20220519

गुल्मीका सबै पालिकाको नतिजा सार्वजनिक, प्रमुख पदमा काँग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो भए !

 गुल्मी ? स्थानीय तह सदस्य निर्वाचन –२०७९ अन्तरगत गुल्मीका सबै पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअनुसार प्रमुख पदमा काँग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो भएका छन् । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका रहेको गुल्मीमा काँग्रेसले पाँच, माओवादीले केन्द्रले चार र एमालेले तीन पालिकामा प्रमुख एवम अध्यक्ष पदमा जित हाँसिल गरेका छन् । उप–मेयर÷उपाध्यक्ष पदमा भने काँग्रेस चार, एमालेले छ र माओवादी केन्द्रले एक पालिका जितेका छन् ।

पाँच पालिकामा काँग्रेस विजयी

जिल्लाको रेसुङ्गा नगरपालिकामा मेयर, उप–मेयर एवम् गुल्मीदरबार र इस्मा गाउँपालिकामा प्रमुख र उप–प्रमुख दुवै पद काँग्रेसले जित्यो । रेसुङ्गामा काँग्रेसका जिल्ला सभापति समेत रहेका खिलध्वज पन्थी मेयर एवम् अमृता देवी कुँवर उप–मेयरमा विजयी भए । गुल्मीदरबार गाउँपालिकामा सरोज कुमार थापा अध्यक्ष र तारा थापा उपाध्यक्षमा विजयी भए । त्यस्तै इस्मा गाउँपालिकामा भगत खड्का अध्यक्ष र पार्वती कुँवर उपाध्यक्षमा निर्वाचित भए । ०७४ मा रेसुङ्गा र इस्मा दुवैमा प्रमुख, उप–प्रमुख पदमा एमालेले जितेको थियो । काँग्रेसले थप दुई गाउँपालिकामा उपाध्यक्ष जितेको छ । काँग्रेसको तर्फबाट मालिकामा उपेन्द्र अर्याल एवम् चन्द्रकोटमा विष्णु प्रसाद भण्डारी उपाध्यक्षमा निर्वाचित भए । काँग्रेसले उपाध्यक्ष मात्रै जितेका दुई पालिकामा पनि ०७४ को निर्वाचनमा एमालेले जितेको थियो ।

एमाले तीनमा प्रमुख र छ मा उप–प्रमुख

नेकपा एमालेले जिल्लाका तीन पालिकामा अध्यक्ष/उपाध्यक्ष एवम् दुई पालिकामा उपाध्यक्ष जितेको छ । एमालेको तर्फबाट मुसिकोट नगरपालिकामा जीवन खरेल मेयर र गंगा श्रेष्ठ उप–मेयरमा निर्वाचित भए । छत्रकोट गाउँपालिकामा अध्यक्ष रामप्रसाद पाण्डे र उपाध्यक्ष सावित्रा ज्ञवाली एवम् सत्यवती गाउँपालिकाको अध्यक्षमा टिकाराम पाण्डे र उपाध्यक्षमा सावित्रा ज्ञवाली निर्वाचित भएका छन् । उपाध्यक्षमा धुर्कोटमा सीता गिरी, रुरुक्षेत्रमा मीनादेवी गौतम र मदानेमा सरिता खड्का पनि एमालेबाटै निर्वाचित भएका छन् । उल्लेखित पालिकामध्ये ०७४ को निर्वाचनमा सत्यवतीको अध्यक्ष र धुर्कोटको उपाध्यक्ष पदमा काँग्रेसले जितेको थियो ।

माओवादी केन्द्रका चार अध्यक्ष र एक उपाध्यक्ष

०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले धुर्कोट गाउँपालिकामा मात्र प्रमुख पदमा जित हाँसिल गरेको थियो । अन्य ११ पालिकामा माओवादीका तर्फबाट उपाध्यक्ष समेत थिएनन् । मदाने, मालिका, मुसिकोट, इस्मा, गुल्मीदरबार, छत्रकोट, रेसुङ्गा लगायतका पालिकामा माओवादीका तर्फबाट एउटा पनि प्रतिनिधि थिएनन् । तर अहिले गठबन्धन बनाएर माओवादीले बिरासत फर्काएको छ । माओवादीले चार पालिका अध्यक्ष र एक पालिका उपाध्यक्ष जितेको छ । भने नौ पालिकामा आफ्नो पार्टीको प्रधिनिधित्व गराएको छ ।

माओवादी केन्द्रको तर्फबाट धुर्कोट गाउँपालिकामा भुपाल पोखरेल, मालिका गाउँपालिकामा देविराम अर्याल, चन्द्रकोट गाउँपालिकामा युवराज केसी र रुरुक्षेत्र गाउँपालिकामा यदु ज्ञवाली अध्यक्षमा विजयी भएका छन् । कालिगण्डकी गाउँपालिकाको उपाध्यक्षमा मन्जु दर्लामी माओवादीकै तर्फबाट निर्वाचित भइन् । ०७४ को निर्वाचनमा मालिका र रुरुक्षेत्रमा एमाले एवम् चन्द्रकोटमा काँग्रेसले अध्यक्ष जितेको थियो ।

वडामा पनि काँग्रेस बलियो

०७४ मा एमालेले जितेको अधिकाशं वडा अहिले पाँच दलीय गठबन्धनले जितेको छ । जसमा सबैभन्दा धेरै काँग्रेसलाई फाइदा पुगेको छ । गत निर्वाचनमा एउटा मात्रै वडा जितेको इस्मामा अहिले चारवटा वडा काँग्रेसले जितेको छ । जिल्लामा अहिले काँग्रेसले ४६, एमालेले ३८, माओवादीले ७, जनमोर्चाले एक र एउटा वडामा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको छ ।

कहाँ कसको गठबन्धन ?

केन्द्रले सत्तागठबन्धनबीच मात्रै स्थानीय तहमा चुनावी गठबन्धन गर्ने भनेपनि जिल्लामा त्यसको पूर्ण कार्यान्वयन भएन । धुर्कोटमा एमाले र माओवादी एवम् काँग्रेस र समाजवादीको गठबन्धन भएको थियो । कालिगण्डकीमा एमाले र माओवादी एवम् काँग्रेस र जनमोर्चाबीच तालमेल भएको थियो । रुरुक्षेत्र, सत्यवती, चन्द्रकोट, छत्रकोट, गुल्मीदरबार, इस्मा, मदाने, मालिका र मुसिकोटमा पाँच दलीय गठबन्धन भएको थियो । गठबन्धनमा निर्वाचन जित्नको लागि एक दलले अर्को दलको चुनाव चिह्न समेत प्रयोग गरेका थिए । - हुमाकान्त पोखरेल/ राजधानी   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक