20220420

कम्युनिष्टहरुको द्वेध चरित्र बारम्बार देखिएकोले काँग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने : गगन थापा

 नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताउनु भएको छ । बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनु भएको हो । उहाँले नेपालको राजनीतिमा कम्युनिष्टहरुको द्वेध चरित्र बारम्बार देखिएकोले अहिले काँग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने बताउनु भयो । महामन्त्री थापाले काँग्रेससँग रहेका ३२ लाख मतदाता भन्दा माथि बढाउन नसक्ने सोचाइ राखेर अघि बढ्ने हो भने हरेक पटक नेपाली काँग्रेस कम्युनिष्टहरुसँग डराएर बस्नुपर्ने बाध्यता सिर्जना हुने बताउनु भयो । उहाँले यदी सबै क्षेत्रमा काँग्रेस हार्छ भन्ने सोचाइले अघि बढेमा बारम्बार कम्युनिष्ट पार्टीहरुले तर्साउने बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘मैले नजिकबाट हेर्दै गर्दा नेपालको राजनीतिक पक्षमा नेपालमा कम्युनिष्ट पार्टीहरु एकै पटक मिलेर सरकारमा बसेको पनि देख्यौँ । तुरुन्त नेपाली काँग्रेससँग बसेर सरकार बनाएको पनि देख्यौँ । सरकारमा बस्दा बस्दै आधाले छोडेर गएर अर्को पार्टीसँग मिलेर चुनाव लड्न गएको पनि देख्यौँ । रातारात पार्टी नै बनाएको पनि देख्यौँ । रातारात पार्टी नै तोडेको पनि देख्यौँ । यो सबै कुराबाट मैले बुझेको र मैले हरेको कुरा के हो भने नेपाली काँग्रेस पार्टीसँग ३०/३२ लाख मतदाता छन् । हामी त्यसमा चित्त बुझाउने हो ? त्यसभन्दा हाम्रो मतदाता बढ्दैन भन्ने कुरा ठान्ने हो र हामीले हिम्मत नगर्ने हो भने हामी निरन्तर रुपमा कुनै न कुनै कम्युनिष्ट पार्टीको डरमा हामी बाँचिरहनु पर्ने हुन्छ । हामी अहिले डराउने भयौँ । हामीले सँगै लिएर नहिडे अर्को कम्युनिष्ट पार्टीसँग गएर मिल्ने हो कि भन्ने डरमा भयौँ । यो चुनावसम्ममा यो चुनाव सकिएपछि फेरि ठूलो चुनाव आउँछ । ठूलो चुनावमा झनै तर्साउने भए । मिल्दिउँ, गइदिउँ उता, छोडिदिउँ भन्दा होइन, होइन भन्नुपर्ने भयो । फेरि मिल्ने भयौँ । फेरि मिल्दा चुनाव पनि जितौँला । चुनाव जितेको भोलिपल्ट दिने हो कि होइन भन्ने भए । फेरि हामी डराउने भयौं ।’

महामन्त्री थापाले कुनैपनि ठाउँमा तालमेल गर्ने कि नगर्ने भेर निर्णय गर्ने हक र अधिकार महानगर र उपमहानगरको सम्बन्धमा केन्द्रिय समितिसँग भएको र बाँकी सबै ठाउँको अधिकार, जिल्ला र त्यो भन्दा तलका तहलाई अधिकार दिएको बताउनु भयो । ढिलोचाँडो नेपालका कम्युनिष्टहरू एक हुने भन्दै महामन्त्री थापाले नेपालका सबै कम्युनिष्टहरू एकै ठाउँमा हुँदा पनि एक्लै चुनाव लड्न सक्ने काँग्रेस बनाउने आफ्नो लक्ष्य रहेको बताउनु भयो ।  

यसै बिच  सत्तारुढ दलहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्र मित्रवत प्रतिस्पर्धा गर्ने जनाएका छन् । पाँच दलले बुधबार ६ वटा महानगरपालिका र ११ वटा उप–महानगरपालिकामा भागबण्डा मिलाई जारी गरेको विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आज ६ वटा महानगरपालिका र ११ वटा उप–महानगरपालिकाको भागबण्डा मिलाएका हुन् । 

‘पाँच दलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावना अनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्व सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरिन्छ । साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्ध भित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने समेत समझदारी भयो,’ पाँच दलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक