20221007

वर्षाका कारण राप्ती नदीमा खतराको तह पार भई आकस्मिक साइरन, बाढी आउने निश्चित भइसकेकाले अग्लो तथा आश्रयस्थलमा जान प्रशासनको आग्रह

 
तीन दिनको झरीसँगै आज बिहानदेखि परेको भीषण वर्षाले राप्ती नदीको सतह ह्वात्तै बढेपछि तटीय क्षेत्रका नागरिक त्रसित भएका छन् । वर्षाका कारण राप्ती नदीमा खतराको तह पार भई आकस्मिक साइरन बजेको छ । स्थानीय प्रशासनले बाढी आउने निश्चित भइसकेकाले अग्लो तथा आश्रयस्थलमा जान आग्रह गरेको छ ।

वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह आठ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । आज शुक्रबार बिहान बिस्तारै घटे पनि भारी वर्षा भएपछि दिउँसोदेखि कुसुममा नदीको सतह अहिले आठ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ ।

नदीको बहाव उच्च रूपमा बढेपछि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले शुक्रबार एक सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सूचना जारी गर्दै राप्ती नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्नुभयो । प्रजिअ खत्रीले नदी किनारको तल्लो तटीय क्षेत्रमा नदी किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्नेजस्ता कार्य नगर्न सबैमा आग्रह गर्नुभयो । साथै होचो तथा डुबान हुने, बाढीको उच्च जोखिम पहिचान भएका समुदाय सुरक्षित स्थान पहिचान भएको आश्रयस्थलमा जान समेत उहाँले आग्रह गर्नुभयो ।

राप्ती नदीको माथिल्लो तटीय तथा तल्लो तटीय क्षेत्र समेतमा भारी वर्षा भइरहेकाले पश्चिम राप्तीमा पानीको सतह थप बढ्ने पूर्वानुमान रहेकाले आसपासका नागरिकलाई उच्च सतर्कताका लागि सूचना प्रवाह गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । राप्ती नदीको बाढीले नदी आसपासको क्षेत्र डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका अधिकांश गाउँ डुबानमा पर्ने गर्दछन् ।

बाढी र डुबान सुरु भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारण त्रसित बनेका छन् । भारी वर्षाले नेपालगञ्ज नगरका अधिकांश स्थान जलमग्न भएका छन् । नेपालगञ्जको न्युरोड, एमपी स्कुल रोड, फुल्टेक्रा, सेतु विक चोक, धम्बोझी बेलासपुर, कोरियनपुर, कारकादो, रानीतलाउ लगायतका स्थान तथा सडक जलमग्न भएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।

वर्षाले नरैनापुर, खजुरा, कोहलपुर, जानकी, बैजनाथ गाउँपालिकाका अधिकांश स्थान जलमग्न भएको प्रहरीले जनाएको छ । बाढी र डुबानबाट बचाउन तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको उद्धार टोली खटाई उच्च सतर्कता अवस्थामा राखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

 मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ । पाल्पाको अर्चले भन्ने ठाउँमा २१८ मिलिमिटर पानी परेको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज उपत्यका मौसम बदली रही दिउँसो र बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ ।

“काठमाडौँ उपत्यकाका र पूर्वका मौसम खुलेजस्तो देखिए पनि बदली नै रहने सम्भावना छ, शनिबार दिउँसोबाट विस्तारै सुधार हुँदै जानेछ, पश्चिममा भारी वर्षा भइरहेको छ,” उनले भ ने, “गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आइतबारदेखि मौसम विस्तारै खुल्दै जान्छ ।”

महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा हल्का तथा मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिमका केही, कर्णाली प्रदेशको थोरै र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा आज भारी वर्षा हुने जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक