20220708

राजिनामा दिनुभएका बेलायती प्रधानमन्त्री बोरिस जोनसन, लोकतन्त्र, पारदर्शिता र उडाइएको खिल्ली !

 बेलायतमा मन्त्री, प्रधानमन्त्रीलगायतका क्रियाकलापलाई पारदर्शी बनाउनका लागि उनीहरूको भेटघाटसम्बन्धी व्यक्ति र समयतालिका भएका डायरी प्रकाशित गर्ने परम्परा छ। तर हालै राजिनामा दिनुभएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यो नजिर नै लत्याएर लोकतन्त्र र पारदर्शिताको खिल्ली उडाइदिनु भयो। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जरभेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिनुभएको छ। श्रृङ्खलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रिपरिषद्‌मा रहेका सदस्य, अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गर्नुभएको हो।

यहाँ कुरा गर्न खोजेकोचाहिँ राजिनामा भन्दा पनि बोरिस जोनसनको महामारीकालीन बैठकहरूको आधिकारिक डायरीको हो जसलाई सार्वजनिक गर्न जोनसनले अस्वीकार गर्नुभयो। त्यससँगै  प्रधानमन्त्री बोरिस जोनसनमाथि “नियमकानुन आफूले पनि पालना गर्नुपर्छ भन्ने विश्वास नभएको” भन्ने आरोप लागेको छ।

ओपन डेमोक्रेसी नामक स्वतन्त्र मिडिया प्लेटफर्मले बितेको एक वर्षमा मन्त्रीहरूको फोन कल र भ्रमणहरूको अभिलेख पत्ता लगाउनका लागि पर्दापछाडि संघर्ष गरिरहेको छ। यी अभिलेख भएमा कोभिडसँग लड्नका लागि बेलायतको रणनीति बनाउन जोनसनको सरकारलाई कसले लबिङ गरिरहेको थियो भन्ने थाहा पाउन सकिन्थ्यो।

नयाँ अर्थमन्त्री नदिम जहावीले बुधबार बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा भन्नुभएको थियो, “यस समूहबाट तथा वर्तमान प्रधानमन्त्रीबाट प्रमाण र पारदर्शिता नै देख्न पाउनु हुनेछ।” तर अझैपनि बेलायतमा शताब्दीकै सबैभन्दा ठूलो स्वास्थ्य संकट देखा पर्दा १८ मन्त्रीहरूले कसरी काम गरे भनेर बताउन अस्वीकार गरेका छन्।

म्याट ह्यान्कक ती मध्ये एक हुन्, जसको डायरीहरू गोप्य राखिएको छ, यद्यपि पूर्व स्वास्थ्य मन्त्रीले सरकारमा आफ्नो समयको लम्बेतान दस्तावेज  समेटिएको पुस्तक प्रकाशित गर्न सम्झौतामा हस्ताक्षर गरेका छन्।

मन्त्रिपरिषद् कार्यालयले ओपन डेमोक्रेसीसँग भन्यो,  ‘सन् २०२० मा महामारी लपेटेका बेला भेटघाट गरिरहेका दुई मन्त्रीको डायरी प्रकाशन गर्न मन्त्रालयगत स्रोतमा दबाब रहेको छ।

जोनसनको समयतालिका हस्तान्तरण गर्न अस्वीकार गरेसँगै  प्रधानमन्त्रीको कार्यालयले यी डायरीहरू त्यस्तो मूल्यवान छैनन् भनेर दाबी पनि गर्‍यो।

हामीले प्राप्त गर्न सफल भएका सीमित मन्त्रीका  डायरीले ब्रिटिश सरकारको  पारदर्शिता र केन्द्रमा पहुँचको बारेमा गम्भीर प्रश्नहरू खडा गरेका छन्। यसले भन्छः

पूर्व विदेश सचिव डोमिनिक राबले गत वर्ष अफगानिस्तान संकट अघिका दिनहरूमा आफ्नो कार्यभार लगभग दुई तिहाईले घटाए। हाल उपप्रधानमन्त्री रहेका राब ले पहिले दाबी गरेका थिए कि उनी अगस्ट २०२१ मा “समुद्री तटमा आराम गरिरहेको” भन्ने रिपोर्टहरू “बकवास“ थिए;

ऋषि सुनकद्वारा आयोजित पाँच मध्ये एक बैठक “राजनीतिक” कारणले भएको थियो, जसले पूर्व अर्थमन्त्री (चान्सलर अफ द एक्सचेकर) ले आर्थिक संकट बढ्दै गएपछि दिनको चार घण्टासम्म कन्जरभेटिभ दाता र पैरवीकर्ताहरूलाई भेटेको हुनसक्ने ठानिएको थियो।

पूर्व शिक्षा मन्त्री गेभिन विलियमसनको डायरीमा व्यवसायहरूसँग भेटघाट र फोन कलहरू थिए जुन पहिले प्रकाशित सरकारी खुलासाहरूमा समावेश गरिएको थिएन, जसमा उनको मन्त्रालयले त्रुटि भएको दाबी गर्‍यो।

सरकारले डायरीहरूका लागि हाम्रा अनुरोधहरूलाई वेवास्ता गर्ने प्रयास गर्दा, तिनीहरूलाई क्याबिनेट अफिसको क्लियरिङ हाउसमा सूचित गरियो –ओपन डेमोक्रेसीले यसमाथि पत्रकारहरूबाट जाँच भइरहेको विषय बाहिर ल्याएसँगै संसदीय छानबिनको एउटा गोप्य इकाइमा ल्याइएको थियो।

महामारीको समयमा बोरिस जोनसनको सरकारमा पैरवीकर्ता तथा व्यवसायीहरूको पहुँचको स्तरको बारेमा प्रश्नहरू पहिल्यै नै उठाइएको छ। गत वर्ष, यो देखा पर्‍यो कि पूर्व स्वास्थ्यमन्त्री लर्ड बेथेलले अप्रिल २०२० मा विभिन्न कम्पनीहरूसँग श्रृङ्खलाबद्ध  बैठकहरू गरेका थिए, जसले पछि  कोभिडसम्बन्धी सरकारी ठेक्काहरूमा लाखौं पाउन्ड प्राप्त गरे। यी बैठकहरूको सम्बन्धमा औपचारिक विज्ञप्तिमा पारदर्शी ढंगले प्रस्तुत गरी अभिलिखित गर्ने कार्य भएको थिएन।

लेबर सांसद एन्डी स्लाटरले भन्नुहुन्छ, बोरिस जोनसनले आफ्नो मन्त्रीको डायरी प्रकाशित गर्न अस्वीकार गर्नु भनेको “उनी  आफूले नियम मान्नु नपर्ने पृथक व्यक्तिको रूपमा सोच्छन्” भन्ने थप प्रमाण हो।

स्लाटरले ओपन डेमोक्रेसीलाई भन्नुभयो, “मन्त्रीको  डायरी उनीहरूको निजी विचार होइनन्; ती घटनाहरू र सरकारको तर्फबाट गरिएका कार्यहरूको अभिलेख हुन् र जनहितका लागि यसलाई गोप्य राख्नु हुँदैन।”

लिबरल डेमोक्र्याट सांसद वेन्डी चेम्बरलेनले भन्नुभयो, “ब्रिटिश जनतालाई मन्त्रीहरूबाट पारदर्शिता खोज्ने अधिकार छ। यो कन्जरभेटिभ सरकारले त्यो महत्वपूर्ण सिद्धान्तलाई जोगाउन जारी राखेको तरिका लाजमर्दो छ। दुःखको कुरा, हामीले बोरिस जोनसनको प्रशासनबाट आशा गर्नुपरेको छ।।”

अहिले अनलक डेमोक्रेसी नामक अभियान चलाउने डेमोक्र्याटका पूर्व सहायक सचेतक र डेपुटी कमन्स नेता टम ब्रेक भन्नुहुन्छ, “एक मन्त्रीको रूपमा मलाई मेरो डायरी उपलब्ध गराउन र म कसलाई भेट्दै छु भनेर खुलासा गर्न कुनै आपत्ति हुने थिएन।”

टम ब्रेक भन्नुहुन्छ “विशेष गरी स्वास्थ्य मन्त्रीहरूको कर्तव्य पारदर्शी हुनु हो। जनताले आश्वस्त हुन चाहन्छन् कि कोभिड संकटको समयमा मन्त्रीहरू जनस्वास्थ्य संकट प्रतिकार्यका लागि विशिष्ट वार्ता र सम्झौताहरू गर्नमा केन्द्रित थिए । तिनीहरूको डायरी मात्र सार्वजनिक  गर्नाले यो केस हो भनेर पुष्टि हुनेछ।”

राबको समुद्री तटीय कूटनीति

बढ्दो सङ्कटमा ध्यानकेन्द्रित गर्न सरकारको असफलता डोमिनिक राबको मन्त्रीस्तरीय डायरीहरूमा प्रकट हुन्छ।

ओपन डेमोक्रेसीले प्राप्त गरेको अभिलेखले देखाउँछ तत्कालीन विदेश मन्त्रीले अफगानिस्तानबाट सेना र कर्मचारी फर्काउनु अघि  एक हप्ता आरामको आनन्द उठाए – जुन आधुनिक इतिहासको विदेश नीतिको सबैभन्दा खराब दुर्घटनामध्ये एक मानिन्छ।

राबले पहिले दाबीलाई खारेज गरिसक्नु भएको छ र गत वर्ष पारिवारिक बिदाका क्रममा क्रेटमा छँदा “समुद्र तटको लाउन्जमा” भएको भन्नुभएको छ। “मैले मेरो परिवारलाई समुद्र तटमा राखेको थिएँ…  वास्तवमा  म अपार्टमेन्टमा फर्किन, आपतकालीन कोब्रा बैठकहरूमा संलग्न हुन सकूँ, विदेश मन्त्रालयमा  आपतकालीन प्रतिकार्य टोलीसँग संलग्न हुन सकूँ, मलाई आवश्यक पर्ने अन्तर्राष्ट्रिय भेटघाटमा संलग्न हुन सकूँ भनेर हो” उहाँले भन्नुभयो।

तर उनका आधिकारिक डायरीहरूमा ७ र १५ अगस्टको बीचमा दैनिक औसत सात इन्ट्रीहरू मात्रै सूचीबद्ध भएको पाइन्छ।। योभन्दा अघिल्लो दुई महिनाको अघि तुलना गर्दा त्यतिबेला सातामा औसत २२ ओटा डायरी इन्ट्री भएका छन्।

बढ्दो सङ्कटको कारण राबले  छुट्टीबाट परिवारलाई चाँडै घर पठाउन आदेश दिएको बताइएको छ, तर बोरिस जोनसनबाट अनुमति पाएपछि थप दुई दिन बस्न आग्रह गरेका थिए।

पछि राबलाई  विपद्को व्यवस्थापनमा अक्षमताका कारण राजीनामा दिन समकक्षी सांसदहरूले चर्को दबाब दिएका थिए।  राबको डायरीहरू रोक्नको लागि चार महिना संघर्ष गरेपनि अन्ततः सरकारले तिनीहरूलाई हस्तान्तरण गर्‍यो – तर दाबी गर्‍यो कि त्यसका केही  अंशहरू गलत हुनसक्छन्।

“आधिकारिक डायरीमा भएका सबै बैठकहरू भएका छैनन्,“ फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिसले हाम्रो अनुरोधको जवाफमा भन्यो। “तिनीहरू रद्द गरिएको हुन सक्छ तर डायरीबाट हटाइएन। त्यसैगरी, भेटघाट र कलहरू भएका हुन सक्छन् जुन आधिकारिक डायरीमा परेका थिएनन्।

बेलायत सरकारका प्रवक्ताले थपेः “पूर्व विदेश मन्त्री मन्त्रालयसँग निरन्तर सम्पर्कमा थिए र अगस्ट १५ मा बेलायत फर्केका थिए।”

सुनकको ‘राजनीतिक’ भेटघाट

बारम्बार ओपन डेमोक्रेसीलाई ऋषि सुनकको डायरीका प्रतिलिपिहरू उपलब्ध गराउन अस्वीकार गरेपछि अन्ततः छुट्टै अनुरोधमा स्पटलाइट अन करप्शन अभियान समूहलाई एक महिनाका इन्ट्रीहरू  जारी गरियो।

तर सेप्टेम्बर २०२१ डायरीहरूमा सूचीबद्ध पाँचवटा बैठकहरू मध्ये एकलाई संशोधन गरी “राजनीतिक” प्रकृतिको बनाइएको थियो। यसमा थप जानकारी दिइएको छैन।अन्य इन्ट्रीहरू व्यापारिक चासो र अन्तर्राष्ट्रिय सम्बन्ध सरोकारको कारणले गर्दा संशोधन गरिएको थियो।

पारदर्शितासम्बन्धी नियम अन्तर्गत, मन्त्रीहरूले सार्वजनिक रूपमा सरकारी व्यवसायसँग सम्बन्धित बाह्य संस्थाहरूसँगको ‘आधिकारिक’ बैठकहरू घोषणा गर्नुपर्छ। तर ‘आधिकारिक’, ‘राजनीतिक’ र ‘व्यक्तिगत’ बैठकहरू बीचको भिन्नता प्रायः अस्पष्ट हुन्छ – जुन कुरा मन्त्रीहरूले पहिले आफ्ना गतिविधिहरू गोप्य राख्न प्रयोग गरेका थिए।

सुनकका डायरीहरूले उहाँले दिनको चार घण्टासम्म “राजनीतिक” मुद्दाहरू सम्बोधन गर्न बिताउनुभएको देखाउँछ। अर्थमन्त्रीले कन्जरभेटिभ दाताहरू वा पैरवीकर्ताहरूलाई  भेटेको हो कि भनेर प्रश्नहरू उठेका छन्।

स्पटलाइट अन करप्शनका जर्ज हेभेनह्यान्डले भन्नुहुन्छ, “यदि वरिष्ठ मन्त्रीहरूले दाताहरू, पैरवीकर्ताहरूहरू वा अन्य निहित स्वार्थहरू पूरा गर्न सूचना अनिवार्य सार्वजनिक गर्ने कुरालाई पन्छाउँदैछन् भने सरकारको केन्द्रमा पारदर्शिताको शून्यता स्पष्ट रूपमा देखिन्छ। लबिङ र मन्त्रीहरूको संलग्नताको वरिपरि पारदर्शिता बढाउनको लागि आवश्यक सुधारहरू लामो समयदेखि थाँती रहेका छन्। बैठकहरूको विवरण निगरानी र जवाफदेहिता सहित प्रकाशित गर्नुपर्छ  ताकि जनताले कुन व्यक्ति र समूहले मन्त्रीसम्म पहुँच राखिरहेका छन् भन्ने बारे अझ राम्रोसँग बुझ्नसक्छ।”

हराएका बैठकहरू

सरकारले मन्त्रीस्तरीय बैठकको अभिलेख सार्वजनिक गर्ने तयारी गरेको छ। बाह्य संस्थाहरूसँगको फोन कलहरू पनि वर्षौँदेखि यस डाटामा समावेश गरिएको छ। यी रेकर्डहरूले पहिल्यै कट्टरपन्थी दाताहरू र पैरवीकर्ता फर्महरूसँग विवादास्पद भेटघाट प्रकट गरेको छ।

तर यी सार्वजनिक गरिएका सूचना अपूर्ण देखिन्छन्। पूर्व शिक्षा मन्त्री गेभिन विलियमसनले गरेका धेरै भेटघाट र फोन कलहरू महामारीको पहिलो लहरमा लकडाउन अघि र उक्त समयमा आधिकारिक  विज्ञप्तिमा पारदर्शी तवरले घोषणा नगरिएको ओपन डेमोक्रेसीले फेला पारेको छ। शिक्षा मन्त्रालयले हिजोका दिनमा यो मानवीय त्रुटिको कारण भएको बताएको छ र पारदर्शिता विज्ञप्ति अद्यावधिक गरिने उल्लेख गरेका छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसन्धान र अनुसन्धान प्रमुख स्टिभ गुडरिचका अनुसार मन्त्रीहरूको वार्तालापहरू “सार्वजनिक जानकारीबाट लुकाइएको छ” यसले “आशंका बढाउँछ”।

“बाहिरी चासोका साथ आधिकारिक कार्यको बारेमा छलफल गर्दा सार्वजनिक अभिलेखको कुरा हुनुपर्दछ, यी आवश्यक पर्ने नियमहरू व्यवहारमा लागू गर्नका लागि धेरै कमीहरू छन्, जसले गल्तीहरू, सम्भावित दुराचार वा जानाजान अस्पष्टता निम्त्याउँछ। मन्त्रीले पालना गर्नुपर्ने संहिताको आधारभूत सुधार र यो कसरी लागू हुन्छ, अनि ह्वाइटहलमा के हुन्छ भन्ने बारे हामीलाई जानकारी विना हामीलाई अन्धकारमा छोडिनेछ,” गुडरिकले भन्नुभयो।

मन्त्रिस्तरीय डायरीहरू प्रकाशित गर्ने लामो नजिर छ। सन् २०१७ मा, सरकारले पूर्व स्वास्थ्य सचिव एन्ड्रयू ल्यान्स्लेको डायरीहरू जारी गर्न रोक्नको लागि गरेको कानूनी पहल असफल भयो। ल्यान्स्लेले पहिले भन्नुभएको थियो, सरकार “दुई वर्षसम्म राज्य सचिवको सम्पूर्ण डायरी प्रकाशित गर्नु पर्ने नजिरबाट डराएको थियो”।

भर्खरै, सरकारले उत्तरी पावरहाउस मन्त्री जेम्स व्हार्टनले इङ्ग्ल्याण्डको उत्तरी भागमा साह्रै कम भ्रमण गरेको कुरा लुकाउन ४० हजार पाउण्ड खर्च गर्यो।

मन्त्रीहरूका डायरी जारी गर्न असफल भएको बारे ओपन डेमोक्रेसीका प्रश्नहरूको जवाफ दिँदै, क्याबिनेट कार्यालयका प्रवक्ताले भने “यो सरकार आफ्नो पारदर्शिता एजेन्डामा पूर्ण रूपमा प्रतिबद्ध छ र पहिले भन्दा धेरै सक्रिय प्रकाशनहरू जारी गर्दछ, जसमा तेस्रो पक्षहरूसँग मन्त्रीस्तरीय बैठकहरूको विवरण समावेश छ जुन पहिले नै त्रैमासिक आधारमा प्रकाशित भइसकेको छ। “सबै अनुरोधहरूको साथ, हामी करदाताको लागत र मन्त्रालयका स्रोतहरूमाथिको बोझ विचार गर्छौं, जुन यस मामिलामा धेरै ठूलो हुने थियो।”

ओपन डेमोक्रेसीले अब सरकारको मन्त्रीहरूको डायरीहरूमा पूर्ण पहुँच प्राप्त गर्नको लागि बेलायतको सूचना आयुक्तको कार्यालयमा  अपील गरेको छ। ओपन डेमोक्रेसीमा प्रकाशित आलेखमा आधारित। 

प्रस्तुतिः मनोजराज रेग्मी /श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक