20211007

दसैँ–तिहार जस्ता ठूला चाडपर्वका मुखैमा धुरु धुरु रुँदै परदेश जाने नेपालीहरुको लाइन र आँशुले छुँदैन है तिमीहरुलाई ??

 दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैँको पहिलो दिन आज पनि मजदूरीका लागि भारत जाने धेरै भेटियो । कोरोना भाइरस सङ्क्रमणका कारण स्वदेश फर्किएकाहरु चाडपर्वको मुखमा पुनः

रोजगारीका लागि भारत गइरहेका हुन् । कोरोनाको दोस्रो लहर सामान्य बन्दै गएसँगै यहाँबाट मजदूरीका लागि बाहिरिनु बाध्यता रहेको पीडा जानेबाट सुनिन्छ । “दसैँको टीका छाडेर जाने रहर हामीलाई पनि कहाँ थियो र !” बिहीबार बिहान भारतको सिमला जाँदै गरेका डडेल्धुराका राजबहादुर बुढाऐरले भन्नुभयो, “छाक टार्न समस्या भए पनि के दसैँ के तिहार ।”

कोरोना सङ्क्रमण बढ्दा गत चैतमा स्वदेश आएका उहाँले गाउँमा बेरोजगार बस्दा परिवार पाल्न समेत धौधौ भएको बताउनुभयो । राससका अनुसार दसैँ–तिहार भन्दा पनि कोरोना सामान्य बन्दै जाँदा नोकरीका लागि भारत जाने गाउँबाट पलायन हुने क्रम बढिरहेको उहाँको भनाइ छ ।

त्यसैगरी बिहीबार बिहान भारतको हरिद्धार गइरहेका दार्चुलाका केशव जोशीको पनि पीडा उस्तै छ । “दश वर्षभयो हरिद्वारमा काम थालेको हो”, उहाँले भन्नुभयो, “यो वर्ष कोरोनाबाट परिवारका सदस्य बिते, दसैँ नहुने घरमा बसेर के गरौंँ भनेर भारत जाने लागेको हुँ ।” उहाँले परिवारको खर्च र बालबालिकाको पालनपोषण भारतीय नोकरीले नै भइरहेको बताउनुभयो ।

त्यस्तै डोटीका धनादेवी रावतले दसैँ छाडेर जाँदा मन अमिलो भइरहेको बताउनुभयो । “सबैको घरमा आज दसैँको उल्लास सुरु भयो”, उहाँले भन्नुभयो, “गरिबलाई न खुसी नत सुख नै मिल्दो रहेछ ।”

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले घटस्थापनाको दिन यस नाकाबाट एक सयभन्दा बढी नेपाली मजदूरीका लागि भारततर्फ गएको बताउनुभयो । “आउने बढिरहेको भए पनि जाने क्रम दसैँले छेकेको छैन्”, उहाँले भन्नुभयो, “हामीले चाडपर्वका बेला हुने आपाराधिक गतिविधि नियन्त्रणमा पनि सक्रियता बढाएका छौं ।” उहाँले अहिले सीमा नाकामा सुरक्षा जाँचका लागि प्रदेश प्रहरी कार्यालयबाट कुकुरसमेत परिचालन भएको जानकारी दिनुभयो । उहाँका अनुसार विगत एक सप्ताहको तथ्याङ्क हेर्ने हो भने दैनिक रुपमा २५० देखि ५००/६०० सयसम्म नेपाली नागरिक मजदूरीका लागि भारततर्फ जाने गरेका छन् ।

कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट नाकाबाट बुधबार मात्रै ३७० जना रोजगारीका लागि भारतका विभिन्न शहर गएका छन् । “विगतका वर्षहरुमा यो समयमा सीमानाकामा दशैं मनाउन घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो”, उहाँले भन्नुभयो, “यहाँबाट भारतको दिल्ली, देहरादुन, बङ्ग्लोर, पञ्जाव, सिमलालगायतका सहरतर्फ बढी जाने गर्छन् ।” प्रहरीले यात्रुको सहजीकरणका लागि नाकामा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी यहाँको डोकेबजार नाकाबाट पनि दसैँको मुखमा भारत जाने क्रम चलिरहेको छ । डाकेबजारस्थित प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भारत जाने क्रम कम भए पनि नरोकिएको बताउनुभयो । “यो नाकाबाट प्रायः बेलुकीतिर मजदूरीका लागि नेपाली नागरिक भारततर्फ जाने गर्छन्”, उहाँले भन्नुभयो, “बुधबार मात्र एक सय ११ जना रोजगारीका लागि भारततर्फ गएको तथ्याङ्क छ ।”

उहाँले भारतबाट दैनिक ९०० भन्दा बढी नेपाली आइरहेको जानकारी दिनुभयो । “चाडपर्वका बेला भएकाले घर बिदामा आउने बढिरहेका छन्”, उहाँले भन्नुभयो, “अहिले नाकामा आवागमन सहज पारिएको छ ।”

सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो, भारत । गाउँमा रोजगारी नपाइनुले पनि उनीहरु कोरोना भाइरस सङ्क्रमणकै बीच रोजगारीका लागि पुनः भारततर्फ जाने क्रम बढ्दो छ ।

यता काठमाडौंमा बिहीबार बिहान पौने पाँच बजे । राम्ररी उज्यालो नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर चहलपहल बढिसकेको थियो । कोरोना संक्रमण नभएको रिपोर्टमा छाप हान्न यात्रुहरु विमानस्थलको एक नम्बर प्रवेश गेट अगाडि लाइन लागेका थिए ।

त्यही लाइनमा भेटिए खोटाङका मिलन रसाइली । अनलाइन खबरका अनुसार रातो टीकाले निधार रंग्याएका उनको काँधमा दुईवटा खादा र माला थियो, तर अनुहार मलिन थियो । मिलन दशैं शुरु भएको घटस्थापनाको दिन रोजगारीका लागि साउदी अरब उड्दै थिए ।

ठूलो चाडपर्वको मुखैमा विमानस्थलसम्म पुर्‍याउन आएका श्रीमती र छोरी भक्कानिएपछि आफू सम्हालिन नसकेको मिलनले अनलाइनखबरलाई सुनाए । ‘छोरी र श्रीमतीलाई बिदाइ गर्दा मन सम्हाल्न सकिन, के–के भयो भयो,’ मिलनले आँशु पुछ्दै भने ।

सप्तरीको राजगढ गाउँपालिकाका ३८ वर्षीय महेन्द्रप्रसाद यादव पनि त्यही लाइनमा भेटिए । उनको दाहिने हातमा जेब्रा झोला र देब्रे हातमा पासपोर्ट तथा म्यानपावर कम्पनीले दिएको कागज पत्र थियो । मास्कले ढाकेको अनुहारमा उनले निराशा लुकाउन सकेनन् । रेष्टुरेन्टमा काम गर्न विदेश हिँडेका यादवले भने, ‘बाध्यता भयो रहर पटक्कै थिएन ।’

दोलखाका राजन खत्री पनि टीका र माला लगाएर विमानस्थलबाहिर लाइन लागेका थिए । पहिलो पटक विदेश जान लागेका उनी वेल्डिङको कामका लागि साउदी अरब जाँदै थिए । दशैंको मुखैमा देश छोड्नु पर्दा सारै खल्लो लागेको खत्रीले बताए । यहाँ मरिहत्ते गर्दा पनि धेरै कमाइ नभएपछि विदेश जान लागेको उनको भनाइ थियो । ‘परिवार पनि दुःखी छन्, तर भिसा आयो, जानै पर्‍यो,’ राजनले भने ।

सर्लाही धोविनियाका घोष नारायण पनि बिहीबार बिहान साउदी अरब उडे । विमानस्थल छिर्नुअघि उनले साथीहरुसँग फोटो खिचाए । साउदी अरबमा रोड साइटमा काम पाएको घोष नारायणले सुनाए । दशैंको मुखैमा विदेश जान लाग्दा नमज्जा लागे पनि पहिलो पटक भएकाले कताकता रमाइलो पनि लागेको उनले बताए ।

त्रिभुवन विमानस्थलका अनुसार घटस्थापनाको दिन बिहान ९ बजेसम्म मात्रै नेपाली कामदार जाने ५ गन्तव्यमा नेपालबाट जहाज उडेका छन् । बिहान ७ः३० बजेदेखि ९ बजेसम्म नेपाली लिएर कुवेतका लागि जजिरा एयरले दुईवटा, ओमानको राजधानी मस्कटका लागि सलाम एयरको एउटा र यूएईको शारजहाँको लागि एयर अरेबियाको एउटा र दुबईका लागि फ्लाई दुबईले एउटा उडान भरेका छन् ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक