20211016

दुर्घटनै दुर्घटना, मान्छेको ज्यान के भ्यालु !

 हेटौंडा / कुलेखानी काठमाडौँ सडक खण्ड अन्तरगत इन्द्रसरोबर गाउपालिका वडा न २ लामिबगरमा आज दिउँसो करिब ३: ३० बजे काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ न को सुमो जीप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनामा चालकसहित १० जना घाइतेलाइ प्रहरीले उद्धार गरी चार हेटौडा अस्पतालमा, चार काठमाडौँ सानेपाको स्टार हस्पिटलमा र दुइ जना पाटन अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये पाटन अस्पतालमा उपचारको क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। मृतकहरुको अहिलेसम्म सनाखत भइसकेको छैन ।  सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा दुई र शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स. ५ प ८४३४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुवै मोटरसाइकलमा सवार एक÷एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल सवार झापाको शिवसतासी नगरपालिका–६ बस्ने २२ वर्षीय विवेक सापकोटा र स. ५ प ८४३४ नम्बरको मोटरसाइकल सवार झापाको भद्रपुर नगरपालिका–४ बस्ने वर्ष २१ का दयाराम सिंह राजवंशीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । महोत्तरीको मटिहानी नगरपालिका–७ बस्ने ३५ वर्षीय चन्दनकुमार साह गम्भिर घाइते भएका छन् । घाइतेलाई उपचारार्थ विराटनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनु भएको छ ।

यसैगरी शम्भुनाथ नगरपालिका–८ मिलन चोकमा भएको दुर्घटनामा स.२ प ३३३३ नम्बरको मोटरसाइकल पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई पछाडिबाट ना.५ ख ९००० नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो । बसको ठक्करले गम्भिर घाइते मण्डललाई सप्तऋषि अस्पताल लहानमा उपचार हुन नसकेपछि थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको थियो । उपचारको क्रममा मण्डलको मृत्यु भएको प्रनाउ काफ्लेले बताउनुभयो । मोटरसाईकल चालक बलान बिहुल गाउँपालिका–६ रौतहटका ३२ वर्षीय अमरनाथ यादव सामान्य घाइते भएका छन् । दुर्घटनाग्रस्त बस नियन्त्रणमा लिनुका साथै चालक चितवनको माडी नगरपालिका–४ का ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक