20220326

नेपाल र चीनबीच विभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर

 
नेपाल र चीनबीच विभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्री डा. नारायण खड्का र चीनका विदेश मन्त्री वाङ यीको उपस्थितिमा नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्रमा नेपालका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि चीनका राजदूत हाउ यान्छीले हस्ताक्षर गर्नुभयो । प्रसारण लाइनको सम्भाव्यता अध्ययन सम्बन्धी समझदारी पत्रमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र राजदूत यान्छीले हस्ताक्षर गर्नुभयो । 

त्यस्तै, कृषि विकास परियोजना सञ्चालन र नेपालबाट घाँस निर्यात गर्ने समझदारी पत्रमा कृषि तथा पशु पन्क्षी विकास मन्त्रालयका सचिव निरु दाहाल पाण्डे र राजदूत यान्छीले हस्ताक्षर गर्नुभयो । यसैगरी, नेपाली उत्पादित सामान चीन निर्यात गर्ने सम्बन्धी लेटर अफ एक्सचेन्जमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे र चीनको वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङले हस्ताक्षर गर्नुभयो । नेपाल चीनबीच रेलको सम्भाव्यता अध्ययन र अरनिको राजमार्ग हस्तान्तरण सम्बन्धी समझदारी पत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र नाथ श्रेष्ठ र चीनको वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङले हस्ताक्षर गर्नुभयो । 

त्यस्तै, कोभिड महामारीमा चीनले उपलब्ध गराएको स्वास्थ्य सामग्री र भ्याक्सिन तथा चिनियाँ स्वास्थ्यकर्मीको टोली बिपी कोइराला क्यान्सर अस्पतालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा स्वास्थ्य मन्त्रालयमा सचिव डा.रोशन पोखरेल र चीनको वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङले हस्ताक्षर गर्नुभयो । यसअघि परराष्ट्र मन्त्री डा.नारायण खड्का र चीनको राज्य परिषद्का सदस्य एवं विदेश मन्त्री वाङ यीबीच नेपाल–चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको थियो ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक