20211105

कोभिडका बिरामीहरूको उपचारका लागि बनाइएको पहिलो खाने औषधिलाई यूकेले गर्‍यो अनुमोदन

 लक्षण देखिने कोभिडका बिरामीहरूको उपचारका लागि बनाइएको पहिलो खाने औषधिलाई यूकेको औषधि नियामक निकायले अनुमोदन गरेको छ।  मोल्न्यूपिरभीर नाम दिइएको औषधि भर्खरै कोभिड देखिएका जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक दिइनेछ। शुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त औषधिले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ। यूकेका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो ओखती "महत्त्वपूर्ण" हुने बताएका छन्।

"हाम्रो देशका लागि आज ऐतिहासिक दिन हो। कोभिड बिरामीको उपचारका लागि घरमै लैजान सकिने एन्टिभाइरललाई अनुमोदन गर्ने यूके विश्वकै पहिलो मुलुक बनेको छ," स्वास्थ्यमन्त्रीले एउटा वक्तव्यमा भनेका छन्। मोल्न्यूपिरभीर अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको पहिलो ओखती हो जसलाई सुईको रूपमा लिनुभन्दा खान सकिनेछ।

BBC का अनुसार कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि नियामक एमएचआरएले जनाएको छ।

"कोभिडको उपचारमा सुईको रूपमा दिनुको साटो खान मिल्ने विश्वमै यो पहिलो पटक अनुमोदन गरिएको एन्टिभाइरल हो," संस्थाकी प्रमुख कार्यकारी जुन रेनले भनिन्। "यो महत्त्वपूर्ण छ किनकि कोभिड गम्भीर अवस्थामा पुग्नुअघि अस्पतालबाहिर पनि यसको प्रयोग गर्न सकिन्छ।"

यूकेले शुरूमा यो वर्षको अन्त्यसम्ममा ४,८०,००० वटा मोल्न्यूपिरभीर औषधि पाउने गरी खरिद सम्झौता गरेको छ। साथै उसले हाल अमेरिकी कम्पनी फाइजरले समेत विकास गर्दै गरेको सोही प्रकृतिको २,५०,००० औषधि पनि खरिद गर्नेछ।

यसैबीच युरोपका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले युरोप फेरि एक पटक कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु बन्न सक्ने चेतावनी दिएका छन्। हान्स क्लूगले भनेका छन्- आगामी तीन महिनाभित्र त्यस क्षेत्रमा थप पाँच लाख मानिसको ज्यान जान सक्छ।

मध्य एशियासमेत समेटिने उक्त क्षेत्रमा गत साता विश्वभरि भएको सङ्क्रमणमध्ये आधा पाइएको र त्यसमध्ये लगभग आधाको निधन भएको पनि उनले बताए। क्लूगले खोप अभियानलाई तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक