20220221

धर्म कर्मकाण्डमा किन सिमित भयो ? हिन्दू धर्म कसरी बचाउने ?

- पण्डित भीमकान्त पन्थी 

अक्सर विदेशमा बस्ने साथीहरूले सोध्ने प्रश्न हो यो मलाई।  जसले विदेश गए; पापड बेले,झापड खाए,ढुङ्गा चपाए र खाडीमा पसिना चुहाए उनले सोध्छन् यो प्रश्न खास गरी।नेपालमा रहेकाहरू मध्ये अक्सर उच्च शिक्षा लिएका र कथित तागाधारीइतर वर्गका युवाहरूले सोध्ने प्रश्न हो यो। यो प्रश्न बरू सनातनी धार्मिक नेतृत्वकै बीचमा छलफलमा आउँदैन किनभने वैश्विक हिन्दू समाज बाइसौँ शताब्दी चुम्दै छ भने हाम्रो हिन्दू धार्मिक नेतृत्व सोह्रौँ शताब्दीमा घुम्दै छ।बास्तबमा धार्मिक नेतृत्वको कभरेजमा  हिन्दू समाज चल्नु पर्ने थियो तर लगभग हजार वर्ष देखि हिन्दू समाज स्वतन्त्र रुपले गतिशील छ।भारतमा हिन्दू धार्मिक नेतृत्वले न मुसलमान आक्रमणबाट हिन्दूहरूलाई  जोगायो न अङ्ग्रेज र अङ्ग्रेजी आक्रमणबाट नै जोगाउन सक्यो।न धर्मान्तरण रोक्न सक्यो न त विदेशी र विधर्मीहरूलाई नै लखेट्न सक्यो।न त धर्म निरपेक्षवादीहरूको ढाड सेक्न सक्यो न त सबै हिन्दूहरूलाई धार्मिक ज्ञान दिन सक्यो।बरू छुट्टै घर बनाएका भाइहरू बौद्ध,जैन,शिख आदिले जनसंगठन दरिलो बनाए तर विशुद्ध वैदिक मार्गमा निम्बार्काचार्य,आद्य जगद्गुरू शंकराचार्य,रामानुजाचार्य,श्रील प्रभुपाद,स्वामी विवेकानन्द आदिले केही प्रयास गरे ता पनि वहाँहरूको प्रयास वहाँहरू सङ्गै धुमिलियो।मानव मात्रलाई स्वीकारेकाले श्रीलप्रभुपादको हरेकृष्ण अभियान र रामकृष्ण मिशनहरू युरोपीयन र अमेरिकन समाजमा त फैलिए तर जन्मजात जातीय जकेडामा जकडिएको एशियामा भने खासै काम गर्न सकेन।अझ दक्षिण एशियाली हिन्दू समाजमा त ठ्याक्कै प्रभाव परेन किनभने यहाँ थोरै मात्र पनि सुधारका कुरा र काम गर्ने हो भने परम्परागत ढर्रावादीहरूको एटम बमले ध्वस्त भइहालिन्छ।यही एटम बमको कारण ९९% हिन्दू समाज स्वच्छन्द,बहिर्मुख छ र स्वधर्म पढ्न नपाएकोले  जान्दैन र हृदयले मान्दैन।जब मान्छेले पढ्नै पाउँदैन तब उसले मान्ने त कुरै हुँदैन।

यहाँकालाई यहीँकैले पढ्न दिएनन् तर बाहिरकाले आएर पढाए।जसको पढे र जे पढे मान्नेले त्यसैको त्यही माने अर्थात धर्म परिवर्तन बढ्यो।धार्मिक शिक्षा नपाएकोले र युगौँ देखि कथित जातीय छुवाछुतमा पिल्सिएर दास मनोवृत्तिमा जीवन गुजार्न विवश हिन्दूहरूले सहजै विदेशी र विधर्मी गुलामी पनि स्वीकारे किनभने हिन्दूलाई कहिल्यै तँ हिन्दू होस् ; तँ मान्छे होस् ; तँ य‍ोग्य छस् ; तँ विद्या,साधना र कर्मले देवता बन्न सक्छस् ; तँ अमर हुन सक्छस् ; तँ भित्र विशाल र अत्युच्च  चेतना शक्ति छ,त्यसलाई जागृत गर् आदि  भनेर सिकाइएन। धर्म पुरै कर्मकाण्डमा सीमित भयो।कर्मकाण्ड अति आवश्यक छ।पूर्वीय सभ्यताको बीउ हो तर यसबाट निरन्तर कमाइ हुने भएकोले ३५०० वर्ष देखि कर्मकाण्डमुखी चिन्तन हाबी भयो अनि यो कर्मकाण्डीय चिन्तनलाई तत्कालीन राज्य सत्ताहरूले पनि संरक्षण गरे र पुस्तौँ आफ्नो वंशमा नै राज्य सत्ता टिकाउन तेरो जात अछुत,तेरो भात अछुत,तेरो पानी अछुत भनेर पुस्तौँ पुस्ता दास मनोवृत्तिमा थिँचिएकोले ९९% हिन्दूहरूमा विदेशी र विधर्मीका विरुद्धमा एकजुट हुने आँट नै पलाएन र आज यो अवस्था आयो।

अब यदि हिन्दू सभ्यता जोगाउनु छ भने हिन्दूत्व जगाउनु आवश्यक छ।हिन्दूत्व नजागी  जोगिँदैन।सबै हिन्दूमा आत्मविश्वास र आत्मनिर्भरता भर्नु छ।धार्मिक क्षेत्रमा पूर्णत: सम्मान र सुरक्षाको ग्यारेन्टी धार्मिक नेतृत्वले विकास गर्न सक्नु पर्दछ।अब कसैको हाड चोखो भन्नु त  कसैको दिसा-पिसाब चोखो भन्नू जस्तै लज्जास्पद कुरा मानिन्छ।कसैको थुक चोखो भनेर आजको मंगल ग्रहमा क्रिकेट खेल्ने सपना देख्ने युवा पुस्ताले पत्याउँदैन। त्यसैले समान धार्मिक शिक्षण र समान धार्मिक साधनाको अवसर को ग्यारेन्टी गर्नाले मात्रै हिन्दूत्व जाग्ला र जोगिएला।

पछिल्लो यही हप्ता मात्रै तीनवटा हिन्दू धार्मिक सँस्थाहरू काठमाण्डुमा खुलेको फेसबुकबाट थाहा पाएँ।उही एउटै व्यक्ति दश ठाउँमा बस्ने हो।यदि हिन्दूत्वको मूल मर्मलाई संबोधन गर्न नसके जति सँस्था खोले पनि काम छैन।मूल मर्म भनेको जातीय पङ्तिभेद हो।यदि यो कुरीतिको जरो काट्ने हो भने सबै हिन्दूलाई धार्मिक शिक्षाको पूर्णत: बिना भेदभाव सहअध्यापन र सहसाधना गराउनु पर्दछ र यदि यसो भएमा शास्त्र रक्षा,गौरक्षा,सनातन धर्म रक्षा स्वत: आइहाल्छन्।आज ९९% हिन्दूलाई वेद,पुराण,उपनिषद आदि के हुन्? त्यहाँ के छ अत्तोपत्तो छैन अनि कसरी हुन्छ हिन्दूत्वको रक्षा?

 नेपालमा धेरै हिन्दू धार्मिक संगठनहरू छन्।केही हिन्दूवादी दलहरू पनि छन्।केही पूँजीपति दानवीरहरूले पूँजी लगानी पनि गरेका छन् तर सबै बालुवामा पानी भएको छ किनभने सबै पात- पात दगुरेका छन्।जरो भनेको जातीय विभेद हो।यो क्यान्सर रहँदा सम्म सनातनी सभ्यता प्रतिक्षण खतरामा छ।यदि यो देशमा दिलबाट काम गर्न खोज्ने कोही धार्मिक संगठन वा अभियन्ता भए तलको काम गर्नुस्।सनातन हिन्दूत्वको रक्षार्थ यदि धन खर्च चाहने दानवीर महानुभावहरूले पनि तलको काममा लगानी गर्नुहोस्।

१)

पहिला कम्तिमा आवश्यक उचित स्थानको व्यवस्था गर्ने र आवश्यक आर्थिक व्यवस्था पहिले  नै गर्ने।यो माग्ने काम बन्द गरौँ र स्वेच्छाले दान दिने माहोल तयार पार्ने।आवश्यक भवन,पानी,बिजुली,खाद्यान्न आदिको भर पर्दो जोहो गरी आवासीय शैक्षिक व्यवस्था गर्ने।

अनि 

२)

हाल  नेपालमा ७७ वटा  जिल्लाहरू छन्।ती सबै  जिल्लाबाट हरेक वर्गबाट १०० -१०० जनाका दरले अनिवार्य ३०% नारी सहभागिता सहित हुने गरी युवाहरू निकालेर कक्षा छ बाट बाह्र सम्मको पढाइ  सहित सनातनी शिक्षा( कम्तिमा सँस्कृतको साधारण ज्ञान र कर्मकाण्ड) दिने।

उपाध्याय बाहुनबाट ---१०० जना

 जैसी बाहुनबाट ----१०० जना

कुमाई बाहुनबाट---१०० जना

ठकुरीबाट----- १०० जना

छेत्रीबाट -----१०० जना

विश्वकर्माबाट---१०० जना

परियारबाट ---१०० जना

नेपालीबाट --- १०० जना

गन्धर्वबाट ---१०० जना

बादीबाट ----१०० जना

मगरबाट---१०० जना

गुरुङबाट---१०० जना

तामाङबाट ---१०० जना

यस्तै गरी पोडे,च्यामे,भङ्गी,तेली,धोबी,चर्मकार,दास आदि जति पनि हिन्दू छौँ सबै वर्गबाट १०० -१०० जनाका दरले इच्छुक युवाहरू निकालेर अङ्ग्रेजी सहित विश्वको वर्तमान सर्वमान्य शिक्षानीति अनुसार सँस्कृत,कर्मकाण्ड र वैदिक दर्शनमा सुयोग्य बनाउने र सबैले थरको ठाउँमा गोत्र वा दीक्षानाम राख्ने व्यवस्था गरी आपसमा जातीय छुवाछुत नगर्ने प्रतिज्ञा गराएर समाजमा छाडिदिने।उनीहरूकै प्रशिक्षणमा नयाँ पिँढी तयार पार्दै पनि जाने र उनीहरूको जीवनवृत्ति र जीवनसुरक्षाको ग्यारेन्टी संगठनले लिने ।यसरी कम्तिमा दश देखि पन्ध्र वर्षमा हिन्दू भित्रका सबै वर्गमा कम्तिमा १०% सनातन स्वधर्म जान्नेहरूको उत्पादन हुने छ अनि सहसाधनाको प्रभावले जातीय छुवाछुत अन्त्य हुने छ र हिन्दूहरूमा एकीकरण भई बलियो एकता आउने छ।बाटो बिराउन बाध्य भएका आफ्ना भाइहरू मात्रै होइन पल्लो गाउँका र अझ पल्लो गाउँका पनि हाम्रैमा आउने छन् र पुरै विश्व नै हिन्दूत्वमा समाहित हुने छ।यदि गर्ने हो भने हुने मेसो यही हो।यता लगाएको लगानी र बगाएका पसिना निरर्थक हुँदैनन्।यदि कसैलाई हिन्दू राष्ट्र बनाउन मन छ,हिन्दूत्व जोगाउन मन छ  अथवा मेरो मातृ सँस्कृति नमरोस् भन्ने चिन्ता छ भने योजना बनाएर यता लाग्नुस्।कसैलाई भगवान्ले  दिनुभएको संपति पवित्र पार्ने इच्छा छ भने पनि लगानी यसैमा गर्नुहोला।🙏

यदि यसरी काम गर्ने हो भने नेपाल,भारतका त के कुरा पुरै विश्व उपनिषदी ज्ञानले आप्लावित हुने छ र महाशिवरात्रिको पावन रात्रिमा एशिया,अमेरिका,युरोप,अफ्रिकामा एकै साथ डमरु- नाद घन्किने छ।कालो-गोरो,उँच-नीच हराउने छ।संसारमा मात्रै रहने छ--- "पूर्ण मानवतामैत्री  वेदनिष्ठ मानव समाज।"

मलाई थाहा छ यो लेख पढे पछि केहीले भन्ने छन् -  "तँ आफैले गर् न !"

 भारद्वाज ऋषि र लियोनार्दो दा भिञ्चीले विमान उडाउने सपना देखे तर विमान बनाउने अन्य हजारौँ व्यक्तिहरू निस्किए।

कम से कम सपना त देख्न दिनुस् मलाई ।अनावश्यक आलोचना गरेर मेरा सपनाहरूको हत्यारा नबन्नुस् कृपया।

*****************

 शिवशिवार्पणमस्तु।।

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵


GO TO HOME PAGE

Go to Home Page 
click on this logo for home page

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक