20220817

जब सिद्धान्त, आदर्श र विचारको राजनीति नभइ सत्ताकै लागि मात्र राजनीति गरिन्छ भने विभिन्न नामका दल र चुनाव चिन्ह किन गर्नु पऱ्यो ?

 

यस्तो लाग्छ- राजनीतिक दलका अध्यक्षहरू नेता नभएर ठेकेदार हुन् । जसलाई आफ्ना कार्यकर्ताको आस्था र भावनासँग कुनै मतलव छैन । आफ्नो दललाई पन्छाएर कुन दलका उम्मेद्वारलाई भोट हाल्ने भनी निर्देशन दिन नेताहरू तम्तयार छन् । पार्टीलाइन उल्लङ्घन गरे कारवाही गरिनेछ भन्ने धम्कीको भाषा उम्मेद्वारको टुङ्गो लागेपछि आउने नै छ ।
  • बबिता बस्नेत

२०७४ सालको संसदीय निर्वाचनमा नेपाली जनताको चाहना र आशा थियो- ‘कुनै राजनीतिक दलको बहुमत आओस्, स्थिर सरकार बनोस्, घोषणापत्रमा

उल्लेख भएअनुसारका कामहरू हुन र मुलुक राजनीतिक अस्थिरताबाट स्थायित्वतिर अघि बढोस् ।’ विगतमा कम्तिमा यस्ता चाहना राख्न र सपना देख्नसम्म पाइन्थ्यो तर यही २०७९ साल मंसिरमा हुने निर्वाचनलाई लिएर जनताले यसप्रकारको सपना देख्न नपाउने भएका छन् । विचार, सिद्धान्त र दर्शनको राजनीतिबाट अलग भएर हाम्रो देशका राजनीतिक दलहरूले सत्ताका लागि मात्रै राजनीति गर्न थालेपछि मुलुकमा अब राम्रो हुन्छ भन्ने सम्भावना कम भएको हो । राजनीतिक दलका समर्थक र कार्यकर्तालाई विगतमा कम्तिमा आफूले चाहेको राजनीतिक दल रोज्ने स्वतन्त्रता थियो तर समयक्रममा आफ्नो दलको चुनाव चिन्हमा भोट हाल्न पाउने अधिकार पनि रहेन । विगतमा राजनीतिकर्मीहरू एउटा निष्ठाको राजनीति गर्थे । राजनीतिको अर्थ नीति बनाउनु हो, यस्तो नीति जसले जनताको जीवनमा सकरात्मक परिवर्तन ल्याओस् । राजनीति ब्यवसाय होइन ‘भिजन’ हो जसले मुलुुक र जनतालाई दूरगामी प्रभाव पार्न सक्छ । तर हामीकहाँ राजनीति गर्नुको एक मात्र उद्देश्य सत्ता हो भन्ने बुझाइ र अभ्यास भइरहेको छ । जसका लागि मूल्य, मान्यता, आदर्श, निष्ठा जस्ता कुराहरू गौण बन्न पुगेका छन् । सत्तामा पुग्नका लागि निर्वाचनमा जसले जोसँग पनि गठबन्धन गर्ने मानसिकता र अभ्यासमा दलका नेताहरू छन् ।

गठबन्धनको अर्थ हुन्छ- ‘कुनै कामकुराका लागि एक भएर मिल्ने काम, परस्परको मिलेमतो, कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ ।’ अहिले नेपालको राजनीतिमा गठबन्धन ब्यापक चर्चाको विषय मात्र नभइ अभ्यास बनिरहेको छ । प्राय: एकर्काका विरोधी भूमिकामा देखापर्ने दलका नेताहरू परस्परको मिलेमतोमा जुटेका छन् । मुलुकको भविष्य कस्तो बनाउने, जनताका आवश्यकता पूरा गर्न, जीवन सहज बनाउनका लागि कस्तो नीति कार्यान्वयनमा ल्याउने भन्ने ठुलो उत्तरदायित्व बहन गर्ने ब्यक्ति राजनीतिकर्मी हो । तर हामीकहाँ राजनीतिकर्मी हुनुको अर्थ सत्तामा पुग्नु मात्रै हो भनेजस्तो गरी गठबन्धन गरिँदैछ । सत्ता मुलुक र जनताका लागि नि:स्वार्थ रूपले काम गर्ने स्थान हुनुपर्नेमा ब्यक्तिगत आम्दानीको श्रोत हुने गरेका कारण सत्ताप्राप्तिका लागि जे पनि गर्न सक्ने अवस्थामा नेतृत्वमा रहेकाहरू देखिएका छन् ।

कुन दलले कहाँबाट उठ्ने ? गठबन्धनकाबीच दल र त्याहाँ चुनाव लड्ने ब्यक्तिको चर्चा सुरु भएको छ । यस्तो लाग्छ- राजनीतिक दलका अध्यक्षहरू नेता नभएर ठेकेदार हुन् । जसलाई आफ्ना कार्यकर्ताको आस्था र भावनासँग कुनै मतलव छैन । आफ्नो दललाई पन्छाएर कुन दलका उम्मेद्वारलाई भोट हाल्ने भनी निर्देशन दिन नेताहरू तम्तयार छन् । पार्टीलाइन उल्लङ्घन गरे कारवाही गरिनेछ भन्ने धम्कीको भाषा उम्मेद्वारको टुङ्गो लागेपछि आउने नै छ । प्रजातन्त्रको बारेमा पटक-पटक अभिब्यक्ति दिने नेताहरूलाई प्रजातान्त्रिक मूल्य-मान्यतासँग कुनै सरोकार देखिँदैन । प्रजातन्त्रको मूल्य नागरिक सहभागितासँग जोडिएको हुन्छ । जनप्रतिनिधि को आए भन्दा पनि ती कसरी आए, जनप्रतिनिधि चुनिनुमा नागरिकको सहभागिता कस्तो थियो भन्ने सवाल महत्वपूर्ण हुन्छ । अहिले जसरी चुनावी तालमेल गर्न खोजिएको छ त्यसले आफ्नो दलका प्रतिनिधिलाई चुन्ने नागरिक अधिकारको हनन गर्छ । किनभने उनीहरू अरुको दलको नभइ आफ्नै दलभित्र नेतृत्व विकास गर्न चाहन्छन् । चुनावमा अर्को दलसँग प्रतिस्पर्धा गरेर प्रजातान्त्रिक अभ्यासमा उत्रिन चाहन्छन् । प्रजातन्त्रमा चुनावी प्रतिस्पर्धा निकै महत्पूर्ण कुरा हो, जसबाट जनताले आफूले चाहेको नेतृत्व चुन्न पाउँछन् ।

स्थानीय निर्वाचनमा गरिएको गठबन्धनले आफूले नचाहेको दलको चुनाव चिन्हमा भोट हाल्नुपर्दा मानिसहरूमा निराशा छायो । कति ठाउँमा गठबन्धनका कारण पार्टीले उम्मेद्वारी नदिए पनि मानिसहरूले आफूले समर्थन गरेका राजनीतिक दलको चुनाव चिन्हमा भोट हाले । यो मतदाताले गरेको विद्रोह थियो, तर उक्त मौन विद्रोहलाई दलहरूले वास्तै गरेनन् ।

स्थानीय निर्वाचनमा गरिएको गठबन्धनले आफूले नचाहेको दलको चुनाव चिन्हमा भोट हाल्नुपर्दा मानिसहरूमा निराशा छायो । कति ठाउँमा गठबन्धनका कारण पार्टीले उम्मेद्वारी नदिए पनि मानिसहरूले आफूले समर्थन गरेका राजनीतिक दलको चुनाव चिन्हमा भोट हाले । यो मतदाताले गरेको विद्रोह थियो, तर उक्त मौन विद्रोहलाई दलहरूले वास्तै गरेनन् । स्थानीय निर्वाचनमा गरिएको गठबन्धनलाई लिएर विशेषगरी नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूमा ब्यापक निराशा छाएको देखियो । माओवादीसँगको गठबन्धन काङ्ग्रेस कार्यकता र समर्थकहरूलाई असहज विगतमा पनि लागेको थियो र अहिले पनि लागेको देखिन्छ । काङ्ग्रेस परिवारका धेरै सदस्यहरूले माओवादी आन्दोलनका बेला ज्यान गुमाएका छन् । जसले आफ्नो बाबुको ज्यान लियो, सन्तान या निकटवर्तीको ज्यान लियो उसैलाई भोट हाल्न हात कसरी अघि बढ्छ ? यसअघिको निर्वाचनमा डा. बाबुराम भट्टराईलाई भोट हालेर गोरखावासीले के पाए ? उहाँ यसपटक माओवादी चिन्हबाट उठ्ने तरखरमा हुनुहुन्छ ।

कुनै पनि राजनीतिक दलका कार्यकर्ताले आफ्नो दलको चुनाव चिन्ह र आफूले चाहेको नेतालाई भोट हाल्न नपाउनु उनीहरूमाथि गरिएको धोका हो । अर्को दलका उम्मेद्वारलाई भोट हाल्न परेपछि आफ्नो दलमा चाहिँ नेतृत्व कसरी तयार हुन्छ ? चुनावी गठबन्धन कार्यकर्ताको लोकतान्त्रिक हक र भावनामाथिको खेलबाड हो । विचारको राजनीति गर्नेहरूका लागि यो निकै गाह्रो कुरा हो । नेतृत्व लिनु भनेको धेरै सिट जित्नु मात्र होइन, पार्टीभित्रै थप नेतृत्व विकास गर्नु पनि हो । विचार मेल नखाने दललाई भोट हाल्न लाउनु नेतृत्वको सफलता होइन । अन्य दलको चुनाव चिन्हमा भोट हालेर आफ्नो दलको चिन्हको वकालत कसरी गर्ने ?

संसदीय निर्वाचनपछि सरकार निर्माण गर्दा गठबन्धन गरिनु स्वाभाविक हुन्छ । हाम्रो संविधानले सरकार गठनका लागि यो प्रावधान खुल्ला राखेका कारणले मात्र नभइ सबै दलका प्रतिनिधि मिलेर मुलुकमा राम्रो गर्नका लागि पनि यसले टेवा दिन्छ तर हामीकहाँ राम्रो गर्ने भन्दा पनि भागबण्डाका लागि गठबन्धन गर्ने गरिएको छ । लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचन हो । निर्वाचनको माध्यमबाट आफूले गरेको प्रतिबद्धता पूरा नगर्ने, जनभावनाअनुसार नचल्ने वा आफ्नो देशको नीति/कानून नमान्ने पार्टी तथा उम्मेदवारलाई नागरिकले नचुन्न सक्छन् । तर यहाँ त भागबण्डा गरेर आफ्नो दलका समर्थकहरूलाई विकल्प नै नदिने अवस्थाको सिर्जना गरिँदै छ ।

प्रजातान्त्रिक देशहरूमा सामान्यता चुनावी तालमेल हुँदैन, दलिय प्रतिस्पर्धा नै हुन्छ, हुनुपर्छ । गठबन्धनले दलिय प्रतिस्पर्धाको मर्म समाप्त गर्छ । त्यसमाथि विपरीत आस्था बोकेका दलहरूबीचको गठबन्धन झनै डरलाग्दो पक्ष हो । नेतृत्वमा रहेका मानिसहरू आफू हारिन्छ कि भन्ने डरले तालमेल गरेर आफ्नो पार्टीमा होइन यसमा भोट हाल भन्नु प्रजातान्त्रिक नभइ निर्देशनात्मक अभ्यास हो, जसले दलका नेता, कार्यकर्ता र सर्र्वसाधारण नागरिकको अधिकार कुण्ठित गर्छ ।

जब सिद्धान्त, आदर्श र विचारको राजनीति नभइ सत्ताकै लागि मात्र राजनीति गरिन्छ भने विभिन्न नामका दल र चुनाव चिन्ह किन गर्नु पऱ्यो ? भोट हाल्न जनतालाई कन्फ्युज बनाउनु भन्दा एउटै पार्टी भइदिए सर्वसाधारणको जीवन सहज नभए पनि मतदान गर्न सहज हुने थियो ।

राजनीतिक आस्थाविपरीतको पार्टी र उम्मेदवारलाई भोट हाल्नुपर्ने बाध्यता यसैगरी सिर्जना गर्दै जाने हो भने राजनीतिक दल र प्रजातन्त्रप्रति नै नागरिकहरूको आस्था घट्छ । प्रजातन्त्र भनेको आफूले चाहेको राजनीतिक दलमा भोट हाल्न नपाउनु हो भन्ने अर्थ लाग्छ, लागिरहेको छ । जब अभ्यास नै त्यस्तो हुन्छ भने प्रजातन्त्रप्रतिको बुझाइ फरक पर्नु स्वभाविक हुन्छ । प्रजातन्त्रमा नागरिकहरूलाई नेतृत्वको दास बनाइँदैन, नेतृत्वलाई जवाफदेही बनाइन्छ । कुनै पनि मानिस राजनीतिक दलप्रति झुकाव किन राख्छ ? या राजनीतिमा किन आउँछ ? किनभने, उ कुनै दिन आफू नेतृत्वमा पुग्न चाहन्छ । त्यसका लागि आफ्नो आस्थाअनुसारको दल रोज्छ, सदस्यता लिन्छ, राजनीतिक गतिविधिमा आफुलाई सहभागी गराउँछ । जब आफूले नेतृत्व लिनुपर्ने बेला आउँछ अनि त्यतिबेला आफू उठ्न त के भोट हाल्न पनि पाउँदैन भने उसले मेरो देशमा प्रजातन्त्र छ र म प्रजातान्त्रिक दलमा आस्था राख्ने मान्छे हुँ भन्ने कुराको महसूस कसरी गर्ने ?

अहिले जसरी पाँच वटा दलको गठबन्धन र अरु दलका पनि गठबन्धनका प्रयासहरू भइरहेका छन्, यसको एक मात्र उद्देश्य र गन्तब्य सत्ताप्राप्ति देखिएको छ । जब सिद्धान्त, आदर्श र विचारको राजनीति नभइ सत्ताकै लागि मात्र राजनीति गरिन्छ भने विभिन्न नामका दल र चुनाव चिन्ह किन गर्नु पर्‍यो ? भोट हाल्न जनतालाई कन्फ्युज बनाउनु भन्दा एउटै पार्टी भइदिए सर्वसाधारणको जीवन सहज नभए पनि मतदान गर्न सहज हुने थियो । साथै हरेक दलबाट विगत लामो समयदेखि चुनाव लडिरहेको मानिसले मात्रै फेरि पनि चुनावमा टिकट पाउने हो भने नयाँ मानिसहरू कहिले आउने ? कहिले नेताहरू बुढा होलान् या उनीहरूको मृत्यु होला र मेरो पालो आउला भनेर पर्खिनु पर्ने अवस्थाको अन्त्य गर्नु पनि आवश्यक छ । अलि टाठोबाठो हुँदै सक्रिय राजनीति छोडेर आफूले चाहेको ब्यक्तिगत जीवन बाँच्नेतिर लागे कम्तिमा जिन्दगीको अनुभव गर्ने अवसर मिल्ने थियो । कसैले म राजनीति गर्दिनँ भन्दाभन्दै देशको लागि तिमीले राजनीतिमा रहनैपर्छ भनेर अनुरोध गर्नुपर्ने नेताको परिकल्पना गर्न पाए हुन्थ्यो जस्तो पनि लागेको छ । जसरी अष्टबक्रले राजा जनकलाई गरेका थिए ।

राजा जनक ‘प्रबुद्ध’ (Enlightened) राजा थिए । बुद्धत्व प्राप्त गरेपछि राजा जनकले आफ्ना गुरु अष्टबक्रसँग अब म हजुरको कुटीमा बस्छु, जीवन फरक तरिकाले बाँच्छु, मलाई राजकाज केही चाहिँदैन भने । राजा जनकको कुरा सुनेपछि अष्टबक्रले ‘तिमीलाई राजकाज चाहिँदैन म बुझ्छु, तिमी यहाँ खुशी हुन्छौ त्यो पनि थाहा छ, तर जनतालाई तिमीजस्तो नि:स्वार्थी राजा चाहिएको छ, तिमी जाउ देश र जनताका लागि राजकाज चलाउ, जनताप्रतिको उत्तरदायित्वका अगाडि एउटा राजाले ब्यक्तिगत इच्छा/आकाङ्क्षालाई मार्न सक्नुपर्छ । आफ्नो कर्तब्य पूरा गर ।’ हामीकहाँ अवस्था उल्टो छ । -घटना र बिचार 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक