20220509

गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्ने भन्दै आशंका व्यक्त गरे प्रचण्डले, गठबन्धन दलभित्रको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको आशंका व्यक्त !

एउटा राजा फालेर हजार राजा पाल्ने हामी नेपालीहरुले दु:ख पाउने दिन अझ धेरै बाँकी छन भनेर भन्न अरु कसैका कुरा होइन यिनै हजार राजाका तीन चार "महाराजा" हरुका भनाइ सुने काफी हुन्छ । अस्ति चितवन भरतपुर गएर जनता धम्क्याएका अपराध र आतंक शिरोमणी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्ने भन्दै आशंका व्यक्त गरेका छन् । सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी  सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन दलभित्रको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको भनी आशंका व्यक्त गरेका हुन् । उनले धेरै स्थानमा गठबन्धन ‘क्लियर’ नभएको समेत बताए । ‘बेइमानी र षडयन्त्र स्वीकार्य हुँदैन‚’ उनले भने, ‘कांग्रेसले यहाँ पनि गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएको छ । त्यसलाई खारेज नगर्ने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ । यो अवस्थामा हाम्रोतर्फबाट उपाध्यक्ष पदमा परेको उम्मेदवारलाई जिताउनुपर्छ ।’

कैलारी गाउँपालिकामा गठबन्धनको सहमति माओवादीलाई अध्यक्ष र उपाध्यक्षमा कांग्रेसलाई उम्मेदवार बनाउने भन्ने थियो । तर‚ सहमति बन्नुअगावै कांग्रेसबाट टिकट पाइसकेका रामसमज चौधरीले अध्यक्ष पदमा उम्मेदवारी दिए । पार्टीले प्राविधिक कारणले उनको उम्मेदवारी रद्द गराउन सकेको थिएन । गठबन्धनले उनलाई आधिकारिक उम्मेदवार भने मानेको छैन । उनी चुनावी प्रचारमा छन् । कांग्रेसको उम्मेदवारीपछि उपाध्यक्षमा माओवादीकी लक्ष्मी सत्वगौवा चौधरीले पनि उम्मेदवारी दिएकी छन् । उनले पनि अहिलेसम्म उम्मेदवारी फिर्ता लिएकी छैनन् । माओवादीले पनि गठबन्धनको सहमतिविपरीत सत्गौवा चौधरीका लागि मत मागिरहेको छ । 

आइतबार दिउँसो चौरजहारी नगरपालिका–१० खोलागाउँमा प्रचारप्रसारको क्रममा रहेका माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भए । प्रहरीले तुरुन्तै ‘एक्सन’ लियो र थप क्षति हुन पाएन । त्यसैबेला मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अर्थमन्त्री जनार्दन शर्मासहितको उपस्थितिमा सर्वदलीय बैठक बसिरहेको थियो । बैठकमा निर्वाचन आचारसंहिताअनुसार प्रचारप्रसार गर्ने र एकअर्काको कार्यक्रमलाई अबरोध नगर्ने सहमति भयो । तर आइतबार साँझ मुसीकोट नगरपालिका–८ घोरखानीमा फेरि झडप भयो ।

दिनहुँको झडपले सुरक्षा निकायका प्रमुखहरु समेत आजित छन् । ‘बैठकमा नेताहरुले शान्तिपूर्वक प्रचारप्रसार गर्ने निर्णय गर्नुहुन्छ,’ एक सुरक्षा अधिकारीले भने, ‘तर एउटा पार्टीको कार्यकर्ता देख्नबित्तिकै अर्को पार्टीका कार्यकर्ताले आक्रमण गर्ने प्रवृत्ति छ ।’ जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले घोरखानी घटनाको विवरण आउन समय लागेको बताए ।

शनिबार साँझ पनि चौरजहारी नगरपालिका–६ खागलमा माओवादी कार्यकर्ताहरुले घरदैलो गरिरहेका कांग्रेस कार्यकर्ताहरुमाथि आक्रमण गर्दा १० जना कांग्रेस कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये कांग्रेस कार्यकर्ता लक्ष्मण बोहरा गम्भीर घाइते छन् । उनलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने शनिबार राति एमालेका नेता चन्द्रबहादुर विकमाथि पनि आक्रमण भएको थियो ।

एक साताको समयमा जिल्लाको आठबीसकोट, बाँफिकोट र त्रिवेणीमा दुई दलका कार्यकर्ताहरुबीचको झडपमा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये गम्भीर भएका ११ जनालाई उपचारको लागि सुर्खेत र नेपालगन्ज रिफर गरिएको छ ।

दिनहुँ झडपका घटना हुँदा मतदाताहरु त्रसित भइरहेको नागरिक अगुवा श्याम केसीले बताए । ‘यस्तै अवस्था रहे मतदाताहरुले कसरी ढुक्कले मतदान गर्छन ?,’ उनले भने, ‘किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नहरुलाई पक्राउ गरेको छैन, प्रहरी घटनाअघि मुकदर्शक बन्दा मतदातामा थप त्रास फैलिएको छ, प्रहरीले कम्तिमा हवाइफायर गरेर पनि भीडलाई नियन्त्रण गर्न सक्थ्यो, त्यतिसम्म पनि प्रयास भएन ।’ स्थानीय कविराज खड्काले मतदातालाई सुरक्षित बनाउन दलहरु नै दलहरु नै जिम्मेवार बन्नुपर्ने बताए । ‘माथि ठूला नेताहरुले गठबन्धन गरेका छन्, यहाँ भने दिनहुँ झडप भइरहेको छ,’ उनले भने, ‘दलका कार्यकर्ताहरु आफैं असुरक्षित छन् भने हामीले के सुरक्षाको आस गर्ने ?’ उनका अनुसार गाउँमा कार्यकर्ताहरु एक्लै हिँड्नसक्ने अवस्था छैन ।

केन्द्रमा माओवादी र कांग्रेसले गठबन्धन गरे पनि रुकुम पश्चिममा भने फरक गठबन्धन छ । जिल्लामा कांग्रेस र एमाले तथा माओवादी र समाजवादीले गठबन्धन गरेका छन् । ‘दुवैले एक अर्काको अस्थित्व स्वीकार्न नसक्दा झडप चलिरहेको छ,’ उनले भने, ‘निर्वाचन आचारसंहिताअनुसार दुवै दलले प्रचारप्रसार गरे मतदाता पनि ढुक्क रहने अवस्था हुन्छ ।’ यसअघिको स्थानीय तह निर्वाचनमा जिल्लाका ६ वटै स्थानीय तह माओवादी केन्द्र विजयी भएको थियो । ‘माओवादीमा फेरि युद्धकै धङ्धङी कायमै छ,’ कांग्रेस सभापति प्रेमप्रकाश ओलीले भने, ‘माओवादीसँग चुनावी तालमेल गर्ने राष्ट्रिय सहमति कार्यान्वयन हुन नसकेपछि ऊ आत्तिएको छ, माओवादीसँग राजनीतिक संस्कार नै भएन ।’ उनले अर्थमन्त्री जनार्दन शर्माको छायाँमा प्रहरी प्रशासन पर्दा माओवादी कार्यकर्ता अराजक बन्दै गएको आरोप लगाए ।

माओवादी जिल्ला संयोजक सचिन रोकाले जुनसुकै ठाउँमा पनि कांग्रेसले निहुँ खोज्ने काम गरिरहेको बताए । ‘शान्तिपूर्ण वातावरणमा प्रचारप्रसार गर्दा पनि उहाँहरुले जिस्क्याउन खोज्नुभएको छ,’ उनले भने, ‘हाम्रा साथीहरुले क्रियाको प्रतिक्रिया मात्र दिएका छौं ।’ आफूहरुले शान्तिपूर्वक प्रचारप्रसार गरिरहेको र कांग्रेसले त्यसमा भाँजो हालिरहेको आरोप लगाए । झडपका घटनामा संलग्न नहुन कार्यकर्ताहरुलाई निर्देशन दिइसकेको उनले जानकारी दिए ।

माओवादी र कांग्रेस कार्यकर्ताहरुको झडपका कारण जिल्ला दिनहुँ अशान्त बन्दै गएको एक सुरक्षा अधिकारीले बताए । उनका अनुसार अहिले चौरजहारी, आठबीसकोट र त्रिवेणीमा दिनहुँजसो झडपका घटना भइरहेका छन् । ‘फरक तरिकाको गठबन्धन हुँदा र दुवै दलबीच तीव्र प्रतिस्पर्धा हुँदाको परिणाम पनि हो यो,’ उनले भने, ‘लामो समयको द्वन्द्वको मनोविज्ञान पनि कायम हुँदा यो अवस्था आइरहेको छ ।’

उनका अनुसार जिल्लाका ७६ मतदानस्थलमध्ये १९ मतदानस्थल अति संवेदनशील छन् । विगतका निर्वाचनमा भएको झडप र सञ्चार तथा सडक असुविधाका कारण समस्या देखिएका स्थानलाई अति संवेदनशील मानिए पनि अहिले नयाँ ठाउँमा झडप भइरहेको उनको भनाइ छ । ‘रेफ्रीले त्यसबेला खेल खेलाउन सक्छ, जुन समयमा खेलाडीहरु समझदार र अनुशासित बन्छन्,’ उनले भने, ‘यहाँ त उनीहरुले अर्को दलका कार्यकर्तालाई हिट एण्ड रन गर्ने प्रवृत्ति देखियो ।’ उनले अझै १/२ दिन यस्तै अवस्था रहे मतदाताहरु भोट हाल्न जान पनि डराउनुपर्ने स्थिति आउने बताए ।

दुवै दलको विवाद मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ४ वटा सर्वदलीय बैठक आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए । ‘हामीले एकीकृत सुरक्षा रणनीतिअनुसार जिल्लाभरि पर्याप्त सुरक्षाकर्मी खटाएका छौं,’ उनले भने, ‘आइतबार फेरि कार्यकर्ताहरुलाई संयमित हुन दुवै दलले संयुक्त विज्ञप्ति जारी गर्ने र निर्वाचन आचारसंहिताअनुसार प्रचारप्रसार गर्ने निर्णय भएको छ, अब सोमबारदेखि शान्ति सुरक्षाको अवस्था सुधार हुने आशा गरौं ।’

उता कुटपिटको आरोपमा बैतडीको डिलाशैनी गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बनेका लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिलाशैनी गाउँपालिका ५ बिनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि अध्यक्षका उम्मेदवार राना र उनका कार्यकर्ताले कुटपिट गरेको आरोप लागेको छ । सोही आरोपमा नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै राना र उनका कार्यकर्ताले सोमबार कुटपिट गरेको आरोप लागेको उनले बताए । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको छ । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।कुटपिटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच सोमबार दिउँसो गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । राना सत्ता पक्षीय गठबन्धनको तर्फबाट डिलाशैनीमा साझा उम्मेदवारसमेत हुन् ।

यसैबिच स्थानीय तहको निर्वाचन नजिकिँदा मकवानपुरमा भने आचारसंहिता उल्लंघनका घटना दैनिक रुपमा बढिरहेका छन् । वैशाख ३० गतेको निर्वाचन आउन केही दिन बाँकी छँदा राजनीतिक दल चुनावी अभियानमा छन् भने उनीहरुको प्रचारको काममा आचारसंहिता उल्लंघनका घटना बढिरहेका हुन् ।मकवानपुरमा सोमबारसम्म आचारसंहिता उल्लंघन गरेको भन्दै ३३ वटा उजुरी परेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।मकवानपुरमा आचारसंहिता उल्लंघन गर्नेमा दलका नेता, सरकारी कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी र सरकारी सेवा उपभोग गर्ने व्यक्तिदेखि पत्रकारसम्म रहेका छन् ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन गर्दै सबैभन्दा बढी सरकारी सेवा सुविधा लिने कर्मचारीहरु दलको प्रचारप्रसारमा हिँडेको पाइएको छ । यसपटक पत्रकार पनि आचारसंहिता उल्लंघनमा देखिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठ बताउँछन। कान्तिपुर दैनिकका अनुसार मकवानपुरमा दैनिक ४–५ वटा आचारसंहिता उल्लंघनका उजुरी आउने गरेको र उनीहरुलाई प्रकृति अनुसार स्पष्टिकरण सोधिएको पनि छ । निर्वाचनमा खटाइएका केही कर्मचारीलाई त आचारसंहिता उल्लंघन गरेको पाइएपछि स्पष्टिकरण लिँदै निर्वाचनबाट फिर्ता बोलाइएको छ ।

आचारसंहिता उल्लंघनमा विशेषगरी फेसबुकमा उम्मेदवारको प्रचार गर्ने, चुनावी अभियानका फोटो पोस्ट गर्ने, आफैं चुनावी अभियानमा संलग्न हुने, आफैंले प्रचार सामग्री बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने, चुनावी कार्यक्रममा भाषण गर्ने जस्ता गतिविधि भएको पाइएको छ । तर आचारसंहिता उल्लंघनको सूचना दिन सञ्चारमाध्यमले बढी सहयोग गरेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

***

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक