20220510

स्ठानिय निर्वाचन, रोल्पा र सेरोफेरो हेर्दा मैले जे देखें

 - डा. होम थापा 

देशव्यापी निर्बाचन आउन २ दिन पुरै बाकि छ। मेरो जिल्लामा पनि फेसबुकमा प्रचार प्रसार देखिन्छ नै भलै मेरो फेसबुक साथीहरुको सुचिमा उमेद्वार साथीहरु औंलामा गन्ने  संख्यामा मात्र हुनुहुन्छ। प्रचार प्रसारसंग प्रतिस्पर्धा पनि नहुने कुरै भएन। तर त्यो प्रतिस्पर्धा आफुले अबलम्बन गरेको दलको  सिद्दान्त र विचारसंग मेलखाने हुनुपर्छ। स्वस्थ, सौम्य र सौहार्दपूर्ण हुनुपर्छ। प्रतिस्पर्धा वास्तबमा परिबर्तनको निम्ति "भिजन र मिसन" सहितको हुनुपर्छ। पराबर्तनको निम्ति होइन। प्रतिस्पर्धा संबंधित दल या उमेद्वार नेताहरुको सपनाको हो जुन आम जनताको आधारभूत आबश्यकता र सामाजिक अपरिहार्यता संग जोडिने चिज  हो  न कि  त्यो सपना  नितान्त आफ्नो, परिवारको र निश्चित झुण्डको ऐश, अमन  र आराम संग् जोडिने चिज । प्रतिस्पर्धा  दलको सिद्दान्त अनुरुप सम्भावना बोकेको असल व्यक्तित्वहरुको बिचको  हो न कि फगत व्यक्तिहरुको। तसर्थ निर्बाचन

कुनै दल या त्यसको उमेदवाहरुको  सिद्दान्त, बिचार, सपना, ब्यबहार, संकल्प, प्रतिबद्धता, बौद्धिकता, रणनीति, कार्यनीति, योजना, कार्यान्वयनका कसीहरु लगायतको समस्टिगतरुपलाइ जनता माझ सरल रूपमा प्रस्तुत गरि, बुझाई, बिश्वास दिलाउने र  जनताले पनि ती कुराहरु  सुनी, हेरी, देखि, बुझी  आ-आफ्नो बिबेक प्रयोग गरि मत दिई  प्रतिनिधिहरु चयन गर्ने प्रक्रिया हो।  जहा एक बिद्ध्याबारिधि प्राप्त  देखि निरक्षर, प्रधानमन्त्री देखि पियन (कार्यालय सहयोगी ), संखपति देखि रन्कपतिको  मतमा कुनै फरक हुदैन।  सबैको मत भार एउटै हो।  

तसर्थ राजनीति लगानी र नाफा सहितको  पेशा र ब्यबसाय होइन। यो सत्ता प्राप्त गर्ने अवसर र तत्पश्चात सक्तिको दुरुपयोग गर्ने साधन पनि होइन।  न यो जनता , समाज र देशको निम्ति बिसुद्धा सेवा  नै हो।  बरु यो  बहुसंख्यक जनता, समाज र देशकै सपना साकार गर्ने सेवाको एक माध्यम मात्र  हो जहा बर्सौ देखि युगौयुग सम्म सम्बन्धित ठाउ, क्षेत्र र देश र  जनताको सपनाको साकारको निम्ति उ  र उसको कामको चर्चा र सुकीर्ति  हुन्छ र  जनजनको मन र  मस्तिस्कमा उसले मृत्युन्जयको पद प्राप्त गर्छ।

      तर बिडम्बना यसको ठिक १८० डिग्रीमा मेरो देशको  राजनीति छ। जहा मेरो जिल्ला झन अछुतो रहने कुरै भएन।कुनै बेला राजनीति र परिबर्तनको नामले अत्यन्तै चर्चित र सर्बाधिक चियोचर्चो गरिने मेरो  जिल्लाको निर्बाचनको तौर तरिका भने अझ बिकृत छ। भोज भतेर भब्यरुपमा चलेकै छ। देउसी भैलोको शैली श्रृङखलाबद्धरुपमा चलेको र प्रवृत्ति दोहोरीएकै छ। दलहरु मध्य  कसैलाई साख जोगाउनु छ कसैलाई उकास्नु छ। कसैलाई सजिब र सकृयता देखाउनुछ। कसैलाई सतहमा देखिनु छ। जसरी हुन्छ प्राबिधिकरुपमा बिजयश्री प्राप्त गर्नु छ। अनि उमेदवारहरुको लागि  राजनीतिलाई मुनाफा सहितको व्यापारिक पेशा बनाउनु छ। हामी बहुसंख्यक दुखी रोल्पालीको सपना बेच्नु छ। आफु र आफ्नो परिवार देखि झुण्ड, धन देखि डन, नाता देखि गाता, चुरिया देखि फरियाहरुको बिगबिगी बढाउनु छ। बहुसंख्यक रोल्पालीहरुलाई रोजीरोटीको लागि देशका विभिन्न कुना देखि संसारका विभिन्न देशसम्म अझ बिस्थापित गराउनु छ।  अधिकाम्स बुढाबुढी, केटाकेटी र महिलाहरुमाथी राज गरिरहनु छ। जनता र सामाजलाई अझ परनिर्भर बनाउनु छ । सनातन संस्कार र संस्कृति बिस्थापन गराउनु छ।गुणस्तरीय शिक्षाको क्षय गराउनु छ। अपराध बढाउनु छ। धनी र गरिबको खाडल अझ गहिरो र चौडा बनाउनु छ। समस्तमा समाज अझ क्षत बिक्षत  बनाउनु छ।

    आज जसरि पनि जित्ने पर्ने मनोविज्ञान संबंधित पात्रहरुमा मात्र सिमित भएन।  प्रवृतिमा झाङ्गिदोपन  छ।  सत्तासंग सक्ति मात्र आर्जन होइन सम्पति कमाउने तिब्र अभिलाषा छ। जित्ने अबस्थामा आफू नत्र अरुलाई बलिको बोका बनाउएर आफुले हरेक किसिमको फाइदा लिने बिकृत मनोबिज्ञान छ। बिचार सुन्य, जनाधार नभएका तर चरम सामन्ती चाकरी र फेसबूके राजनीतीको नाममा आफ्नो स्वार्थ सिद्ध गर्नेहरुको बिगबिगि उस्तै छ। कसैलाई स्थानिय सत्तामा आएर मासिक दसौ लाख रुपैया देखि करोडौंको सम्पती संरक्षण गर्नु छ। कसैलाई लागेका ऋणहरु तिर्नु छ र अझ बढी आर्जन गर्नु छ। र सक्तीको दुरुपयोग गर्नुछ। कसैलाई सक्तिको आड र अनुचित दबाब र प्रभाबमा आफ्नो स्वार्थ सिद्ध गर्नु छ। किनकि यी सबै कुरा सत्तामा आउनाबितिक्कै  विभिन्न उपभोक्ता समिती गठन देखि सरकारि छाप, आफ्नो ओहोदा  र दस्त्खतहरुमा रहेको भन्नेकुरा उनिहरुलाई राम्रोसङ्ग  भेउ  छ। 

गणतन्त्र स्थापना पश्चातको पहिलो स्थानीय निर्वाचनमा पनि देशको अन्य भागमा झैं रोल्पामा पनि निर्वाचन विचार, सिद्धान्त, नीति ,कार्यक्रम, कार्ययोजना तथा लोकतान्त्रिक आदर्शको मात्र नभएर पैसा,भोजभतेर,लोभ,प्रलोभन, डर, धाक  त्रास र धम्कि आदिको प्रयोग नभएको होइन ।तत्कालिन यथास्थितिबाद्लाई  परिवर्तन गर्दै नयाँ युगको स्थापना गर्न शंखघोष गर्ने केन्द्रको रूपमा रहेको रोल्पामा पहिलो स्थानीय  निर्वाचन नै त्यो रूपमा हुनु एकातिर आश्चर्य तथा बिश्मयको बिषय थियो भने अर्को तिर वैचारिक रूपमा स्खलनउन्मुखको नमुना । निर्वाचन पश्चात पनि रोल्पा र रोल्पालीका सामुदायिक तथा सामाजिक अपरिहार्यता र आधारभूत समस्या समाधान तर्फ लाग्नुको साटो थोरै जनप्रतिनिधिहरु बाहेक अत्यधिक  जनप्रतिनीधिहरू सिद्दान्त, विचार  र आदर्शलाई लुङ्गरी र  माडी खोलामा सेलाउदै निकृस्ट स्वार्थ  तथा स्व-वर्ग उत्थानमा लागेको घाम जत्तिकै छर्लंगै छ ।आफुलाई भोट दिने सार्वभौम जनता सिटामोल समेत  खान नपाएर छटपटाउदा, बिद्ध्यालय  तथा स्वास्थचौकीहरू लथालिङ्ग भताभुङ्गको अबस्थामा  हुदासमेत जनप्रतिनीधिहरू लाखौं लाख खर्चेर आआफ्नो कार्यालय र कोठाहरुको सिंगारपटार गरेको र सुविधा सम्पन्न बिदेशी गाडी समेत किनेर लाजलाई नै लज्जीत बनाएका दृस्तान्तहरु जनताको नाङ्गो आखाले नदेखेका  होइनन।  निश्चित आदर्श, सपना,  मूल्य र मान्यताका निम्ति संघर्ष गरेको सहयोद्धाहरुलाइ  विदेशी गाडीमा हुईकिदै गर्दा  धुलोले धुलाम्य बनाएको पनि भोग्नेले आफै नभोगेको र देख्नेहरुले नदेखेको  होइन ।केही जनप्रतिनीधिले त झनै गाडीले मात्र नपुगेर मोटर साईकल र घोडा समेत राख्न पनि पछि नपरेका होइनन। मोटर साईकलको ड्राईबर राख्नु पनि सामान्य भएकै हो। स्थानीय निकायहरु  जनताको समस्या समाधान गर्दै सेवा दिने निकाय हुनु पर्नेमा,ठेक्का पट्टा मिलाउने ,उपभोक्ता समिति ब्यबस्थापन गर्ने र बिचौलियाको भूमिका निर्वाह गर्ने निकायको रूपमा प्रस्तुत हुनु लाजको बिषय मात्र  नभएर घिनको बिषय पनि नभएको होइन। वास्तबमा जिल्लामा गएको स्थानीय  निकायको बजेटलाई सही एवं ब्यबस्थित तवरले परिचालन गरेको भए पक्कै पनि रोल्पा र रोल्पालीको भविष्यको मजबुत जग हाल्न सकिन्थ्यो।तर विडम्वना जग त् मुट्ठीभर जनप्रतिनीधि,दलाल तथा बिचौलियाहरूको घरको हालियो।धेरै जनप्रतिनीधिहरुले आफन्त  या आफ्ना बिचौलिया मार्फत डोजर/स्काईभेटर किनेर बिकास बजेट परिचलान  गरेको रोल्पालीहरूलाई राम्रोसंग थाहा छ। ओहदाको आडमा उपलव्ध बजेटलाई अनुत्पादक तवरले खर्चदै सुकिला मुकिला भएर सस्तो लोकपृयताका निम्ति फेसबुकको पेज रङ्गाउनु जनप्रतिनीधिहरूको दिन चर्या नै बन्यो।कतिपय जनप्रतिनीधि रक्सी पिएर कार्यालयमै आउने र सुत्ने समेत गरेको देखीजान्ने साक्षी  आजपनि गवाह दिन तयार छ्न। कोहि कार्यालय समयमा नै तास खेल्न  उद्घत भए । अझ कति जनप्रतिनीधि त् हप्तौसम्म  सरकारी निवासमै गुप्तबास पनि  बसे।  स्थानिय सत्ता तथा राजनैतिक संरक्षणको बलमा सुदखोरी गरेर लाखौ कमाउदै सोझा जनताको घरबार सकेको पनि प्रस्ट छ। ।लघुवित्त लगायतका नाममा जथाभावि अनुत्पादक क्षेत्रमा ॠण प्रवाह गर्दा केहि  रोल्पाली दिदी-बहिनीहरूको अनाहकमा  ज्यान गयो।जनसेवक बनेर गाउँ बस्तिहरूमा सेवाभावले जानु पर्नेमा जनप्रतिनीधिहरू आसन ग्रहणको रोलक्रम र मर्यादाक्रमको ढोंङ र भुलभुलैयामा रमाएर रमिता देखाउन पनि पछि परेनन् । यी समस्तको परिणाम भारतको कालापाहाड तथा काठमाडौ लगायत शहरका गल्ली गल्ली,देखि   ईटाभट्टा,बार र रेस्टुरा , लगायतका ठाउँ अनि खाडी मलेशिया लगायतका देशहरुमा  पलयान हुन रोल्पाली विवशै भयौ  र छन् पनि। पुरै देशमस झै रेमिटेन्स बिनाको  रोल्पा कल्पना गर्न सकिँदैन। यो बारेम अहिले यहाँ केही नलेखौ। बर्ग उत्थान र समन्वयको सपना सुनेका, बोकेका र कल्पना गरेका रोल्पालीको वर्ग उधोगमन, बर्गअन्तर र बर्गपतन  हुदै आएको छ। तर दलाल ,बिचौलिया तथा परजीवीनेताहरूको भने उच्च ज्यामितिय रूपमा वर्ग उत्थान भयो। पछिल्लो यो नबवर्ग उत्थानले रोल्पा अब मात्र राजनैतिक पर्यटनको थलो बन्दै नव उच्च वर्गिय नेताहरू आफु अनुकूल शहर सरे र सर्दै छन्। स्मरण रहोस धेरै त्यस्ता नेता जनप्रतिनीधिहरू रोल्पा बस्ने छैनन्। राजनैतिक फाईदा हुन्जेलसम्म  रोल्पा जाने वा बस्ने या रोल्पालाई  राजनैतिक पर्यटनको रुपमा प्रबर्धन गर्न पर्यटन ब्राण्ड एम्बेसडरको भूमिका निर्बाह गर्ने, राजनैतिक फाइदा सिद्धिन सक्ने सम्भावना हुने आभास हुनाबितिक्कै रोल्पालाइ मरेको  मान्छेलाई जूम्राले छोडे झै  यिनले चटक्कै छोड्ने छन। यिनका सन्तानहरु झन  त्यहा जाने बस्ने नै  छैनन्। बिशेष गरि काठमाण्डौ या अन्य शहरमा अनुपयुक्त बनेर आफ्ना अलिकति सक्षम सन्तान  संसारका कुनै न कुनै बिकशित देशमा "सेटल" गरिहाल्ने छन्  । अर्को शब्दमा भन्दा  यिनका सन्तानले रोल्पामा बसेर कुनै राजनीतिक कार्यमा संग्लग्न हुने छैनन्। वलिदानीको रगत पसिना सुक्न नपाउदै यस्तो हुनुमा हामि रोल्पाली जनताको मात्र दोष नभएर भौतिकताप्रति अति लालायित  तमोगुणयुक्त  स्वार्थी नेताहरूको दोष हो भन्नेमा किञ्चित  शंका छैन।त्यसैले त हिजो अभावमा आस्थाको भाबना र उर्जाले चुनौतिका शृंखलाहरुको पहाडहरु  चिर्दै कम्युन स्थापना गर्नेहरूको कम्युनको आधारभूत आधार नै स्वार्थको तह र भौतिकताको मोह र  तामझामले उडायो। विचारका निम्ति जिल्ला सदरमुकाम तथा राजधानी लगायत स्थानहरूमा बिबिध कारणले अस्थायीरुपमा  विस्थापित भएर पनि सद्भाव बचाउनेहरूको सद्भाव सकियो। अब  विचार सिद्धान्त फगत सत्ताको नदी तर्ने डुङ्गा जस्तै भयो। एक मात्र "मिसन"भनेको  सम्पति , पद, पैसा र त्यसबाट ढोगी आर्जित प्रतिष्ठा राख्नेमा सिमित भयो। यिनै चिजहरुप्रति आसक्ति र प्राप्तिका कारण अहिलेको स्थानिय निर्वाचन रस्साकस्सी, छिनाझम्टी र लुछाचुडीको महान पर्व बन्यो र बनेको छ। यो निर्वाचन बस्तुगतरुपमा  भन्दा बिगतका काम उपलब्धि, कमि कमजोरी लगायतलाई आधार बनाउदै भविष्यका खाका तथा योजना,विचार, सिद्धान्त, आदर्श,नैतिकता, ईमान,व्यक्तित्व  लगायतका कुराहरुको केस्राकेस्रा विश्लेषण, संस्लेषण र समिक्षा गरि उमेदवार छनोटको समय  देखि आजसम्म भरपुर प्रयोग गर्नुपर्थ्यो । अफसोच त्यसो गरिएन या गर्ने जागर गरिएन  या  अहंकार , दम्भ र उन्मादको प्रवृतिले त्यसो गर्न दिएन। अनि बिगत ५ बर्षमा भए गरिएका काम तथा उपलब्धिहरूको बस्तुगत अथवा जनताले अपोरक्ष या परोक्षरुपमा अनुभूत  गरेका तथ्यांक  प्रस्तुत गरिनु पर्नेमा यो वडाको यो टोलबाट यति भोट र उ वडाबाट यति भोट पाउछौं भन्दै, हचुवामा आधारित तथ्यांक   भट्टाउदै जनतालाई भ्रमित पारिदै छ। यो यो क्षेत्रमा यो यो काम गरेर रोजगार मूलक तथा उत्पादन मूलक बिकास गरेर नयाँ रोल्पा बनाउछु  भनि कार्यान्वयनको कसी सहित योजनाहरु  प्रस्तुत गर्नु पर्नेमा भन्नु पर्नेमा यो यो र  उ उ गरिनेछ /निशुल्क गरिने छ भन्दै  प्रलोभनको ललीपप बाडिदै छ।यस्तो किन भयो गम्भीर समीक्षाको प्रसं छ।  समग्रमा यो निर्वाचनमा पनि  स्पस्ट नीति,कार्यक्रम, सिद्धान्त, विचार तथा आदर्श र कार्यान्वयनका कसिहरुको अभाब छ भने  जालझेल ,प्रपञ्च,झुट,स्वार्थ तथा पद पैसा प्राप्तिको प्रचुरता र चतुरताले घपक्क ढाकेको छ।


निचोडमा भन्नु पर्दा यो स्थानीय  निर्वाचनले पनि हिजोकै परिपाटीलाई निरन्तरता दिने कुरामा कुनै द्विविधा र शंका छैन। तर जनप्रतिनिधि र उनको कार्यलाई अनुगमन र मुल्यांकन गर्न वडा देखि पालिकास्तरिय सम्म कुनै प्रभावशाली संयन्त्र र कुनै   न कुनै नाम र  रुपको समिति/संयन्त्र  गठन गरेमा  र  त्यो संयन्त्र/समितिमा उही पुरानै पात्र र प्रवृति नदोहोरिए र नदोहोर्यामा  बिगतका मनशायपुर्ण र लापरबाहीपूर्ण काम गर्ने तौर तरिकामा केहि सुधार हुन् सक्छ। हो समय  गतिशिल छ। यहि गतिशिलता कै कारण यसले परिबर्तन पनि संगै बोकेर आउछ। अनि  परिवर्तन जहिले पनि वर्तमानकै गर्भबाट जन्मन्छ अनि बिधमान विकृतिकै गर्भको बिचबाट परिवर्तनको सुवास र सुकृतिको बिउ अंकुरीत हुन्छ।जगतको या प्रकृतिको शाश्वत नियम यही हो।यसै कारण बिगतको निर्वाचनमा भन्दा अहिले भोज भतेर खानेहरूको संख्या घटेको छ। जिल्लाभर ठूला ठूला "मेस""मा लामो लामो लाईनमा लाग्ने चुनावी भोज भतेर टोल टोलमा सिमित भएको छ। टोल छिमेकमा पनि सापेक्षरुपमा  थोरैको उपस्थिति देखिन्छ।धेरै मान्छेहरू चुनावी भोज भतेर खान जान लाज मान्न थालेका छन्।चुनाव प्रचारमा हिड्नेको  हुल अहिले घटेको छ।प्रचारमा हिड्नेहरू अपवाद बाहेक  हिजो झैं त्यति आक्रामक देखिएका छैनन् । हिजो जिल्लामा धेरै होटेलहरू चुनावी होटेल बनेर लाखौं लाख "फ्रीमा" भात मिसु जाँड रक्सी बियर खुवाईएको थियो।बियरले समेत जुठो हात धोएको देख्ने दुखि रोल्पाली  आश्चर्य चकित भएर जिब्रो टोकेका  घटनाहरु यो चोटी बाहिर आउन सकेको छैन। आज फ्रीका होटेलहरू नेता बस्ने निवासको रुपमा  मात्र भएका  सुनिएका  छन्। हो यही र यिनै हुन परिवर्तनका संकेतहरु । यही बिचबाट आज गुमनाम बन्दै मुटु मिचेर साचिकै गाईजात्रा हेर्न विवश गाउँघर समाज जिल्ला देश प्रेमी युवा परिवर्तनको मशाल बोकेर कुनै दिन निस्कने छन्।विकृति विरूद्धका एक एक आवाजहरू संगठित बन्दै जाने छन्। यिनै आवाजहरू भोलि रोल्पालीका सच्चा आवाजहरू हुने छन्।  ठोकुवा गरेर भन्न सकिन्छ अब ५ बर्ष पश्चातको रोल्पामा चुनाव यस्तो हुने छैन। अहिलेसम्मको परिवेश र यथार्थतालाई केलाउदा,विचार र  सिद्धान्त आदि भन्ने  कुरा जिब्रो, ओठ र मुखमा मात्र सिमित भए।मन र मस्तिस्कमा यिनको अनुपथितिले हाम्रो सपना स्वाहा पार्यो।  तर यहि "स्वाहा"लाइ बारम्बारको  होम यज्ञमा जप्दा अग्निलाइ बिबस बनाएझै  बिबश बनाउन रोल्पाली एकदिन सक्षम हुनेछन नै। हो निश्चितरुपमा  मतदाताको  अगाडी पनि बिकल्प आज निकै सिमित छन्।तसर्थ भोज भतेर ,भात,मासु,जाँड,रक्सी, लोभ,प्रलोभन, त्रास तथा स्वार्थमा नआई उपलब्धहरू मध्य तुलनात्मक रूपमा ईमान्दार, नैतिकताले ओजिलो जोशिलो, जनमुखी,जनसेवी,पारदर्शी तथा बिकासप्रेमी उम्मेदवारलाई मतदान गरौं।कम्तिमा विवेकको प्रयोग गरेर भोलि पछुताउनबाट बचौं।



*******

परिवर्तन चाहिएको छैन भने यिनै पौराणिक पार्टीहरुलाई भोट गरौं, आफुहरुको मात्र होइन आफ्ना सन्ततिहरुको भबिस्य पनि बर्बाद पारौं

यही बैशाख ३० गते हुने स्ठानिय निर्वाचनमा सोंच बिचार गरेर, योग्य, इमान्दार उम्मेदवारलाई भोट दिउँ, भ्रस्ट बेइमानलाई होइन । नत्र त्यसको सजायँ भोग्ने हामी आफै हो है ! परिवर्तन तपाईं हामीबाटै सम्भब छ । परिवर्तन यसै मतदान बाटै सम्भब छ । होइन परिवर्तन चाहिएको छैन भने यिनै पौराणिक पार्टीहरुलाई भोट गरौं, आफुहरुको  मात्र होइन आफ्ना सन्ततिहरुको भबिस्य पनि बर्बाद पारौं । आगे तपाईंहरुकै जो मर्जी !  

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक