20220630

काँग्रेस र जसपामा भाँडभैलो, प्रचण्ड र बाबुराम फेरी उपराष्ट्रपति निवासमा गोप्य रूपमा भेटेर एकता बारे छलफल

 नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो । भेलामा सहभागी सहमहामन्त्री जीवन परियारका अनुसार पार्टीमा कुनै सरसरल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा देउवाले एकलौटी गरेका हुन् । पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए । यसै बिच कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले असार २७ गते बस्नेगरी बैठक बोलाइएको बताए ।

उनले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बस्ने बताए । बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ । मुख्य सचिव पौडेलले बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा र अगामी चुनावका विषयमा छलफल बताएका छन् ।

उता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ। बिहीबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेट भएको उपराष्ट्रपतिनिकट स्रोतले सेतोपाटीलाई बतायो। उनीहरूबीच समय-समयमा उपराष्ट्रपति नन्दबहादुर पुनको पहलमा भेट हुने गर्छ। बुधबार मात्र जसपा अध्यक्ष उपेन्द्र यादवसँग सहमतिमै पार्टी विभाजन गरेका भट्टराईले बिहीबार प्रचण्डसँग भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भट्टराईनिकट स्रोतले भने उनी माओवादीमा नफर्किने दाबी गरेको छ। भट्टराईले २०७२ सालमा माओवादी त्यागेका हुन्। 

यता आन्तरिक विवादमा फसेको सत्तारूढ दल जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ।  संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव आ-आफ्नो तरिकाले अघि बढ्न तयार भएपछि जसपा फुट्ने निश्चित भएको हो।  उनीहरूबीच बुधबार जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा भेट भएको थियो। जसपाका नेताहरूका अनुसार अहिले पार्टीको नाम र चुनाव चिन्ह उपेन्द्र पक्षसँगै हुनेछ भने बाबुरामले नयाँ दल खोल्ने छन्।

बाबुराम जसपाबाट छुट्टिएपछि उनीसँग को-को सांसद तथा केन्द्रीय कार्यकारिणी सदस्य जालान् भन्ने चासो छ। बाबुरामको पक्षमा लाग्ने भनेर अहिलेसम्म कुनै पनि सांसद तथा जसपा नेताले सार्वजनिक रूपमा बोलेका छैनन्। उपेन्द्र समूहले भने सांसदहरू महिन्द्र राय, राजकिशोर यादव र अमृता अग्रहरी बाबुरामसँग जान सक्ने अनुमान गरेको छ। सेतोपाटीसँग कुरा गर्दै सांसद अग्रहरीले भने छुट्टिने कुरा सुनेको भए पनि को-कता जाने केही टुंगो नभएको बताइन्।

‘उहाँहरू सौहार्दपूर्ण वातावरणमा छुट्टिन तयार हुनुभयो भन्ने सुनेको हो। अरू कुरा थाहा छैन,’ अग्रहरीले भनिन्। यसअघि सांसदहरू मोहम्मद इस्तियाक राई, प्रदीप यादव, रामबाबुकुमार यादव, सुरेन्द्रकुमार यादवलगायत पनि बाबुरामका पक्षमा उभिएका थिए। अध्यक्ष उपेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोधमा उभिएका उनीहरूले बाबुरामले पार्टी नै विभाजन गर्ने प्रस्ताव गरेपछि भने साथ छोडेको स्रोतको दाबी छ। दुई निलम्बितसहित जसपामा अहिले २१ जना प्रतिनिधि सभा सदस्य छन्।

३४ सदस्यीय जसपाको कार्यकारिणी समितिमा पनि बाबुरामको पक्षमा बहुमत पुग्ने सम्भावना छैन। कार्यकारिणी समितिमा अहिले ३२ जना छन्।  तीमध्ये महिन्द्र राय यादव, राजकिशोर यादव, गोविन्द चौधरी, अमृता अग्रहरी, रामनरेश राय यादव, हिसिला यमी, हेमराज राई, गंगा श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंह, दुर्गा सोब, भक्तबहादुर साह बाबुरामतिर रहेको उपेन्द्र यादव पक्षको अनुमान छ।

यसअघि बाबुरामको पक्षमा रहेका नवलकिशोर साह, गजाधर रोहिता यादव र मोहम्मद इस्तियाक राईले उनको साथ छोडिसकेका छन्। पछिल्लो समय जसपामा उपेन्द्र र बाबुराम पक्षबीच विवाद चर्किँदै गएको थियो। पार्टीका सबै निर्णयमा यादवले एकलौटी गरेको भट्टराईको आरोप थियो। उनले पार्टीको विधानअनुसार अर्को अध्यक्ष चयन गर्न माग गरेका थिए। त्यसका लागि यादव तयार भएनन्। 

गत वर्ष भदौमा जसपा विभाजन भएर महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि ठाकुरको पद जसपामा खालि थियो। यादवमाथि भट्टराईले दबाब बढाउँदै जाँदा उनी झन्डै बहुमतनजिक पुगेका थिए। तर यादवलाई हटाउन नसके विभाजनका लागि समेत तयार हुनुपर्ने भट्टराईको प्रस्तावपछि उनलाई साथ दिएका धेरै नेताहरू पछि हटेको स्रोतको दाबी छ। 


यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो। एकता भएपछि संघीय समाजवादी पार्टी बनेको थियो। संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जसपा बनेको थियो। 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक