20220509

हँस्यौली, ठट्यौली, उखान टुक्कामा माहिर एमाले अध्यक्ष ओली !

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली श्रुतिमधुर वक्ता हुन् । हँस्यौली, ठट्यौली, उखान टुक्कामा माहिर उनीबाट श्रोता र दर्शकले पनि केही–केही रमाइला कुरा सुन्न पाइन्छ भनेर अपेक्षा पनि गर्छन् । सुनाउनेमात्र हाेइन आजकाल उनी कतिपय नेताहरूकाे क्यारिकेचर गरेर पनि देखाउँछन् । प्रस्तुत छ, ओलीका केही चुनावकेन्द्रित उट्पट्याङहरूः 

१. हाम्रा घरका बिरालाहरू अहिले शेरबहादुरजीका भान्छामा छन् । 

२. बिरालाे किन्नु पर्दैन, जसले ठूलाे कचाैरामा दूधभात राख्दिन्छ; उनीहरू उतै लाग्छन् । हामीले चाह्याैं भने एकसातामा गठबन्धन भत्किन्छ । 

३. शेरबहादुर देउवाले कांग्रेसका नेता कार्यकर्तालाई पाेहाेर पनि ढाँट्याै आमा, यसपालि नि ढाँट्याै जस्ताे गरे। छोरीले चुनाव जिते प्रचण्ड उत्साहीत भएर २० वर्ष गठबन्धन टिकाउने रे ! अब २० वर्षसम्म छोरी, ज्वाइँ, भाइ बाेकेर हिंड्नुपरेपछी के होला कांग्रेस कार्यकर्ताकाे हालत ? उनीहरूप्रति मेरो सहानुभूति छ ।

४. प्रचण्डलाई ‘तथास्तु !’ भन्दा सिंह बनेर मैलाई झम्टन खोजेपछि ‘पुनः मूषकः भव’ भन्नुपर्‍यो । 

५. शेरबहादुरजीका लागि ४–५ हजार रुपैयाँ वृद्धभत्ता ठूलो कुरा होइन भनेर लिनुभएन होला तर उहाँले विवेक प्रयोग गर्नुहुन्छ र भोटचाहिं एमालेमै हाल्नुहुन्छ । 

६. एउटा स्याल झुक्किएर नीलो  रङले भरिएको भाँडामा परेछ र पुरै नीलो भएर निस्केछ । जङ्गलमा नौलो नीलो रङको स्याल देखेर अरु स्यालहरू चकित परेछन् । उसले पनि फूर्ति लाउँदो रहेछ, म त राजा हुँ राजा, तिमीहरू जस्तो होइन । सबै अचम्मित भए, स्याल हो भनौं, फरक रङको छ, फूर्ति पनि लाउँछ । त्यसपछि यसकाे जाँच गर्नुपर्‍याे भनेर अरु स्यालहरू मिलेर मुन्टो मास्तिर तानेर हुँऊँऊँ गरेर कराएछन्, त्यो हुइँया सुनेर, नीलो स्याल पनि हुँऊँऊँ गरेर कराउन लागेछ । अनि देखिएन त फरक । योचाहिं मैले प्रचण्डलाई भनेको । 

७. कथंकदाचित श्रीमान् मन परेन भने पनि श्रीमतीले गहना फुकालेर जिम्मा लगाएर मात्र छाड्ने चलन हुन्छ, माधव नेपाललाई हामीले लाइदिएको झुम्के बुलाकी फुकालेर जानुपर्दैन ? 

८. माधव नेपालको नाम लिएँ अब एकछिनपछि कुल्ला गर्छु ।  

९. गठबन्धनमा विभिन्न आकारप्रकारका पूर्वप्रधानमन्त्री छन्, तर काम गर्ने ढंग छैन । 

१०. यो सरकार बालुवाको मूला जस्तो हो, जरा–सरा केही छैन । हल्लाउनु पनि पर्दैन, पुक्लुक्क उखेलिन्छ । हामी यसलाई तान्ने दिन खाेजिरहेका छाैं, यिनीहरू भागिरहेका छन् । 

११. चिम्पान्जी जब युवा हुन्छ, बलको उन्मादले भीड्नका लागि आउ भन्दै ड्याम, ड्याम, ड्याम छाति पिट्छ । बलको उन्मादले त्यस्तो हुन्छ, भीड्न अर्काे चिम्पान्जी भेट्याे भने भिडीहाल्छ । अहिलेका कतिपय माननीय मन्त्रीहरू पनि त्यस्तै छन् ।

१२. यो गठबन्धनलाई चुनावमा पानी मुनि गएपनि छाडिँदैन । संसारभरका ज्योतिषलाई सोधे हुन्छ, एक वर्ष पनि छैन यो सरकारको आयु । 

१३. चुनावमा कांग्रेसले औंला समात्न दिएन भने के हाल होला भनेर रोएर बसेका छन् कोही–कोही । 

१४.  कांग्रेसका कार्यकर्तालाई प्रकाश सपूतको गीत जस्तो 'पीर बिसाउने ठाँवै पाइँन' भन्ने जस्ताे भएको छ । कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी नै सिध्याउन लागे ।

१५. खोला बढ्दा मानिसहरू एकले अर्कोको हात समातेर धेरैजसो किनारा र छेउतिर बसेर क्रमशः शुरुका मानिसले खोलाको गहिराई नाप्दै क्रमशः अघि बढेर अर्को किनारामा पुग्छन् । त्यसो गर्दा खोलो ठूलो रहेछ र खोलामा हेलिएको मान्छे बग्यो भने पनि किनारातिर बस्नेले तान्ने हुन्छ । अहिले निर्वाचनमा गठबन्धन त्यसैगरी खोलो तर्न खोज्दैछन् । तर चुनावमा यिनीहरू एमालेरूपी खोलामा बग्नेछन्, पार लाग्दैनन् । 

१६. लोकतन्त्रका सवालमा कांग्रेस र एमालेबीच कस्तो प्रतिस्पर्धा हुनुहुँदैन भने एउटाको छोरा राती बितेछ । गुन्द्रीमा पोको पारेर सत्गत् गर्न लैजाँदा लास छिमेकीको आँगनमा खसेछ । पत्तो भएनछ । गए लास गाड्यौं भनिठानेर फर्के । भोलिपल्ट सखारै छिमेकीले लास देखेछ । ए ! छोरो मारेर फाल्ने ? त्यसले मात्र छोरो मारेर फाल्न सक्छ भनेर उसले प्रतिशोधले आफ्नै छोरालाई ‘ए काले यता आइज’ भनेर बोलाएर छोरालाई चिर्पटले हानेर मारेछ र त्यो छिमेकीको आँगनमा लगेर छोरोको लास फालेछ । अनि तैंलेमात्र छोरो मारेर फाल्न सक्छस्, म सक्दिनँ ? भन्थ्यो रे ! कम्तीमा कांग्रेसले हामीसँग यस्तो प्रतिस्पर्धा नगरोस् । 

पर्यटनमन्त्री प्रेम आलेको अभिनय गरेर देखाउँदै ओली
पर्यटनमन्त्री प्रेम आलेको अभिनय गरेर देखाउँदै ओली

१७. धान रोप्दा सामा पलाउँछ, रुखमा ऐंजेरु पलाउँछ; अहिलेका केही पार्टीहरू त्यस्तै हुन् । 

१८. यसअघि हामीले पनि मिलाई–मिलाई चुनाव लडेका थियौं । पछि पार्टी एकीकरण गरेर बहुमत पुर्‍याएका थियौं । एउटा टेकोले नअड्ने भएपछि अर्को पनि टेको लगाएका थियौं । तर त्यो कमजोर र स्वार्थी टेको परेछ । यताबाट खट्याक्क भएर अर्कोपट्टी पुग्ने टेको परेछ । 

१९. एकैपटक हामीले देशभर ३९६ अस्पतालको शिलान्यास गर्‍यौं, विश्व रेकर्ड हो यो । गिनिज बुकमा यस्ता त कति लेखे हुन्छ, हामीले दाबी नगरेर मात्र हो । गिनिज बुक त आधा हामीले गरेको कामले भरिन्छ । 

२०. गठबन्धनले छोरी, ज्वाइँ, श्रीमती,भाइभतिजाको चिन्ता गर्छ, एमालेले देशकाे चिन्ता गर्छ । 

(Source : इकागज, चैत १७ मा प्रकाशित यो सामग्री अद्यावधिक गरी पुन: प्रकाशन गरिएकाे हो

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक