20220812

मलाई क्षमा दिनुहाेला बा !

- टंक प्रसाद पन्थ  

समय बदलियो वा  
मान्छे  बदलियो आज 
म केही खुट्याउनै सकिन बा !
अपशकुनकाे बेला छ
मनसुन लयमा छैन 
भनसुन देखिन्छ यत्रतत्र 
 गुन खोजेर कहाँ पाउनु ?
कर्तव्यले काम गर्दैन  अहिले 
अहिले  जमाना धेरै फेरिएको छ बा !
सद्भाव र सामूहिकता देखिन्न अचेल 
 ममता र भ्रातृत्व कतै भेटिन्न अचेल 
पर्म र पैँचोका कुरा एकादेशका कथा भए बा ! 
पहाडका गर्विला बस्तीहरू 
अहिले निराशामा बाँचिरहेका छन् 
बृद्धबृद्धाहरू एक्लै सपना साँचिरहेका छन् 
सन्तानहरू त खुसी देखिन्छन् 
विदेशी भूमिमा गर्वले हाँसिरहेका छन् 
यान्त्रिक जीवन बाँचिरहेका छन् वा प्राकृतिक ? 
आफ्नै बाअामाकाे अन्त्येष्टिमा
 सहभागी हुन  
समय मिल्दैन उनीहरूलाई 
लाग्छ, के तन्त्रमन्त्र पढाएको छ त्यो विदेशले ?
वा कतै
घण्टाको हिसाबको जन्त्रमा कुदिरहेका उतै ? 
अथवा 
डलरकै हिसाब गर्छन् र लत्याइदिन्छन् कर्तव्यलाई ?
अहिले देशमा युवाहरू बस्नै चाहन्नन्  बा !
सरकारमा बस्नेले जागिर मात्र खान्छन् रे 
रीतिथिति धेरै फेरिएका छन् बा आज !
अहिले गाउँमा पनि परिवर्तन आएको छ 
भोक मीठो मान्ने कोही छैनन् 
जिब्रोका लागि मात्र  मीठो भए हुन्छ 
घरमा फलाउन पर्दैन 
फलाइदिन्छ मित्रराष्ट्रले  अब 
घर हामीले चलाउनु पर्दैन बा ! 
 सबै अर्कैले चलाइदिन्छ 
अहिले सबैलाई सुख्ख छ बा !
पैसा भए आमा किन्न पाइन्छ यहाँ  
त्यति मात्र कहाँ ! 
पैसाका लागि आमा बेच्न पाइन्छ  यहाँ ! 
  सबै प‌ैसाकै पछि दौडेका छन्  बा !
मौसम पनि बदलिएको छ 
साउनमा पानी पर्दैन 
वैशाखमै बाढी पहिरो जान्छ 
चालचलन बदलिएको छ 
परिश्रम गर्ने बानी छैन मानिसमा 
हजुरले आर्जेको खोलाकै राजा खेत 
हेर्दाहेर्दै बाँझो पल्ट्यो बा ! 
जीवनकै  प्रतिष्ठा बनाएर जोडेको बारीमा
अहिले झाडी जङ्गल  छ बा ! 
जहाँ अझै पनि हजुरका पसिनाको सुवास भेट्छु म
हजुरले दारपात र ढुङ्गा बोकेर बनाएको 
हाम्रो आस्थाको घरमा ताला लागेको छ बा !
खण्डहर बन्दै छन् संरचना 
बिँडो थाम्न सकेनौँ हामीले हजुकाे 
हजुरले कमाएको सह छैन बा  आज 
हजुरले उठाएको अभिमान झुक्दै छ बा !
 हजुरले पुण्य प्राप्तिका लागि लगाएका 
वर, पीपल, समीका रूख सबै 
डोजरले ढालाइदियाे बा !
 हामी भौतिक सुखका पछि दौडेका छौँ 
 बसाइ सर्नकै लागि मोटर बाटो खनेछाैँ हामीले,
साँच्चै  लाछी भयौँ हामीहरू बा !
जोगाउन सकेनौँ हजुरको त्यो विरासत 
हामी नै त्यस्तो  अभागी  पुस्ता हाैँ बा !
गुमाउँदै छौँ आफ्ना गौरव 
एक पेट खानकै लागि 
बेच्दै छौँ निष्ठा लिलामीमा 
देश बर्बाद हुँदा पनि 
 मूकदर्शक बनेर  हेर्छौँ  रमिता 
स्वार्थका लागि लम्पसार बन्न तयार छौँ  हामी ।
सुन्दा नमिठो लाग्ला बा !
गुन्दा मनमा चिसो पस्ला 
नालायक सन्तानप्रति खेद जाग्ला 
कुपुत्र जन्माएकोमा पश्चात्ताप होला 
त्यो पवित्र मन पीडाले राेला 
माटोको ममताले हृदय छाेला 
 तर पनि 
बाध्यतालाई बुझिदिनुहाेला बा !
अनजान सम्झेर 
याे नादान हाे भनेर 
मलाई क्षमा दिनुहाेला बा !
मलाई क्षमा दिनुहाेला बा !!

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक