20220406

किशोरीको हत्यामा संलग्न दुईजना प्रहरीद्वारा सार्वजनिक, उता सर्लाहीमा गोली प्रहार गरी अर्को हत्या

नेपालमा उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया बालिका कविता सुनुवारको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे ट्युसन पढ्न हिँडेकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका-३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल खत्री उनका ठूलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल खत्रीलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

बेलका नगरपालिका-३ स्थित कोशी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत सुनुवारको एउटै कक्षामा पढ्ने मिलनसार साथीको योजनामा बेलका नगरपालिका-३ डंगटोलस्थित बाँस घारीमा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बाँसघारीमा विनोदले लुकाएर ल्याएको बियरको बोतलले कवितालाई पछाडिबाट हिर्काएर ढालेको बयान दिएका छन् । ढलिसकेपछि दुवै जनाले कवितालाई ४० मिटर पर दक्षिणतर्फ घिसार्दै लगेर यशोदा खोला किनारामा पुनः ढुंगाले हिर्काएर मरेपछि लुकाएको प्रहरीले जनाएको छ ।

सरिताले दुई हप्ताअघि नै कवितालाई मार्ने योजना बनाएको प्रहरी समक्ष दिएकी छन् । हत्या भएको दिन बिहान ४ बजेर ५ मिनेटमा सरिताले कवितालाई एसएमएस गरेर विद्यालयमा ट्युसनका लागि बोलाएकी थिइन् । तर, उनी विद्यालय नपुग्दै बाटोमा हत्या गरिएको थियो ।सरिताका ठूलो बुवाका छोरा विनोद एक वर्षदेखि उनकै घरमा बस्दै आएका थिए । विनोदको घर भने भारतको सिक्किम हो । कविताले स्कुलमा आफूलाई होच्याउने गरेकाले मार्ने योजना बनाएको सरिताले बताएकी छन् ।

हत्याको विरोधमा मदन भण्डारी लोकमार्ग बुधबार बिहानैदेखि स्थानीय र विद्यार्थीले अवरुद्ध पारेका थिए । उनीहरूले हत्यारालाई सार्वजनिक गर्नुपर्ने माग राखेका थिए ।इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका निरीक्षक कमाण्डको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । मृतक किशोरीको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घटना स्थलदेखि विद्यालय करिब सात सय मिटर र घर करिब दुई किलोमिटर पर रहेको स्थानीयले बताएका छन् ।

यसै बिच सर्लाही सदरमुकाम मलंगवामा गोली हानेर एक जनाको हत्या गरिएको छ । बुधबार साँझ मलंगवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको थियो ।

गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले महतोमाथि गोली प्रहार गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक