20220315

मैले जनताको सेवा गर्न सकिनँ, त्यसैले अब म चुनाव लड्दिनँ, भन्ने हिम्मत खोइ त ??

 नेपालमा बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । चुनावी अभियान शुरु भएसँगै राजनीतिक दलहरुबीच अर्को दलका नेता कार्यकर्ता भित्र्याउने होडबाजी चलिरहेको छ । विभिन्न जिल्लामा चुनावको मुखमा पार्टी परिवर्तन गर्ने जनप्रतिनिधिहरुले सिद्धान्त वा विचारको राजनीति त्यागेर अवसरको खोजी गरिरहेको देखिन्छ । तर, अरु दलबाट नेता कार्यकर्ता भित्र्याएकै भरमा दल विशेषले चुनावमा फाइदा उठाएको खासै देखिएको छैन ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका नेता कार्यकर्ता चुनावी प्रचारका लागि गाउँगाउँ पुगिसकेका छन् । चुनाव नजिकिंदै जाँदा कतिपय जिल्लामा स्थानीय तहका जनप्रतिनिधिबीच पार्टी परिवर्तनको लहर नै चलेको छ । मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप कुमार बगडिया र उपप्रमुख केशव कुमारी खराल माओवादी केन्द्र छोड्दै नेकपा एमाले प्रवेश गरे । 

रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट र उपाध्यक्ष सुन्दरीमती कुमारीले पनि पार्टी फेरेका छन् । बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीले जनता समाजवादी पार्टी परित्याग गरेका छन् । चुनावको मुखमा दलबदल गर्ने उनीहरु प्रतिनिधि पात्र हुन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले एमाले छाडेर कांग्रेस प्रवेश गर्दै राजनीतिज्ञमा हुने पर्ने गुण कांग्रेसका नेताहरुमा मात्रै भएकाले पार्टी परिवर्तन गरेको बताए ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै एमालेले देशव्यापी रुपमा पार्टीमा अरु दलका नेता/कार्यकर्तालाई प्रवेशको अभियान चलाइरहेको छ । त्यसका लागि एमाले अध्यक्ष ओली देश दौडाहमा छन् । एमालेले ठूलै तामझाम गरेर पर्साको वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीलाई जनता समाजवादी पार्टीबाट आफ्नो दलमा भित्र्याएको छ । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगञ्ज महानगरको प्रमुख बनेका थिए । वीरगञ्ज महानगरका प्रमुख सरावगीले आफू एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तित्वबाट पहिले देखि नै प्रभावित रहेको बताए । जसपामा अहिले पनि जातिवादकै राजनीति भईरहकाले जातिवादको राजनीति गर्ने पार्टी कहिले पनि राष्ट्रिय पार्टी हुन नसक्ने उनको भनाई छ । सरावगी र ओलीबीच केही समययता घनीभूत संवाद चल्दै आएको चर्चा एमाले वृत्तमा छ ।

गत स्थानीय तहको निर्वाचनमा एमालेबाट बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्षमा निर्वाचित कुस्मा चन्द नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । अवसरको खोजीमा दल फेरेको भन्दै बहालवाला जनप्रतिनिधिको आलोचना भइरहेको छ । तर, चुनावमा टिकट पाउनकै लागि आफूले पार्टी परिवर्तन नगरेको चन्दको दाबी छ ।

दल परिवर्तन गर्नेमा तत्कालीन संघीय समाजवादी फोरमबाट रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्षमा निर्वाचित सनोज कुमार यादव पनि पर्छन् । पार्टीकै नेताहरुले आफूलाई असहयोग गरेका कारण अर्को पार्टीमा आएको उनको दाबी छ ।

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी स्थानीय तहको चुनावलाई केन्द्रीत गरेर कम्युनिस्ट दलहरुका नेता/कार्यकर्ता तान्ने दौडमा छ । पहिलो निर्वाचन भएकाले एकीकृत समाजवादीका लागि जीवनमरणको प्रश्न छ यसपटक । तर, अपेक्षा अनुसार नेता/कार्यकर्ता तान्न एकीकृत समाजवादी सफल सफल हुन्छ/हुन्न त्यो भने हेर्न बाँकी छ ।

स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष देखि वडा सदस्य सम्मका जनप्रतिनिधिहरु विभिन्न कारण देखाउँदै पार्टी परित्याग गरी अर्को पार्टी प्रवेश गरिरहेको पाइन्छ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य राजनीतिक सुरक्षा र अवसर खोज्ने बानी भएकाले जनप्रतिनिधिमा पार्टी परिवर्तन गर्ने प्रवृति देखिएको बताउँछन् ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै सबै दलहरु देशव्यापी अभियानमा केन्द्रित छन् र सम्भव भएसम्म तामझाम गरेर अरु दलका नेता कार्यकर्तालाई भित्र्याइरहेका छन् । पार्टीभित्रको असन्तुष्टीको प्रभाव तथा लगातार अवसर नपाउने अनि टिकट सुनिश्चित नभएपछि पार्टी फेर्ने लहर हरेक चुनाव अघि हुने गरेको पाइन्छ । सत्तारुढ दलबीच चुनावी गठबन्धनको चर्चा भइरहँदा पनि पार्टी फेर्ने क्रम भने रोकिएको छैन । विश्लेषक आचार्य पार्टीले टिकट नदिने भएका कारण समेत दल परिवर्तन भइरहेको बताउँछन् ।

पार्टीको विचार वा सिद्धान्त छाडेर पदमा जसरी पनि पुग्ने नेपाली राजनीतिको प्रवृत्ति विगतका चुनावहरुमा जस्तै यो पटक पनि देखिएको हो । तामझाम गरेर पार्टी प्रवेश गराएकै भरमा कुनै दल विशेषले चुनाव जितेको उदाहरण नेपालको हकमा खासै देखिएको छैन । 

जनजीविकाको सवाललाई एजेन्डा बनाउने भन्दा पनि एक–अर्काको आलोचना गरेर वा अर्को पार्टीबाट नेता कार्यकर्ता भित्र्याएर ठूलो दल बन्न सकिन्छ भने सोच भने निर्माण हुँदै गएको हो । त्यसैले राष्ट्रिय पञ्चायतका सदस्य रत्नप्रसाद खरेलले कुनै बेला भने जस्तै मैले जनताको सेवा गर्न सकिनँ, त्यसैले अब म चुनाव लड्दिनँ, भन्ने हिम्मत गर्ने राजनीतिकर्मीको भने अभाव हुँदै गएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक