20220321

कठै देशको दुर्दशा : दक्षिण कोरिया जान आन्दोलन

 इलामको फाकफोकथुम गाउँपालिकाबाट दक्षिण कोरियामा मौसमी कामदार लैजाने विषयमा विवाद भएको छ । कामदार छनोट प्रक्रिया नै गलत भएको आरोप लगाउँदै असन्तुष्ट पक्षले आपत्ति जनाएपछि विवाद भएको हो । छनोटमा परेका व्यक्तिहरुको नामावली नै प्रकाशन नगरी चैत ३ र ४ गते पालिकाले केही व्यक्तिलाई मेडिकल गर्न गोप्य रूपमा झापाको विर्तामोड पठाउन थालेपछि आन्दोलन गर्न बाध्य भएको हाङ्सरुम्बा थेगिमले बताउनुभयो । गत पुस २४ गते पालिका र दक्षिण कोरियाको इन्जे काउन्टी र मौसमी ट्रेनीसँग कामदार लैजाने सम्झौता भएको थियो ।

सम्झौतापश्चात् फागुन १६ गतेदेखि २६ गतेसम्म योग्यता पुगेका इच्छुक ३० देखि ४५ वर्षसम्मका नागरिकलाई दरखास्त आह्वानका लागि पालिकाले सूचना प्रकाशन गरेको थियो । आवश्यक प्रक्रिया पूरा नगरी छनोट गरेको जनाउँदै असन्तुष्ट पक्षले विज्ञप्ति जारी गरेर आन्दोलनमा उत्रिएका हुन् ।


पालिकाले मनोमानी ढंगबाट निवेदन लिँदै मेडिकल रिपोर्ट बनाउन आफ्ना मान्छे मात्रै बोलाएको आरोप विज्ञप्तिमार्फत लगाइएको छ । निष्पक्ष र पारदर्शी ढंगले योग्य उम्मेदवार छान्नुपर्ने माग राख्दै पुनः छनोट प्रक्रिया अघि बढाउन र यसभन्दा पहिले गरिएको कार्य खारेज गर्न विज्ञप्तिमा भनिएको छ । स्थानीय दुई दर्जन बढी युवाले हस्ताक्षर गरेको विज्ञप्ति पालिका कार्यालयमा बुझाएका थिए । असन्तुष्ट पक्षले शुक्रबार गाउँपालिकाको केन्द्र आमचोकको प्रशासनिक कार्यालयमा धर्ना, नाराबाजी गरेको थियो ।


पालिकामा ताला लगाउनेसम्म कार्यक्रम बनाएपछि कामदारको मेडिकल लगायत अन्य कार्य स्थगित गरेको र सोमबार कार्यपालिकाको बैठक बसेर समाधान निकाल्ने पालिकाले जनाएको छ । पालिका उपाध्यक्ष सरस्वती राई, प्रमुख प्रशासकीय अधिकृत शिवनाथ यादव र ५ नम्बर वडाका अध्यक्ष हरिप्रसाद दंगालीले सहमतिपत्रमा हस्ताक्षर गरेपछि सोमबारसम्मका लागि आन्दोलन रोकिएको हाङ्सरुम्बाले जनाउनुभएको छ । ६ महिनाका लागि काम गर्न पहिलोपटक १ सय ५ जनालाई कोरिया पठाइन लागेको हो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक