबहादुर शाहीका अनुसार अविरल बर्षाले तिला गाउँपालिकाको वडा नम्बर ४ स्थित सापुल्ली, नुवाकोट र रावतवाडामा झण्डै पाँच हजार हेक्टरमा रहेको धानखेती र पुल समेत बगाएको छ ।

लगातारको बर्षाले काटेका मार्सी धान एकातिर खेतमै थन्किएर नष्ट भएका छन भने अर्को तिर मार्सिका फाँटनै बगाए पछि भित्रिन लागेको धानमा ठूलो क्षति भएको छ । यसैगरी सिमी र घास समेत कुहिएको किसानहरुले जनाएका छन् ।

यता सिञ्जा क्षेत्रमा भने टेलिफोन सम्पर्क भएको छैन् । सिञ्जा क्षेत्रमा समेत हिमा नदीको वाहावले ठूला मार्सीधानका फाँटहरु क्षेति हुन सक्ने अनुमान गरिएको छ । यसैगरी तातोपानी ८ स्थित टोप्ला क्षेत्रमा ठूलो बाढी आएको स्थानीयले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी सहितको टोली स्थलतिर ः

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई नेतृत्वको टोली क्षति भएको क्षेत्र तातोपानी र तिला तर्फ लागेको छ । प्रहरी नायव उपरीक्षिक दानबहादुर थापाका अनुसार भारी बर्षाले नाग्म गमगडी राजमार्गको बाटो बन्द भएको छ । प्रनाउ थापाका अनुसार रारालिही क्षेत्रका नदि छेउछाउका बासिन्दालाई नवस्न माईकिङ भईरहको छ ।

प्रजिअ प्रसाईले भारी बर्षा र बाढी बढेकाले नदि र खोलाको छेउछाउ, पुराना भत्किन थालेका घरमा नागरिकलाई नवस्न अनुरोध गर्नुभयो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक