20211105

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारमा गाइने मौलिक देउसी भैलो लोप हुँदै, विकृति भित्रिए !

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारमा गाइने देउसी भैलाको मौलिकता कम हुँदै गएको छ । पछिल्लो समय बढ्दो आधुनिकता र प्रविधिका कारण देउसी भैलोमा मौलिकता हराउँदै जान थालेको हो । बलि राजाले पठाएका प्रसङ्गदेखि घरघरमा लक्ष्मी भित्र्याउनलगायत आर्शिवाद दिँदै घर आँगनमा देउसी भैलो आउँदा तिहारको रौनकता अझैँ थपिन्थ्यो । “हामी त्यसै आएनौँ बलि राजाले पठाएको भैलो रे” भन्दै मादलको तालमा घन्किने देउसीको छुट्टै महत्त्व छ । तर पछिल्लो समय प्रविधिको विकास हुँदै गर्दा मुखले भट्ट्याउँदै मादल र झुर्माको धुनमा गाइने देउसी भैलो हराउन थालेका हुन् । देउसी भैलो संस्कृति बलि राजासँग जोडिएको संस्कृतिविद् डा. तुलसी प्रभास बताउनुहुन्छ । डा. प्रभासले भन्नुभयो, ‘देउसी भैलोको संस्कृति पुराणमा समेत उल्लेख छ । लोक संस्कृतिसँग जोडिएको देउसी भैलो नेपाली संस्कृतिको पर्व गीत हो । ’

तिहार पर्व दाजुभाइ र दिदिबहिनीबीचको आत्मीयता र प्रेमलाई अझै प्रगाढ बनाउने पर्वका रुपमा लिइन्छ । तिहारमा सप्तरङ्गी टिका गाउने, मखमली, सयपत्री पुलको माला लगाइदिने दाजुभाइको दिर्घायूको कामना सहित मिठो मिठो परिकार खुवाएर शिरमा ढाका टोपी उपहार स्वरूप लगाइदिने गरिन्छ । टाढा टाढा भएका दिदीबहिनी, दाजुभाइ एक ठाउँमा जम्मा भई आत्मीयता भाव प्रकट गर्दै मिठा मसिना परिकार खाई मनोरञ्जनको संस्कृति जोडिएको पौराणिक परम्परा रहिआएको मानिन्छ । 

केही वर्षयता डेकमा बजाएर गरिने देउसी भैलोले केही विकृति भित्रिएको भन्दै यसलाई रोक्न सचेत वर्ग लाग्नुपर्ने डा. प्रभासको तर्क छ । डा. प्रभासले भन्नुभयो, ‘केही पालिकाहरूले देउसी भैलो संस्कृति संरक्षणका लागि मुखले गाएर मात्र देउसी भैलो खेल्ने कार्यक्रम पनि ल्याएका छन् । यस्ता खालको अभियान सबैले गर्न सकियो भने विकृति कम हुँदै जान्छ ।’ खराब संस्कृतिलाई सङ्घीय सरकार अर्थात् तिनै तहका सरकारले समेत केही कदम चाल्नुपर्ने डा. प्रभासको भनाई छ । आजभोलि बढ्दो आधुनिकता र प्रविधिको विकाससँगै देउसी भैलो संस्कृतिमा असर गरेको जानकारहरू बताउँछन् । पछिल्लो समय ग्रामीण भेगदेखि बजारसम्म डेक बजाउने, चलचित्र, आधुनिक, पपलगायत हिन्दी गीतबाट देउसी भैलो समूहले मनोरञ्जन दिने गर्छन् । नेपाली संस्कृतिको पर्वगीतहरु मध्ये पर्ने देउसी भैलोले एक आपसमा आत्मीयता र सदभाव कायम गर्छ । - कला राना   


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक