20220812

नेपालमा यसरी फैलिंदै छ फेरि कोरोना, तर लापर्वाही कायमै

  कोरोना संक्रमणबाट बिहीबार एकै दिन पाँच जनाको मृत्यु भएको छ । यसअघि, बुधबार तीन, मंगलबार दुई र सोमबार एक संक्रमितको मृत्यु भएको थियो । साउनदेखि हालसम्म भने ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । देशभरबाट ४ हजार ५ सय ३४ नमुना परीक्षण गर्दा ८ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार ४ सय ११ र एन्टिजेनबाट २ हजार १ सय २३ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४ सय ६५ र एन्टिजेनबाट ३ सय ५० नमुना रिपोर्ट पोजिटिभ आएको हो ।

हाल, कोरोना सक्रिय संक्रमित संख्या ५ हजार ८ सय ६९ पुगेको छ । पछिल्लो समय संक्रमण दर वृद्धि हुँदै जानुका साथै मृत्युदरसमेत बढ्दै जान थालेको छ । संक्रमणदर वृद्धि हुँदै गएकाले आगामी साता थप जोखिमपूर्ण हुन सक्ने भएकाले स्वास्थ्य मापदण्ड र सावधानी अपनाउन विज्ञले सुझाएका छन् ।

नेपालमा हालसम्म ११ हजार ९ सय ८२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी ६० देखि ६९ वर्ष उमेर समूहका छन् । ६० देखि ६९ वर्षका २ हजार ५ सय ११, ७० देखि ७९ वर्षका २ हजार ३ सय ९३, ५० देखि ५९ का २ हजार ३ सय ५, ४० देखि ४९ का १ हजार ६ सय ६६, ८० वर्षमाथिका १ हजार ६ सय ४०, ३० देखि ३९ वर्षका ९ सय ६५, २०–२ ९ वर्षका ३ सय ८१, १०–१९ वर्षका ५७, नौ वर्षमुनिका ५१ र अज्ञात १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल, नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । एक महिनाको तथ्यांक हेर्दा मृत्यु भएकामध्ये १५ जनाले खोप नलगाएको भेटिएको छ । खोप नलगाएकोमा गम्भीर संक्रमणसमेत देखिएको छ । संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको छ । ५ हजार ८ सय ६९ सक्रिय संक्रमितमध्ये काठमाडौंमा मात्रै २ हजार ९ सय २२ संक्रमित छन् ।


त्यस्तै, ललितपुरमा ८ सय ६८ र भक्तपुरमा ८९ सक्रिय संक्रमित छन् । तीमध्ये (सघन उपचार कक्ष) आईसीयूमा ६० र भेन्टिलेटरमा आठ संक्रमित उपचाररत छन् । कोरोना संक्रमणदरको ग्राफ उकालो लाग्दा चौथो लहरको संकेत गरे पनि सरकारले आधिकारिक रूपमा भनेको छैन । नेपालमा पहिलोपटक ९ माघ २०७६ मा संक्रमण पुष्टि भएको थियो । दोस्रो संक्रमित १० चैतमा देखियो ।


दोस्रो संक्रमित देखिएपछि मुलुकभर लकडाउन भयो । कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) सोमबार १७ प्रतिशत नाघेको छ । दर तीव्र रूपमा दर वृद्धि हुन थालेपछि महामारी जोखिम बढेको छ । गत १ असारयता निरन्तर कोरोना संक्रमण दर बढ्नेक्रममा छ । १ असारमा कोरोना संक्रमणदर ०.६४ प्रतिशत रहेकामा २ साउनसम्म आइपुग्दा संक्रमण दर बढेर १७ प्रतिशत पुगेको छ ।


नेपालमा हालसम्म पूर्ण खोप लगाउनेको संख्या ७० दशमलव ७ प्रतिशत अर्थात् २ करोड ६४ लाख ६ हजार ३ सय ७९ पुगेको छ । बाँकी ३० प्रतिशतले अझै कोरोना पूर्ण खोप लगाउन बाँकी छ ।

यसैबिच पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ७८१ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ५११ जना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ७१२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो ।

सो अवधिमा २ हजार २९० जनाको पीसीआर र २ हजार ४२२ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो । बितेको चौबिस घण्टामा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशमा सक्रिय काेराेना संक्रमितको संख्या ५ हजार ७७५ रहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक