20220325

चिनियाँ विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डल नेपालमा, के के हुँदै छ त्यहाँ ?


 चिनियाँ विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार नेपाल आइपुग्नुभएको छ। तीन दिने भ्रमणका लागि विदेशमन्त्री वाङ भारतको राजधानी नयाँदिल्लीबाट नेपाल आउनुभएको हो। चिनियाँ विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदीलगायतले स्वागत गर्नुभएको छ।

विदेशमन्त्री वाङ अफगानिस्तान, पाकिस्तान र भारत हुँदै काठमाडौं आइपुग्नुभएको हो। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउनुभएको हो।

विमानस्थलबाट उहाँ बत्तीसपुतलीस्थित होटल द्वारिकामा पुग्नुभएको छ। शुक्रबार कुनै औपचारिक कार्यक्रम राखिएको छैन। शनिबार उहाँले भेटघाट गर्नुहुनेछ। शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा चीन–नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। प्रतिनिधिमण्डलको वार्तापछि दुई देशबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चिनियाँ विदेशमन्त्री वाङको प्रतिनिधिमण्डलले भेटवार्ता गर्ने कार्यक्रम छ। शनिबार साँझ नै परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नुहुनेछ। आइतबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट हुनेछ।

शनिबार साँझ पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेतासँग शिष्टाचार भेट हुनेछ। विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधि मण्डलसहित आइतबार बेइजिङ प्रस्थान गर्नुहुने कार्यक्रम छ।

यसै बिच नेपाल सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गरिदिनका लागि जनवादी गणतन्त्र चीनसँग प्रस्ताव गर्ने भएको छ ।

नेपाल भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट यो प्रस्ताव गरिने मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखाका प्रमुख केशवकुमार शर्माले जानकारी दिनुभयो ।

यसैगरी नेपाल र चीनलाई जोड्ने मुख्य सडकको रूपमा रहेको अरनिको राजमार्गलाई विस्तार गरिदिन समेत नेपालले विदेशमन्त्री वाङसमक्ष प्रस्ताव गरिने महाशाखा प्रमुख शर्माले जानकारी दिनुभयो । नेपाल र चीनको सिमाना तातोपानीस्थित मैत्री पुलदेखि काठमाडौँको माइतीघरसम्म रहेको अरनिको राजमार्ग सन् १९६० मा चीन सरकारले निर्माण गरेको हो । नेपाल र चीनबीचको मित्रताको ‘प्रतीक’को रूपमा लिइएको सो रेलमार्गको निर्माण अनुदान सहयोगमा नै गर्न नेपालले चीनलाई आग्रह गर्दै आए पनि सम्भाव्यता अध्ययनका लागि नेपालले अहिलेसम्म औपचारिक प्रस्ताव गरेको थिएन ।

सम्भाव्यता अध्ययन पूूरा भएसँगै प्रस्तावित सो रेल निर्माणको कुल लागत, निर्माणको ‘मोडेल’ लगायतका विषयबारे टुङ्गो लाग्ने महाशाखा प्रमुख शर्माले बताउनुभयो । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा यस रेलमार्गको अध्ययनका लागि दुई मुलुकबीच समझदारी पत्रमा हस्ताक्षरसमेत भएको थियो । भ्रमणकै क्रममा प्रस्तावित उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्ने दुई मुलुकले संयुक्त घोषणासमेत गरेका थिए ।

केरुङ–काठमाडौँ रेल सम्भव

प्रस्तावित सो रेलमार्ग निर्माणका लागि चीनद्वारा यसअघि गरिएको पूर्व सम्भाव्यता (प्रि–फिजिबिलिटी) अध्ययन प्रतिवेदनले उक्त रेलमार्गको निर्माण र सञ्चालन सम्भव रहेको देखाएको छ । चीनले सो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरणसमेत गरेको छ । प्रतिवेदनअनुसार सो रेलमार्गको लम्बाइ करिब ७२ किलोमिटर हुनेछ । अध्ययनअनुसार सो रेलमार्गमा चारवटा स्टेसन प्रस्ताव गरिएको छ; जसमध्ये पहिलो स्टेसन केरुङमा हुनेछ भने काठमाडौँ र केरुङको बीचमा दुईवटा र अन्तिम स्टेसन काठमाडौँ टोखामा हुनेछ ।

केरुङसम्मको अध्ययन सम्पन्न

रेलमार्ग निर्माणका लागि चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपाल रेल आउने हो । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुने विश्वास छ ।

चीनले सिगात्सेदेखि नेपालको सीमा केरुङसम्म रेलमार्ग निर्माणका लागि फिल्ड सर्भे सम्पन्न गरेको रेल विभागले जनाएको छ । केरुङ–सिगात्से भएर नै नेपालमा चीनबाट रेल आउने हो, यस सन्दर्भमा सिगात्से–केरुङमार्गको निर्माण कार्य अगाडि बढ्नु नेपालका लागि सकारात्मक रूपमा लिइएको छ । केरुङ–सिगात्सेको दूूरी ५४० किलोमिटर छ भने प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको दूूरी ७२ किलोमिटर छ । रसुवागढीदेखि केरुङसम्मको दूूरी २५ किलोमिटर छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक