20220316

दक्षिण एसियाली मुलुकहरूमा महिला र किशोरीविरुद्धको हिंसा अन्त्यका लागि नयाँ अन्तर्राष्ट्रिय मानकको लागि तत्काल आव्हान गर्ने सहमति

 दक्षिण एसियाली मुलुकहरूमा बढ्दै गइरहेको महिला हिंसा न्यूनीकरणका लागि सामूहिक आवाज र प्रतिबद्धतासहित दुई दिने महिला सम्मेलन ६ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन मार्फत महिला र किशोरीविरुद्धको हिंसा अन्त्यका लागि दक्षिण एसियाली महिला अधिकारकर्मीहरूले विश्वव्यापी सन्धिको समेत आव्हान गरेका छन् । नेपाल, अफगानिस्तान, बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्काका वरिष्ठ महिला अधिकारकर्मीहरू सहभागी दुई दिने सम्मेलनमा महिला र किशोरीविरुद्धको हिंसा अन्त्यका लागि नयाँ अन्तर्राष्ट्रिय मानकको लागि तत्काल आव्हान गर्ने सहमति भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, महिला गैरसरकारी संस्था महासङ्घ लगायतका संस्थाहरूको संयुक्त आयोजनामा हिजोदेखि काठमाडौँमा सुरु भएको दक्षिण एसियाली महिला सम्मेलनको दोस्रो दिन उपस्थित प्रतिनिधिहरूले हिंसालाई सम्बोधन गर्न नयाँ र व्यापक बाध्यकारी मानकलाई तुरुन्तै लागु गर्न दक्षिण एसियाली राष्ट्रका सरकारहरूलाई आह्वान गरेका छन् ।

सम्मेलनले जारी गरेको घोषणापत्रमा महिला र किशोरीविरुद्ध हुने हिंसाको डरलाग्दो प्रभाव र त्यसमा पनि महामारीजस्ता प्रकोपले दक्षिण एसिया र विश्वमा नै असर बढाउने कुरा पहिचान गरिएको छ । सम्मेलन मार्फत मानव अधिकारको उल्लङ्घन र जनस्वास्थ्य सङ्कटको सबैभन्दा गहिरो प्रभाव महिला र किशोरीमा हुने गरेको कुरालाई पनि जोड दिइएको छ । घोषणा पत्रमा दक्षिण एसियाका सरकारहरूले हिंसालाई सम्बोधन गर्न ल्याएको कानुनी प्रावधान र त्यसलाई कार्यान्वयन गर्न बनेका रणनीतिको प्रशंसा गरिएको छ ।

दुई दिने सम्मेलनका वक्ताहरूमा प्रख्यात भारतीय विद्धान, वातावरणविद् र लैङ्गिक अधिकारकर्मी डा. वन्दना शिवा, पूर्व सिड कमिटी सदस्य एवं हेल्प एज ट्रस्टी बङ्गलादेशकी फिर्दोस आरा बेगम, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, युद्ध प्रभावित महिला सङ्घकी संस्थापक एवं अध्यक्ष श्रीलङ्काकी अधिकारकर्मी विशाका धर्मदासा, औरत फाउन्डेसनका बोर्ड सदस्य र लैंगिकविद् पाकिस्तानकी डा.आलिया खान, पूर्व सांसद र अफगानिस्तानकी महिला अधिकारकर्मी फजिया कुफी, एभ्री वमनकी सीईओ लिजा स्यानोन र भारतीय लेखक एवं महिला अधिकारकर्मी मिरा खन्ना रहनुभएको थियो ।- यशोदा अधिकारी


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक