20221024

परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता पछिल्ला केही वर्ष यता भने हराउँदै, आधुनिक शैली अंगाल्दा मौलिकता भने गुमाउँदै


 -डम्मर बुढामगर /  तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ । तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अंगाल्दा मौलिकता भने गुमाउँदै गएको छ ।


देउसी र भैलोमा बज्नुपर्ने मादल, खैजडी र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र -याप गीत बज्न थालेका छन् । साथै, सोरठी र मारुनी जस्ता नृत्यको स्थान आधुनिक शैलीको नाचले लिएको छ ।


यमपञ्चक सुरु भएपछि बागलुङ बजारका चोकचोकमा देउसी, भैलो खेल्नेको भिड छ । तर उनीहरुले गाउने गीत र नाचमा कुनै मौलिकता देखिन्न । बागलुङ बजारका ७८ वर्षे देवबहादुर श्रेष्ठ परम्परागत देउसी र भैलोलाई आधुनिकताले प्रभावित पारेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ ।


पश्चिमा संस्कृतिले नेपालको मौलिकता मेटाउन लागेको भन्दै उहाँले भन्नुभयो, “अहिलेको गीतमा मौलिकता कत्ति पनि छैन, मादल, बाँसुरी र खैजडी बजाएर गरिने मारुनी र सोरठीको नाच अब कहाँ हेर्न पाउनु रु” आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उहाँको बुझाइ छ ।


“हामीमा मौलिकता जोगाउने भन्ने भावना विकास नै भएन, अरुको देखासिकी गर्ने बानीले कैयौँ संस्कृतिहरु लोप भइरहेका छन्” उहाँले भन्नुभयो ।


स्थानीय ६५ वर्षीय भूदर्शप्रसाद श्रेष्ठले आधुनिक शैलीको देउसी र भैलोका कारण नेपालीको पहिचान नै गुम्ने अवस्था आउन लागेको बताउनुभयो । उहाँले मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवापुस्ताको चासो बढ्नुपर्ने सुझाव दिनुभयो ।


उहाँले रेकर्ड गरिएका गीतले मौलिक सोरठी, मारुनी, थाली, कौरा, सिरफुले, सालैजो जस्ता गीत र नृत्य ओझेलमा परेको बताउनुभयो । श्रेष्ठले विदेशी संस्कृतिको अनुशरण गरे पनि मौलिक देउसी, भैलोको खास, महत्व र मर्म भने हराउन दिन नहुने बताउनुहुन्छ । तर पछिल्ला वर्षमा पैसा सङ्कलन गर्नका लागि विदेशी गीत, सङ्गीत र नाचको प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।


“प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो हो, तर आफ्नो मौलिकतालाई भुल्नु भनेको पहिचानलाई सङ्कटमा पार्नु हो, नयाँ पनि सिकौँ, अनुशरण गरौँ र पुरानोलाई पनि संरक्षण गरौँ भन्ने भवना युवापुस्तामा भएन भने भोलि विदेशी र हामीमा केही भिन्नता हुने छैन”, श्रेष्ठले भन्नुभयो, “नेपालीको पहिचान विश्वभर छ, त्यसैले विदेशी जस्तो नभई हाम्रो मौलिकतामा पनि रमाउन सक्नुपर्छ ।”


स्थानीय ३० वर्षीय लक्षु पुनमगरले मौलिकतालाई जोगाउन युवापुस्ता नै लाग्नुपर्ने बताउनुभयो । उहाँले बुढापाका मौलिकताको खानी भएको भन्दै उनीहरुबाट युवापुस्ताले ग्रहण गर्नुपर्ने बताउनुहुन्छ ।


पुनमगर भन्नुहुन्छ, “अग्रजलाई सधैँ सम्मान गर्न पर्छ, उहाँहरुमा संस्कृतिका बारेमा धेरै ज्ञान छ, हामीले सिक्न सकिरहेका छैनौँ, धेरैलाई पुराना संस्कृतिका बारेमा थाहा नहुँदा पश्चिमा संस्कृतिको सिको गरेका हुन् ।”


पुनले अहिले देउसी, भैलोमा अधिकांश आधुनिकता मिसिए पनि थोरै मौलिकता भने रहिरहेको दाबी गर्नुहुन्छ । बढ्दो प्रविधिको विकासले गर्दा नयाँपुस्ताले मौलिक परम्पराको संरक्षण गर्न नसकेको बताउनुहुन्छ ।


हेर्नै पर्ने सन्देशमुलक तिहारको देउसी भैलो विशेष मेरी बास्सै कार्यक्रम तपाईंले हेर्नु भयो ?

 ४ वर्ष अघि काठमाडौँमा मिडिया हबको आयोजना मेरी बास्सै कार्यक्रमले अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष एबम अग्रज लोक तथा दोहोरी गायक रामप्रसाद खनाललाई विशेष अतिथिको रुपमा निम्त्याएर यो देउसी भैलो विशेष कार्यक्रम निर्माण गरी नेपाल टेलिभिजन बाट प्रसारण गरेको थियो । यो देउसी भैलो विशेष कार्यक्रम आज पनि त्यत्तिकै सान्दर्भिक भएकोले यहाँ प्रकाशित गरेका छौं । यो कार्यक्रम निर्माण गर्ने बहु प्रतिभाशाली कलाकार द्वय राजु मास्टर र बल्छी धुर्बे लाई फेरी पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । अग्रज लोक तथा दोहोरी गायक रामप्रसाद खनाललाई यो देउसी भैलो विशेष मेरी बास्सैमा साथ दिने अन्य अग्रज कलाकारहरु सुरबीर पण्डित, राम चन्द्र अधिकारी, पल्पसा डङ्गोलजी देखी लोक होरी क्षेत्रका दर्जनौं कलाकारहरु सबै सबैलाई तिहारको शुभकामना सहित धन्यवाद र तपाईंहरु सबैलाई यो भिडियो उपहार पनि ।

 देउसी भैलो विशेष मेरी बास्सै कार्यक्रमको देउसी भैलोको पुरा भिडियो यहाँ तल प्रस्तुत छ !

रामप्रसाद खनालका केही अन्य मौलिक देउँसी भैलो गीतहरु पनि तपाईंहरुका लागि !   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक