20220208

कमल थापाले पार्टी छोडेको घोषणा गर्नुभएछ, अरुलाइ त कस्तो लाग्यो कुन्नी ..तर मलाइ खुशी लाग्यो !

- सञ्जय श्रेष्ठ 

यो पत्र आफ्नो पराजय स्विकार गर्न नसक्ने व्यक्तिलाई समर्पित :

  तपाईंको नेतृत्वमा देशैभर २०७० मा अरुजस्तै म पनि काठमाडौको क्षेत्र नम्बर ६ बाट आफ्नो भए नभएको तिसौ लाख खर्च गर्दै महिनौ दिन लगाएर जितिने पक्का नभएपनी मेहनत गरेर चुनाव लडें । चुनाव ताका मलाइ पार्टीकै कतिपयले असहयोग गरेका र चुनावी क्षेत्रमा समेत पार्टीकै केही व्यक्तिहरुले माहोल बिगारेको सम्बन्धमा चुनाव सकिएपछी मैले पनि तपाईंकै हातमा पत्र दिइ त्यस्ता व्यक्तिहरुलाइ उचित कारवाही गरिपाउँ भनेर लेखेको थिएँ , तर तपाईंले पनि त्यो मेरो पत्रलाइ कहिल्यै पनि आवस्यक ठानेर जवाफ दिनुभएन । मैले पार्टी छोडे भनेर पत्र सामाजिक संजालमा लेखिसक्दा पनि तपाईं अथवा तपाइका कुनै पनि सल्लाहकारहरुले मलाइ एउटा फोन गरेर किन कसो भनेर सोध्ने चेष्टा गरेनन् , किनकी सायद म लगायत म जस्तै अरु बलिको बोको "उम्मेदवार " हरुबाट तपाइले पाउने फाइदा पाइसक्नु भएपछी हाम्रो कुनै जरुरत महसुस भएन। 

 हामीले चुनाव लडेर ल्याएको समानुपातिकको २५ सिटमा तपाईंले त्यतिबेला चितै नबुझिने गरि कैयन बसि बसि खानेहरुलाइ  र पार्टीमा कुनै सरोकार समेत नभएकोहरुलाइ सभासद बनाउनुभो ( त्यतिबेला सभासद पद बेचिएको भन्ने समेत हल्ला चलेकै हो ) । त्यतिले नपुगेर आफै समेत गणतन्त्रवादी संघीयताबादीहरुको सरकारमा कहिले उपप्रधानमन्त्री र कहिले परराष्ट्र मन्त्री बन्न पटक पटक जानुभो । अझै आफ्नो पार्टीको एजेन्डालाई कुल्चेर यो संविधानलाई विश्वकै उत्कृष्ट पनि भन्न भ्याउनुभो । 

तपाईले गर्नुभएको पटक पटकको गल्ती र स्वार्थको पराकाष्ठा अनि कुर्सीमोहले गर्दा देश भरीको जनता मात्र हैन , अपितु राप्रपा भित्रकै इमानदार र मेहनती कार्यकर्ताहरु पनि पार्टी प्रवृत्ति प्रती निराश बने । राप्रपाले तपाईंको नेतृत्वमा राजतन्त्र र हिन्दुराज्य पुनर्स्थापना गर्छ भन्ने कुरा जनतालाइ त के , राप्रपाकै कार्यकर्ताहरुलाइ समेत पत्याउन गार्हो हुन थाल्यो। तपाईंकै कुर्सीमोह , पदमोहको कारणले दोस्रो चुनावमा राप्रपा केवल १ सिटमा खुम्चिन पुग्यो । 

भर्खरै सम्पन्न अधिवेशनमा पार्टीको सम्पन्न चुनावले तपाईंका विगत ८ बर्षको गल्ती , कमजोरी र पद लोलुप्ताको परिणाम देखाएको मात्र हो ..तपाई अब नेतृत्व लिन लायक हुनुहुन्न भनेर एना देखाइएको मात्र हो । यो चुनावले अब ५ बर्ष राजेन्द्र लिङ्देनलाई नेतृत्वको जिम्मेवारी दिएको छ र वहाँ त्यसको लागि योग्य हुनुहुन्छ पनि । वहाँको जितसंगै पार्टी भित्र तथा देशैभरी राप्रपाको पक्षमा राम्रो र उत्साहजनक माहोल बनेको छ , जुन तपाइले कथंकदाचित जित्नुभएको भए सम्भव थिएन। वहाँको जितसंगै म जस्ता लाखौं व्यक्तिहरु पार्टी पुनः प्रवेश गरेका छन् र अझै नयाँ प्रवेश गर्नेहरु अनगिन्ती छन् । 

तर, तपाईंले राजेन्द्र लिङ्देनको जित र आफ्नो हार पचाउन सक्नुभएन , राप्रपामा आफ्नो एकाधिकार रहिरहनुपर्छ भन्ने चरित्र उजागर गर्नुभो । तपाईं जस्तो व्यक्तिले निर्मल निवासका केही कर्मचारीले गरेका कार्यहरुलाइ "राजाले गरेका हुन" भनेर हारको भडास पोख्नुभो । त्यही कर्मचारीहरु पहिला आफ्नो पक्षमा हुँदा यस्तो बोली तपाईंको सुनिएको थिएन । चुनाव हारिसकेपछी सामाजिक संजालमा तपाईले पोख्दै आउनुभएको मुर्खतापुर्ण र हास्यास्पद स्टाटसहरु हेरेर म जस्तै लाखौं करोडौंले बनाएको तपाईंको छवि चकनाचुर भयो , तपाईंको हृदयमा भरिएको कुण्ठा सबैले जान्न पाए , तपाइको वास्तविक उचाइ देखे । तपाईंको प्रत्येक लेखले राप्रपा र नयाँ नेतृत्वलाई हैन , स्वयं तपाइलाइ बदनाम गरायो । तपाई अझैपनी त्यही दुइचार आसेपासे बिच घेरिएर आफ्नो बचेको इज्जत प्रतिष्ठा पनि गुमाउँदै जानुभयो र अहिले यो अवस्था आइपुग्यो ।

आज तपाईले पार्टी छोडेको घोषणा गर्नुभएछ । अरुलाइ त कस्तो लाग्यो कुन्नी ..तर मलाइ खुशी लाग्यो। यस्तो हार पचाउन नसक्ने मनस्थिति लिएर पार्टीमा वसिरहन उपयुक्त पनि हुँदैन । सायद तपाई संगै अब अरु पनि केहिले पार्टी छोडेको महान उद्घोष गर्छ्न होला ..त्यो जरुरी पनि छ । सहि र गलत बिच किताकाट हुनैपर्छ । 

पार्टी छोडेर अर्को पार्टी खोल्छु भन्नुभयो भने पनि मलाइ त अचम्म लाग्नेछैन , किनकि यो भन्दा धेरै अचम्म कति देखियो कति । 

 जय देश जय नरेश 

-संजय श्रेष्ठ 

अति साधारण सदस्य 

राप्रपा


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक