20221018

"अंशुको हत्या गलत संगत र कुलतको गतिलो उदाहरण हो "

 सिरहाको गोलबजार नगरपालिका-३ का १७ वर्षीय अंशु सदालाई अभिभावकीय रेखदेख र निगरानीको कमी भयो। सधैं ध्यान दिनसक्ने अवस्थामा परिवार थिएन।  पारिवारिक आर्थिक अवस्था कमजोर छ। बुबा सुन्दर सदा ४ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन्। आमा ललितादेवी सदा जीविकोपार्जनका लागि सिजन अनुसारको ज्यालामजदुरी गर्छिन्। मुसहर समुदायका सुन्दर र ललितादेवीका ५ सन्तानमध्ये अंशु एकमात्रै छोरा थिए। उनका १ दिदी र ३ बहिनी छन्। दिदीको बिहे भइसकेको छ।


बाबु वैदेशिक रोजगारीमा र आमा ज्यालामजदुरीमा व्यस्त हुँदा अंशु अभिभावकको निगरानीविहीन बने। परिवारले उनलाई ध्यान दिनसक्ने अवस्था बनेन। कक्षा ९ मा पढ्दापढ्दै विद्यालय जान छाडे। २ वर्षदेखि पढाइ छाडेर स्वतन्त्र बनेका उनी साथीभाइसँगको गलत संगतमा पुगे। हुँदाहुँदै लागूऔषधको दुर्व्यसनमा फसेको प्रहरी बताउँछ। कूसंगत र कुलतमा फसेको कुरा अभिभावकले पत्तो पाएनन्।


ऋण गरेर गोलबजार-३ मा सदा परिवारले इँटाको गाह्रो लगाएर १ तले घर बनायो। ऋण काढेर सुन्दर विदेश गए। ‘घर बनाउँदा लागेको ऋण तिर्नलाई ऋण खोजेरै सुन्दर विदेश गएका रहेछन्। ऋण तिर्दातिर्दै ४ वर्ष विदेशमा बितिसक्यो,’ परिवारलाई उदृत गर्दै प्रहरीले भन्यो, ‘पारिवारिक आर्थिक अवस्था निक्कै दयनीय छ। त्यही भएकाले नेपालमा रहेका परिवारका सदस्यले ज्यालामजदुरी गर्नुपर्ने बाध्यता हुँदा अंशुमाथि अभिभावकीय रेखदेखको अभाव भयो।’


एकमात्रै छोरा उनलाई काम गर्नुपर्ने दबाब परिवारबाट थिएन। अभिभावकले औधी माया गर्ने, तर गतिविधि र दैनिकीमा ख्याल नगर्ने वातावरण बन्दा अंशु झन् स्वतन्त्र भए। विहान-बेलुका हातमुख जोड्नै धौधौ भइरहेको परिवारमा बेलैमा उनीमाथिको निगरानी र अभिभावकीय रेखदेखको अभाव हुँदा अहिले आएर परिवारभित्र ठूलो बज्रपात परेको छ। सदा परिवारले सधैँका लागि छोरो गुमाउनु पर्‍यो।


सबैभन्दा धेरै विश्वास गरिएका साथीहरुबाटै अंशुको हत्या भयो। लागूऔषधको कुलतले जुराएको गलत संगत नै उनको हत्याको प्रमुख कारण रहेको प्रहरीको निस्कर्ष छ। प्रहरीका अनुसार गत असोज २३ गते अपरान्ह घरमा पुगेका ३ जना युवाले अंशुलाई घुम्न जाउँ भन्दै लिएर गए।


धनुषाको कमला नगरपालिका-६ का २१ वर्षीय शिवकुमार मण्डल, बिसु भनिने १९ वर्षीय प्रशान्तकुमार मण्डल र राकेश ठाकुरको साथ लागेर उनी साँझतिर घुम्न निस्किए। तीनै जना अंशुका मिल्ने साथीहरु भएकाले घुम्न जाने विषयमा परिवारले कुनै शंका नगरेको प्रहरीले जनाएको छ। तर अंशु घर फर्किएनन्। न अब कहिल्यै फर्कनेछन्। छोरा घर फर्किएर आउलान् भन्ने आशामा ललिता थिइन्। तर ३-४ दिनसम्म आएनन्। उल्टै फिरौतीवापतको रकम माग गर्दै ललितालाई फोन गयो।


प्रहरीका अनुसार फोन प्रशान्तले गरेका थिए। अंशुलाई आफूहरुले अपहरण गरेको र छुटाउन मन भए १ लाख रूपैयाँ पठाइदिनु भन्दै आमालाई प्रशान्तले फोन गरेको प्रहरीले जनाएको छ। ‘पैसा नदिएमा छोरालाई मरिदिन्छौं’ भन्दै धम्क्याएर म्यासेज पनि पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।


फोन र म्यासेज गर्ने व्यक्ति छोराकै साथी भएकाले जिस्किएका होलान् भनेर ललिताले वस्ता गरिनन्। साथीहरुसँग गएको छोरा ४ दिनसम्म घर नफर्किएपछि गत बिहीबार (२७ गते) इलाका प्रहरी कार्यालय गोलबजार पुगेर खोजतलासको माग गर्दै जाहेरी दिइन्। तर अपहरण र फिरौती माग गरिएको विषय जाहेरीमा नखुलाएको सिरहा प्रहरी प्रमुख एसपी अजुर्नप्रसाद तिमल्सिना बताउँछन्।


‘घरबाट हिँडेको ४ दिनपछि खोजतलासको माग राखेर जाहेरी परेसँगै प्रहरीले आफ्नो प्रक्रिया अघि बढायो। अपहरण र फिरौतीको कुरा साँझतिर मात्रै जानकारी भयो,’ उनले भने, ‘तत्काल मोबाइल ‘ट्रयाक’ गर्ने क्रममा ‘लोकेसन’ विराटनगरमा देखिएकाले सहयोगका लागि मोरङ प्रहरीसँग समन्वय गरियो। तर जीवितै फेला पार्न सकिएन।’ अपहरण र फिरौतीको विषय बेलैमा थाहा पाउन सकेको भए घटना हुन नपाउने दाबी प्रहरीको छ।


विराटनगर महानगरपालिका-११ बसपार्कस्थित न्यु अप्सरा गेष्ट हाउसको पहिलो तलाको १ नम्बर कोठामा शुक्रबार दिउँसो अंशुको बीभत्स शव फेला पर्‍यो। प्रहरीका अनुसार अंशुसहित ४ जना २४ गते बिहान विराटनगर आइपुगेको खुलेको छ। चारै जना २५ गतेसम्म बसपार्ककै धनकुटे लजमा बसेको मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्की बताउँछन्। उनका अनुसार त्यहीँबाट अंशुकी आमालाई बारम्बार फोन र म्यासेज गरेर फिरौतीवापतको रकम माग गर्न थालेको पाइएको छ।


‘घुम्दा लाग्ने खर्चवापतको पैसा अंशुले विदेशमा भएका बुबासँग माग्छु भनेछन्। आफ्ना अभिभावकसँग पैसा माग्ने कुरामा सहमति गरेछन्,’ प्रहरी स्रोतले भन्यो, ‘त्यही भएकाले अंशुको अपहरणलाई देखाएर पैसा माग्न प्रशान्त अगाडि सरे। कमजोर आर्थिक अवस्थाका कारण तत्काल परिवारले पैसा पठाउन सकेनन्।’ तर पैसा माग्ने क्रम रोकिएन। उनीहरुको साथमा भएको पैसा पनि सकियो।


‘शिवले विदेशमा रहेका आफन्तसँग पठाइमागेको १५ हजार रूपैयाँ बोकेर उनीहरु घुम्न आएका रहेछन्। घुम्दा लाग्ने अरु खर्च अंशुका परिवारसँग उठाउने योजना बनाएछन्। गेष्ट हाउसमा बस्दै जाँदा साथमा भएको पैसा पनि सकिएपछि अंशुका परिवारसँग माग्न थालेको पाइयो,’ डीएसपी कार्कीले भने, ‘तर साथमा नभएकाले तत्कालै पठाउनसक्ने अवस्था भएन। ऋण सापटी खोज्दा समय लाग्यो। ऋण लिएर १० हजार रूपैयाँ अंशुकी आमाले बिहीबार साँझतिर बैंकमा पठाइदिएको खुल्यो।’


कार्कीका अनुसार अंशुको हत्यामा कुनै पूर्वयोजना देखिँदैन। मागेको पैसा दुई दिनसम्म पनि नपठाइदिएको र अंशुले समेत वास्ता नगरेपछि लागूऔषधको नशामा रहेका ३ जना मिलेर उनको हत्या गरेको प्रहरीको भनाइ छ।


‘२७ गते साँझसम्म हत्याको कुनै योजना बनेको देखिँदैन। तर पैसा नपाउँदा गेष्ट हाउसमा तिर्ने रकम अभाव भएको झोंकमा कपडाले मुख छोपेर अनुहारमा इँटा प्रहार गर्दै र घाँटीमा ब्लेडले काटेर अंशुलाई मारेको खुल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘१ लाख माग गरेकोमा ‘बार्गेनिङ’ हुँदा तत्कालका लागि १० हजारमा कुरा मिलेको रहेछ। तर समयमै नपाएपछि आवेशमा आएर हत्या गरेको पत्ता लागेको छ।’


प्रहरीका अनुसार एउटै गेष्ट हाउसमा बसेर पैसाको ‘बार्गेनिङ’ गर्दा शंका हुने भएपछि उनीहरुले अर्कोमा सर्ने योजना बनाए। त्यसपछि २६ गते बेलुका चारै जना न्यु अप्सरा गेष्ट हाउसमा सरे। २६ र २७ गते अप्सरामा बसे। २७ गते बिहीबार राति अंशुको हत्या भएको प्रहरीले जनाएको छ। त्यतिबेलासम्ममा अंशुकी आमाले १० हजार रूपैयाँ पठाइदिसकेकी थिइन्। तर बैंक बन्द भइसकेकाले पैसा निकाल्न भने पाएका थिएनन्।


प्रहरीका अनुसार हत्या गरेपछि तन्नामा पोको पारेर गेष्ट हाउसको कोठाभित्र रहेको पलङ (लोबेड)भित्र हालिदिएर हत्यामा संलग्न रातभर त्यही पलङमाथि सुतेका थिए। शव भेटिएका अंशुको टाउको, घाँटीलगायत शरीरका विभिन्न भागमा चोट थियो। कोठाभित्र रगत लतपतिएको कपडा भेटिए। घटनामा प्रयोग गरिएको कपडा, इँटा र ब्लेड प्रहरीले बरामद गर्‍यो।


गेष्ट हाउसका एक कर्मचारीका अनुसार असोज २६ गते बुधबार राति ८ बजेतिर कोठा खोज्दै ४ जना आएका थिए। उनीहरुले बुधबार र बिहीबारका लागि कोठा बुक गरे। अझै एक साता बस्ने भनेर शुक्रबार बिहान अर्को कोठा पनि बुक गर्न खोजेका थिए।


‘अझै एक साता बस्छौं। थप एउटा कोठा चाहियो भनेर मागेका थिए,’ ती कर्मचारी भन्छन्, ‘त्यसपछि पैसा लिएर आउँछौं भन्दै बाहिर निस्किएर गए। पछि उनैलाई लिएर प्रहरी आइपुग्यो।’


उनका अनुसार गेष्ट हाउसमा बसेका व्यक्तिलाई लिएर प्रहरी आइपुगेपछि मात्रै हत्याका बारेमा थाहा भएको हो। ‘बिहान हामी सरसफाई गर्न जाँदा कोठाभित्र छिर्न दिएनन्,’ ती कर्मचारी भन्छन्, ‘हामी नै सरसफाई गर्छौं भनेर फर्काइदिए।’


पैसा निकाल्न जाँदा पक्राउ


प्रहरीका अनुसार प्रशान्तले ब्रह्मानन्दन यादवको नाममा माछापुच्छ्रे बैंकमा खाता खोलेर चेक आफ्नै साथमा राखेको पाइएको छ। त्यही खाता नम्बरमा उनले अंशुकी आमालाई पैसा पठाउन लगाएका थिए। ब्रह्मानन्दन को हुन् भन्ने बारेमा पत्ता लाग्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रशान्तले पैसा निकाल्न विराटनगर-९ स्थित बैंकको शाखामा जाने तयारी गरे। तर उनीसँग बैंकसम्म जान सीटी सफारीलाई तिर्ने भाडा पनि थिएन। गेष्ट हाउसको अर्को कोठामा बसेका मोरङको रतुवामाई नगरपालिका-५ का ३६ वर्षीय मनोज कार्कीसँग प्रशान्त जोडिए। गेष्ट हाउसमा सँगै बसेर लागूऔषध गाँजा सेवन गर्ने क्रममा दुई जनाबीच चिनजान भएको प्रहरी बताउँछ।


भाडाको व्यवस्था मनोजले गरिदिने भएपछि दुवै जना एउटै सफारी चढेर बैंक पुगे। अंशुका अपहरणकारी बैंकमा पैसा निकाल्न आउँदैछन् भन्ने सूचना प्रहरीलाई थियो। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला नेतृत्वको टोलीले प्रशान्त र मनोजलाई बैंकबाटै पक्राउ गर्‍यो।


पक्राउ पर्दा प्रशान्तले लगाएको कपडामा रगतको टाटा थियो। उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि अंशुको हत्या भएको खुल्यो। त्यसपछि गेष्ट हाउसमा पुगेको प्रहरीले अंशुको शव राखिएको पलङमाथि सुतिरहेका राकेशलाई पनि पक्राउ गर्‍यो। घटनामा संलग्न शिव फरार रहेकाले खोजी जारी राखिएको प्रहरीले जनाएको छ।


यद्यपि घटनामा मनोजको संलग्नता भने यकिन भइसकेको छैन। ‘एउटै गेष्ट हाउसमा बसेका बेला चिनजान भएपछि सँगै गाँजा खाएको र प्रशान्तसँगै बैंकसम्म गएको मात्रै खुलेको छ,’ प्रहरीका एक अधिकृत भन्छन्, ‘प्रारम्भिक अनुसन्धानबाट घटनामा मनोजको संलग्नता देखिँदैन।’


प्रहरीले भने प्रशान्त, राकेश र मनोजविरुद्ध नै कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ। प्रहरीले उनीहरु बसेको कोठाबाट थोरै परिणामको गाँजा पनि बरामद गरेको छ। अंशुको हत्याअघि सबै जना सँगै बसेर गाँजा सेवन गरेको प्रहरीले जनाएको छ।


हत्यामा संलग्न र हत्या गरिएका अंशु सबै लागूऔषधका प्रयोगकर्ता रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार गेष्ट हाउसमा तिर्न तथा लागूऔषध सेवन गर्नलाई पैसा अभाव भएको र मागेको रकम समयमा नपाएपछि अंशुको हत्या गरिएको पाइएको छ। पोस्टमार्टमपछि परिवारका सदस्यले बुझेर शवको अन्त्येष्टि गरिसकेका छन्।


‘अभिभावकले आफ्ना सन्तानको विशेष ख्याल राख्नुपर्छ। गतिविधि र संगतका बारेमा ध्यान दिनुपर्छ। नत्र गलत संगत र कुलतमा फस्न सक्छन्,’ मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, ‘किशोरावस्थाका सन्तानलाई अभिभावकीय रेखदेख अपरिहार्य हुन्छ। वास्ता नगर्दा सन्तान गुमाउनुपर्ने अवस्था आउनसक्छ। अंशुको हत्या गलत संगत र कुलतको गतिलो उदाहरण हो।’ - अन्नपूर्ण 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक